मुस्ताङका ३ पालिकाका १७ विद्यालय जाडो छल्न बेंसीतीर



जोमसोम—  हिउँयामको हिमपात र जाडो छल्न मुस्ताङका आधाजसो विद्यालय बेसीको न्यानो स्थानमा स्थान्तरण गरिएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ , लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको २ वटा गरी कुल १७ वटा सामुदायिक तथा धार्मिक गुम्बा विद्यालय  हिउँदयामको जाडो छल्न बेसी झरेका हुन् ।

उपल्लो मुस्ताङका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरुलाई बर्सेनि हिउँदयामको मौसममा हिमपात र जाडो छल्न बेसी झार्ने गरिएको छ । हिमपातले विद्यालयका वालवालिकाहरुको शैक्षिक पठन÷पाठनमा समस्या र चुनौती हुन्छ । चिसोकै कारण विद्यालयका वालवालिकालाई निमुनिया ,रुघाखोकी लगायतका स्वास्थ्य समस्या देखिने गर्छ । त्यसो उपल्लो मुस्ताङका अधिकाँश नागरिक हिउँदयामको मौसममा जाडो छल्न र घुम्ती व्यापार व्यवसायमा निस्कने हुँदा त्यहाँका विद्यार्थीहरुको शैक्षिक पठन÷पाठनमा समस्या हुने गर्छ । उपल्लो मुस्ताङका अधिकाँश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरु धेरै अघिदेखि जाडो छल्न घुम्ती कक्षा संञ्चालनका लागि बेसी झार्ने प्रचलन रहेको छ ।

 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा ३ वटा सामुदायिक र ५ वटा धार्मिक गुम्बा विद्यालय घुम्ती कक्षा संञ्चालनका लागि बेसीमा झरिसकेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ—३ किम्लिङको झिन्जु आधारभुत विद्यालय जाडो छल्न दशैंपछि बेसी झरेको र २ सामुदायिक र ५ वटा धार्मिक गुम्बा विद्यालय तिहार पर्व लगत्तै जाडो छल्न र घुम्ती कक्षा चलाउन बेसी झरेको प्रशासन प्रमुख केशीको भनाई छ ।

 चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा सामुदायिकतर्फ झिन्जु आधारभुत,राष्ट्रिय आधारभुत र दिव्यदीप माध्यमिक विद्यालयका गरी ९७ जना विद्यार्थीलाई कक्षा चलाउन बेसी झारिएको गाउँपालिकाका प्रशासन प्रमुख केशीले उल्लेख गरे । उनका अनुसार परम्परागत धार्मिक गुम्बा विद्यालय अन्तर्गत निफुक नाम्डोल नर्बोलिङ गुम्बा,पाल एवं नाम्गेल गुम्बा।महाकरुवा शाक्यापा गुम्बा,लो गर्फुक गुम्बा र आमची विद्यालय गरी ५ वटा धार्मिक गुम्बा पनि तिहार लगत्तै पोखरामा झारिएको प्रशासन प्रमुख केशीले बताए ।


लोमान्थाङ गाउँपालिकाका सामुदायिक विद्यालय अन्तर्गत दिव्यदीप माध्यमिक विद्यालयमा ४५ जना विद्यार्थी छन् । त्यहाँ कक्षा ४ देखि १० सम्मका लागि हिमाली आवासिय छात्रावासका लागि सरकारबाट बजेट उपलब्ध हुन्छ । कक्षा १ देखि ३सम्मका विद्याथीहरुलाई गाउँपालिकाले प्रति विद्यार्थी मासिक ४ हजार रुपैया आवासिय सुविधाका लागि बजेट दिने गरेको प्रशासन प्रमुख केशीले जनाए । सरकार लोमान्थाङको २ विद्यालयका लागि बार्षिक ३ लाख ५० हजार रुपैया संघीय शसर्त अनुदान स्वरुप घुम्ती कक्षा व्यवस्थापन गर्न बजेट उपलब्ध गराउने गरेको छ ।

हिउँयामको अत्यधिक चिसो बढेकाले लोमान्थाङका सरकारी तथा धार्मिक गुम्बा विद्यालय जाडो छल्न बेसीमा स्थान्तरण गर्नु परेको प्रशासन प्रमुख केशीले उल्लेख गरे । हिउँयामको अवधिभर बेसीमा झारेर शैक्षिक पठन÷पाठन गराउने र जाडो सकिएपछि बैशाखको पहिलो साता साविककै स्थानमा लगेर पठन÷पाठन गराईने प्रशासन प्रमुख केशीले जानकारी दिए । हिउँयाममा उपल्लो मुस्ताङमा अत्यधिक चिसो हुने, नदीनाला,खानेपानी धारा,सेफ्टी टेयाङकी र सिचाई कुलो समेत जमेर बरम हुन्छ, उनले भने, त्यस समयमा गाउँमा जाडो छल्न सबै जसो नागरिक बेसी झर्ने गर्दा गाउँनै रित्तो हुन्छ, यसैले अभिभावक तल झर्ने भएकाले सबै कारणको सहजता खोज्न घुम्ती कक्षा संञ्चालन तथा व्यवस्थापन गर्ने परम्परानै रहेको छ ।’ 

