मुस्ताङको घाँसामा चारचन थकालीको तोरन्ल गोल्डकप रौनक ,देशभरका थकाली युवा मुस्ताङमा (फोटो फिचर)


जोमसोम— थकाली समुदाय अन्तर्गत (चारचन )थकाली समुदायहरुको महान पर्व तोरन्लको पूर्व सन्ध्यामा मुस्ताङमा परम्परागत बाह्रौ संस्करणको तारा खेल गोल्डकप प्रतियोगिता सुरु भएको छ । थकाली  सेवा समिति नेपालको आयोजना तथा ङ्हसाङ थकाली क्षेत्र घाँसाको सहआयोजनामा मुस्ताङको घाँसामा बिहिबारदेखि औपचारिक रुपमा अन्तर क्षेत्र तारा गोल्डकप प्रतियोगिता सुरु भएको हो ।
थकाली सेवा समिति केन्द्रले प्रत्येक ३ वर्षको फेरोमा यसप्रकारको प्रतियोगिता आलोपालो रुपमा फरक फरक स्थानमा गर्दैआईरहेको छ । तोरन्ल पर्व थकाली समुदायको महत्वपूर्ण पर्वको रुपमा स्थापित हुँदै गर्दा यो पर्वसंग जोडिएको महत्वपूर्ण खेल हो परम्परागत तारा खेल ।पछिल्लो समय यसखेल परिमार्जित हुँदै आर्चरी खेलको रुपमा परिभाषित भईसकेको छ । 

पूख्यौली थाक थलो मुस्ताङमा बसोबास गर्ने थकालीहरु परापूर्व कालमा पूर्वजहरुले आफ्नो आत्मरक्षा, सत्रुसंग मुकाबिला गर्न र शिकार खेल्न प्रयोग गरिने हतियारनै धनुषवाण प्रयोग गर्ने गथ्र्ये । यही खेललाई परम्परागत तारा खेलको रुपमा  विकास हुँदै गएको हो । पछिल्लो समय आधुनिक धनुषवाण प्रयोग गर्ने गरिएकाले आर्चरी खेलको रुपमा अन्तराष्ट्रिय स्तरमा मान्यता पाएको हो ।
तोरन्ल पर्व आउन दुई साता बाँकी रहँदा देशभरका चारचन थकालीले तोरन्ल पर्वलाई अझै परिष्कृत र जिवन्त बनाउन तारा खेल प्रतियोगिता आयोजना गरेका हुन् । तोरन्लमा थकाली समुदायका पुरुषहरुले धसामा तारो प्रहार गर्ने र थकाली महिलाहरुले कौडा(नाका भोटे) खेल खेलेर मनोरञ्जन  लिने गर्छन । धार्मिक,कलासंस्कृति र परम्परालाई जिवन्त राख्न तोरन्ल पर्व मनाउने गरिएको र पर्वको बेला तारा खेलको संरक्षण ,विकास र प्रर्वद्धनमा टेवा पू¥याउने थकाली सेवा समिति केन्द्रले निरन्तर गोल्डकप आयोजना गर्ने गरेको थकाली सेवा समिति केन्द्रका केन्द्रिय अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिए ।
केन्द्रिय अध्यक्ष तुलाचनले लोपोन्मुख अवस्थामा रहेको तारा खेल थकाली समुदायको महत्वपूर्ण मौलिक विशेषता रहेको बताए ।उनले तोरन्ल पर्वको एक अभिन्न सांस्कृतिक खेल तारा रहेको र तारा खेल बिनाको तोरन्ल निरर्थक सावित हुने उल्लेख गरे ।‘थसेस केन्द्रले देशभरी छरिएर रहेका थकालीलाई एउँटै मञ्चमा उभ्याएर प्रत्येक ३—३ वर्षमा तारा गोल्ड आयोजना गर्छ,अन्य वर्षमा पनि देशभर छरिएर रहेका थकालीले आआफ्नो स्थानमा सामाजिक र पारिवारिक रुपमा तारा खेल खेल्ने गरिन्छ,’केन्द्रिय अध्यक्ष थकालीले भने,‘ यसअघि ११ औं संस्करणको तारा गोल्डकप म्याग्दीको बेनीमा सम्पन्न भएकोमा अहिले मुस्ताङमा भईरहेको छ, तारा गोल्ड ३ दिनसम्म संञ्चालन हुँने र यसले देशभरका थकालीहरुलाई एकतावद्ध गर्नेछ।’

