जापानबाट फर्किएपछि कृषि कर्ममा होमिए : निरज तुलाचन

कृषक निरज तुलाचन 
आई.पि.एम.एप्पल फार्म, मुस्ताङ

            पछिल्लो समय धेरै जसो युवाहरु देशमा बसेर भविष्य बन्दैन भन्ने ठानेर धमाधम विदेश पलायन भईरहेका छन् । देशका युवाशक्ति यसरीनै एकपछि अर्को गर्दै पलायन भईरहँदा हाम्रो देशको आर्थिक समृद्धि र विकास कसरी हुनसक्छ भन्न मलाईे चिन्ताले सताउँने गर्छ । म भने हाम्रो देशमै बसेर यहाँका प्रचुर सम्भावनालाई पछ्याउँदै भविष्य खोजरहेको छु ।

 पहिला मुस्ताङमा सडक,विद्युत,सञ्चार र आर्थिक जिवनका कुनै मार्गहरु थिएनन् । त्यसैले म पनि अहिलेका युवाहरु जस्तै आफ्नो भविष्य खोज्न जापानतर्फ छिरे । स्वदेशको माटो लेपन गर्दै गाउँका उकाली र ओरालीहरुसंग सामिप्यिता गरेको मेरो जिवन अहँ पटक्कै जापानका वैदेशिक राजगारीले सान्त्वना दिन सकेन । फलत ः केही वर्ष जापानमा काम गरेपछि पून ः फर्किए आफ्नै थाकथलो मुस्ताङमा ।

 २०७२ सालमा जापानबाट फर्किएको बेला मेरो बुवा मलाई भन्नुहुन्थ्यो ‘बाबु यहाँ हाम्रो खेतीयोग्य जग्गाहरु बाँझो भईसके, यही बसेर कृषि कर्म गर्न सके यही माटोमा सुन फलाउन सकिन्छ, किन जानु प¥यो विदेश ।’ मेरो बुवाको अर्ति उपदेशले साँच्चे मेरो मनलाई छायो । अनि फेरी बुबाको सल्लाह सुझावलाई गौण ढंगले सोच्न पुगे । मलाई लाग्यो,‘ मेरो बुबाको सपनालाई मैले आत्मसाथ गर्नुपर्छ, म अब यही स्वदेशी भूमिमा बसेर कृषि कर्ममा रम्नुपर्छ ।’

मेरो बाजे र बुबाले यही कृषि कर्म गर्नु भएको थियो ।म कृषि कर्म धान्ने तेस्रो पुस्ताको युवा हुँ । गाउँको पूख्यौली बाँझो जग्गाहरुलाई स्तरोन्नति गर्दै कृषि कर्ममा लाग्न अहोरात्र मेहनत र परिश्रम गरिहेको छु । विगतमा विकास र समृद्धिले धेरैपछि परेको मुस्ताङमा प्रचुर कृषि र पर्यटनको सम्भावना छ । यहाको यही सम्भावनालाई आत्मसाथ गर्दै २०७६ सालमा थासाङ—१ टुकुचे मुस्ताङमा कृषि स्याउ फार्म दर्ता गरे । स्याउ खेतीको अब्बल संम्भावना रहेको मुस्ताङमा आधुनिक र वैज्ञानिक स्याउ तवरको स्याउ खेती गर्न कृषि विज्ञ मदन राईसंग काठमान्डौं पुगेर परामर्श लिए । उहाँकै सल्लाह र सुझाव अनुसार मैले भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्याउ फार्ममा पुगेर एक महिनासम्म स्याउको अध्ययन गरे ।

स्याउको विभिन्न अध्ययन पश्चात मैले आफ्नै गाउँ ठाउँमा व्यवसायिक रुपमा स्याउ खेती सुरु गरेको हुँ ।  म दैनिक ८ घण्टा कृषि कर्ममा खटिन्छु भने ४ जनालाई स्थायी रोजगारी दिएको छु । स्याउ बगैचा व्यवस्थापन र स्याउ टिप्ने सिजनका केहीलाई अल्पकालिन रोजगारी पनि दिने गरेको छ । अहिले मेरो स्याउ फार्ममा २५० भन्दा बढी स्थानीय जातका स्याउ र ४ हजार भन्दा बढी बोट आधुनिक उच्चघनत्वका स्याउ छन् । अझै थप ४ हजार भन्दा बढी स्याउ बिरुवा लगाउने योजनामा छु । बार्षिक ६० मेट्रिक टन स्याउ फलाउछु । खेर गएको बाँझो जग्गामा लटरम्म स्याउ फलेको देख्दा निकै आनन्दको महशुस हुन्छ । यहाँ गर्न सके स्याउ खेतीमा अब्बल सम्भावना छ । आधारभुत आवश्यकता पूर्ती गर्न विदेश पलायन भएकाले सल्लाह दिन्छु ,‘स्वदेशमै केही गर्न सके सम्भावनानै सम्भावना छ ।’ विदेशमा गएपनि आखिर श्रम गर्नुनै पर्छ ,त्यो श्रम यही गरौ र यहाँको माटोलाई सधै माया गरौं  भन्ने मेरो आग्रह हो ।

 फार्म खोलेर स्याउ खेतीमा निरन्तर लागिरहेको छु । जिल्लाको अधिकाँश कृषकहरु पनि स्याउ खेतीमै रमिरहेका छन् । मैरो मेहनत र परिश्रमको मूल्यांकन गर्दै हालै जिल्ला र प्रदेश सरकारबाट पनि उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुने मौका पाए । यसले मलाई थप कृषि कर्ममा लागेर काम गर्न थप हौसला र प्रोत्साहन मिलेको छ । स्वदेशमा भविष्य छैन भन्नेहरुका लागि मलाई प्रेरणाको स्रोतको रुपमा लिदाँ निकै उत्साहित भएको छु ।


प्रतिक्रिया