 लोमान्थाङ गाउँपालिकाको २ सामुदायिक विद्यालय बर्सेनि घुम्ती कक्षा व्यवस्थापन गर्न आफ्नै शैक्षिक भवन  निर्माण गरिसकेका छन् । लोमान्थाङको झिन्जु आधारभुत र दिव्यदीप माध्यमिक विद्यालयको पोखरामा आफ्नै भवन रहेको प्रशासन प्रमुख केशीले बताए ।


 उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ७ वटा सामुदायिक र २ वटा धार्मिक गुम्बा विद्यालयहरु जाडो छल्नका लागि तिहारपछि बेसी झरिसकेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका ६ वटै सामुदायिक आधारभुत विद्यालयलाई घुम्ती कक्षामा मर्ज गरी पोखराको हेमजामा व्यवस्थापन गरिएको छ । त्यहाँका जनज्योति आधारभुत विद्यालयले तनहुको शुक्ला गण्डकीमा लगेर घुम्ती कक्षा व्यवस्थापन गरेको शिक्षा शाखा अधिकृत न्र्यौपानेले बताए । उनका अनुसार चराङ आवि,मराङ आवि,ढाक्मर,आवि,यारा आवि,घारा आवि,र शालिग्राम आविलाई घुम्ती कक्षा मर्ज गरी पठनपाठन गराईएको शिक्षा शाखा अधिकृत न्यौपानेले जनाए । गाउँपालिकाको घमी आवि गतवर्ष जस्तै यसवर्ष पनि घुम्तीका लागि बेसी नझर्ने मनसाय व्यक्त भएको उनले उल्लेख गरे । गाउँपालिकाका करिव २ सय बढी विद्यार्थी घुम्तीका लागि बेसी स्थान्तरण भएको र उनीहरुका लागि गाउँपालिकाबाट २० लाख बजेट विनियोजन गरिएको शिक्षा शाखा अधिकृत न्यौपानेले जानकारी दिए । उनले गाउँपालिका भित्र दुई विद्यालयलाई संघीय सशर्त अनुदान जनही ३ लाख ५० हजार पाउने  र उक्त अनुदान घुम्ती कक्षा व्यवस्थापनमा खर्च हुने उनले बताए ।  उनले जाडो छल्न बेसी झरेका विद्यार्थीलाई बैशाखमा उकालेर साविककै स्थानमा पठन÷पाठन गराईने बताए ।

 यस्तै, उपल्लो मुस्ताङका २ पालिकाका विद्यालय जस्तै वारागुङ मुक्तिक्षेत्रका एक सामुदायिक र एक धार्मिक गुम्बा विद्यालय तिहार सकिए  लगत्तै जाडो छल्न बेसी झारिएको वारागुङ गाउँपालिकाकी शिक्षा शाखा प्रमुख रेखा पन्तले जानकारी दिईन् । उनका अनुसार वारागुङ मुक्तिक्षेत्र—३ को जननर्मल आधारभुत विद्यालयका १२५ जना विद्यार्थी र कागछोदे धार्मिक गुम्बा विद्यालयका ७१ जना गरी १९६ जना विद्यार्थी घुम्ती कक्षा पढाउन बेसीमा झारिएको  हो । वारागुङ मुक्तिक्षेत्रमा हिमाली आवासिय सुविधा अन्तर्गत जनशान्ति माध्यमिकमा ४० जना विद्यार्थीले पाएका छन् । गाउँपालिकाले जनशान्ति माध्यमिकमा १५ जना र मुक्तिनाथ आविलाई मासिक ४ हजार आवासिय सहुलियत स्वरुप रकम उपलब्ध गराउँदै आईरहेको छ । शिक्षा शाखा प्रमुख पन्तले प्रदेश सरकारको अनुुदान सामाजिक विकास कार्यालयबाट २० जना विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजारक दरले विद्यालयलाई उपलब्ध गराउने गरेको छ ।

 उपल्लो मुस्ताङका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयलाई हिउँदयामको महिनामा पनि बेसी झारेर नियमित पठन पाठन गराईने भएपनि वारागुङ मुक्तिक्षेत्रका केही  विद्यालयसहित  घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु पुसको पहिलो साता भित्र अर्थ वार्षिक परीक्षा सकेर हिउँदे बिदा दिने गरिएको छ । यी विद्यालयहरु पुस र माघ महिना बन्द हुने र फागुनको पहिलो साता नियमित शैक्षिक पठन÷पाठन संञ्चालन गर्ने गरिएको छ । 

सरकारले हिमाली क्षेत्रका विद्यालयलाई पनि एक डालोमा राखेर एक शैक्षिक सत्र कायम गरेकाले मुस्ताङमा पनि विद्यार्थीको शैक्षिक पठन÷पाठनमा आशिंक समस्या देखिएको छ । हिउँदयाममा पुरै विद्यालयको पढाई बन्द हुने विद्यालय खुलेको केहीदिनमा वार्षिक परीक्षा हुने भएकाले बिद्यार्थीहरुको शिकाई उपलब्धीमा ह्रास आउने गरेको पाईएको छ ।



प्रतिक्रिया