 मुस्ताङमा आयोजित बाह्रौ संस्करण परम्परागत तारा खेलको गोल्डकपमा भाग लिन स्वदेश तथा विदेशमा बस्ने थकाली समुदायका युवाहरु मुस्ताङमा एकत्रित भएको थकाली सेवा समिति केन्द्रले बताएको छ ।  प्रतियोगिता सुरु हुनु अघि मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसामा बाह्रौं स्करणको तारा गोल्डकपको ¥याली आयोजना गरिएको थियो । प्रतियोगिता उद्घाटन अघि थकाली समुदायको आफ्नो आफ्नो क्षेत्रको ब्यानर र प्लेकार्डसहित बाजागाजासहित ¥याली आयोजना गरिएको थियो ।¥यालीमा थकाली समुदायहरुको पुरुष तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

थकाली समुदाय अन्तर्गत नेपालमा रहेका थकाली समुदायका १९ वटा क्षेत्र र विदेशमा रहेका ३  मध्ये २ वटा क्षेत्रका थकाली युवाहरु तारा खेल्न मुस्ताङ आएका हुन् । थकाली समुदायको नेपालमा १९ वटा क्षेत्र र विदेशमा अष्ट्रेलिया,युके र जापानमा गरी ३ वटा क्षेत्र रहेको छ । तोरन्ल तारा गोल्डकप प्रतियोगिताका संयोजक सोमप्रसाद तुलाचनले मुस्ताङमा आयोजित बाह्रौ संस्करणको अन्तर क्षेत्र तारा गोल्डकपमा सहभागी हुन २०३ जना थकाली युवा खेलाडीहरु मुस्ताङ आएको बताए । परापूर्वकालमा थकालीले प्रयोग गर्ने हतियारले मनोञ्जनात्क खेलको रुपमा विकास गर्दै संस्कृति संरक्षणमा थकाली समुदाय लागिपरेको उनले उल्लेख गरे ।
 तारा गोल्डकप प्रतियोगितामा भाग लिन आएका खेलाडीहरुलाई थकाली सेवा समिति केन्द्रले खान बस्न र सवारी साधनको व्यवस्था गरेको खेल संयोजक तुलाचनको भनाई छ । उनले थकाली समुदायका २२ वटा क्षेत्रका २९ टिमको सहभागिता रहने जनाए ।
 तारा खेल गोल्डकप प्रतियोगितामा प्रत्येक क्षेत्रबाट ६ जना खेलाडीले भाग लिने पाउँने छन् ।कुल १३२ पूर्णाङकमा प्रत्येक क्षेत्रका खेलाडीले २२ पटक सम्म धसामा तारा प्रहार गर्न पाउँने छन् ।प्रतियोगितामा प्रत्येक क्षेत्रका खेलाडीले एक डोर खेल खेल्न ४ मिनेटको समय निर्धारण गरिएको उक्त समयमा प्रत्येक क्षेत्रका खेलाडी निर्धारित समयमा सदुपयोग गर्नुपर्ने प्रावधान तोकिएको छ ।
थकालीहरुको महान पर्व तोरन्ल पर्वको अवसरमा आयोजित तारा गोल्डकपमा भाग लिन मुस्ताङ आएका थकाली सेवा समिति टिकापुरका युवा रोशनले थाकथलो मुस्ताङमा आउन पाउँदा गौरान्वित भएको बताए । उनले दुईदिनसम्मको यात्रा गर्दै आफ्नो पूर्वजको थलो मुस्ताङ आउने अवसर प्रदान गर्ने थकाली सेवा समिति केन्द्रप्रति आभार प्रकट गरे । तारा खेल थकाली युवाहरुलाई एकआपसमा जोड्ने माध्यम मात्र भएको र थकाली समुदायको एकतालाई दर्बिलो र मजबुद बनाएर लैजाने उल्लेख गरे । खेलले कलासंस्कृति र मौलिकतालाई जर्गेना गर्ने काम त छदैछ ,त्यसका अलावा यसप्रकारको प्रतियोगिताले धार्मिक सांस्कृतिक र ऐतिहाँसिक गरिमालाई समेत बढाएको छ ।

थकाली सेवा समिति केन्द्रद्धारा आयोजित तारा गोल्डकप प्रतियोगिताको च्याम्पियनले शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्रसहित नगद १ लाख पुरस्कार पाउँने छन् । उपविजेताले मेडल,ट्रफी र प्रमाणपत्रसहित नगद ५० हजार र तेस्रो हुँने टिमले नगद २५ हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । चैत्र १ देखि चैत्र ३ गते ३ दिनसम्म संञ्चालन हुँने प्रतियोगिताको विशिष्ट धुनधरले नगद ७ हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र पाउँने छन् भने प्रतियोगिता अनुशासित टिमलाई समेत विशेष सम्मान सहित पुरस्कार बितरण गरिने जनाईएको छ ।
थकाली सेवा समिति केन्द्रले पहिलो संस्करणको तारा गोल्डकप २०४४ सालदेखि सुरु गरेको हो । पहिलो संस्करण देखि बाह्रौ सस्करणसम्म आईपुग्दा सबै भन्दा बढी खेलाडी तथा क्षेत्रको सहभागी अहिले मुस्ताङमै भएको जनाईएको छ ।
यसअघि बाह्रौं सस्करण तारा गोल्डकप प्रतियोगिताको मुस्ताङका संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले धसामा तारा प्रहार गर्दै गोल्डकपको उद्घाटन गरे । तारा गोल्डकप उद्घाटन कार्यक्रममा संघीय सांसद योगेश गौचन थकाली,पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली,प्रदेश सांसद विकल शेरचन,बिमला गौचन,मुस्ताङका प्रजिअ जनकराज पन्त,घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन,थासाङका अध्यक्ष प्रदिप गौचन लगायतले तारा गोल्डकप भव्य र सम्भ रुपमा सम्पन्न होस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
थकाली समुदायहरुले बशन्तऋतुको आगमनको समय बर्सेनि तोरन्ल पर्व मनाउने प्रचलन छ । दिवंगत पिृतको सम्झना गर्दै ३ दिनसम्म मिठामिठा परिकारहरु बनाएर मध्यरातमा स्नान गरी चोखो कपडा लगाएर दिवंग पितृहरुलाई खानेकुरा चढाउने चलन छ । तोरन्ल पर्वको बेला बिहे गरेर गएका छोरी ज्वाई तथा भान्जाभान्जीहरुलाई माईतीघरमा बोलाएर मिठामिठा खानेकुरा बनाएर खुवाउन प्रचलन छ । तोरन्ल पर्व नजिकै गर्दा मुस्ताङ तथा मुस्ताङ बाहिर रहेका थकालीहरुले आफ्नो घरलाई रंगरोगन गरी चिटिक्क सिङ्गार्ने चलन छ भने घरभित्र रहेको भाडा वर्तनहरु धोईपखाली सफा बनाएर राखिन्छ । तोरन्ल पर्वमा पिृतहरुलाई खानेकुरा चढाएर पुजा गर्नाले पितृ खुसी हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।

फोटो क्याप्सन: तोरन्ल गोल्डकपमा धसामा तारो प्रहार गर्दै संघीय सांसद योगेश गौचन थकाली । तस्विर सुन्दरकुमार थकाली


प्रतिक्रिया