मुस्ताङ भन्सार बुधबारदेखि सुचारु, तीन अर्व २ करोड राजश्व संकलन

प्रतिकुल मौसम र भारी हिमपातका कारण विद्युत र ईन्टरेनेट सुविधा बिच्छेद भएपछि अवरुद्ध रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा बुधबारदेखि सुरु भएको छ । वर्षा र हिमपातका कारण  माथिल्लो मुस्ताङ जोड्ने विद्युतीय पोलहरुमा  विद्युत तथा ईन्टरनेट जडित तारहरुमा क्षति पुगेपछि माथिल्लो मुस्ताङमा बिद्युत र ईन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अघिल्लो साता निरन्तरको अविरल वर्षा र हिमपातका कारण माथिल्लो मुस्ताङ जोड्ने जोमसोम—कोरला सडकको ठाउँ ठाउँमा सडक लेदोसहितको बाढी पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएका कारण विद्युुत र ईन्टरनेट सेवा प्रदायक प्राविधिक टोली माथि जान सकेका थिएनन । यसैगरी सडक अवरुद्धका कारण भन्सार कार्यालयका कर्मचारी समेत जोमसोममै रोकिएका थिए । भन्सार प्रमुख खड्काले बुधबारदेखि विद्युत र ईन्टरनेट सेवा सुचारु भएकाले भन्सारको काम संञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।

तिहार पर्व ,प्रतिकुल मौसम र हिमपात लगायतका कारण रोकिएको मुस्ताङ भन्सार कार्यालयको सेवा आधा महिनापछि संञ्चालनमा आएको हो । गत भदौं ३१ गतेदेखि पूर्ण रुपमा संञ्चालनमा आएको नेपाल—चीन मुस्ताङ भन्सार कार्यालयले तिहार अघिसम्म तीन अर्व एक करोड ४४ लाख ३६ हजार राजश्व संकलन गरेको थियो ।

यहाँको लोमान्थाङ—२ स्थित (नेपाल—चीन) न्हेचुङ—लिजी मुस्ताङ भन्सार कार्यालयले बुधबारसम्ममा तीन अर्व २ करोड ७३ लाख ३८ हजार रुपैया राजश्व संकलन गरेको भन्सार प्रमुख खड्काले बताउँनुभयो । भन्सार प्रमुख खड्का अनुसार बुधबारसम्ममा एक हजार ४९८ वटा विद्युतीय सवारीको भन्सार जाँचपास भईसकेको बताउँनुभयो । चीनबाट कोरलानाका हुँदै पैठारी गरिएका  ६ सय ७१ वटा मालबाहक कन्टेनरहरुको भन्सार कार्यालयमा जाँचपास भईसकेको छ ।

यसैगरी नेपालबाट निकासी गरिएका २८ वटा मालबाहक ढुवानीका साधनको भन्सार जाँचपास भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो ।

प्रतिकुल मौसमका कारण जोमसोम—कोरला सडक अवरुद्ध हुँदा  जोमसोम र कागबेनीमा रोकिएका झन्डै एक सय बढी मालबाहक कन्टेनरहरु मालवस्तु ढुवानीका लागि कोरलानाका पुगिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।‘ प्रतिकुल मौसम र विविध कारण कोरलानाकामा रोकिएका एक सय बढी ढुवानीका साधन र सडक खुलेपछि पुगेका ढुवानीका साधन गरी झन्डै दुई बढी ढुवानीका साधन कोरलानाकाबाट चिन भित्रिने क्रममा रहेका छन् । कोरला स्थित चीनको स्वशासित भूमी तिब्बतको लिजी भन्सारबाट मालवस्तु ढुवानी फर्किने गरी कोरलानाकामा लाईनबद्ध रहेको भन्सार प्रमुख खड्काको भनाई छ । ‘चीनबाट ढुवानी गरी फर्किएका करिव ८० भन्दा बढी मालबाहक ढुवानीको भन्सार जाँचपास भईरहेको छ,’भन्सार प्रमुख खड्काले भन्नुभयो‘ हिजो मात्रै सेवा सुचारु भएकाले मालबाहकहरु कोरला पुगेर फर्किदै गरेका छन् ,केहीदिन भन्सारको जाँचपासको चाँप व्यस्त हुन्छ ।’

यहाँको नेपाल—चीन उत्तरी कोरलानाका माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकहरुका लागि दैनिक उपभोग्य वस्तु किनमेलका लागि चीनले २०८० साल कार्तिक २७ गते बाह्रै महिनाका लागि नाका खुल्ला गरेको थियो । त्यसअघि यहाँको नेपाल—चीन कोरलानाका अन्तरदेशीय ब्यापारिक मेलाका रुपमा बर्सेनि असार र भदौ महिनामा अल्पकालिन समयका लागि खुल्ला हुने गरेको थियो । यसरी अन्तरदशीय ब्यापार मेलाको रुपमा चल्दै आईरहेको यहाँको कोरलानाका कोभिडपछि लगातार चार वर्ष पूर्ण रुपमा चीनले एक पक्षिय रुपमा बन्द गरेको थियो ।

 यसैवर्षको बर्खायाममा तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि यहाँको कोरलानाकालाई भन्सार विभागले बैकल्पिक नाकाको रुपमा संञ्चालन गरेको थियो । त्यसको केही दिनमै भन्सार विभागले कोरलानाकालाई बैकल्पिक नाकाको रुपमा मात्रै नभई पूर्ण रुपमा संञ्चालनमा ल्याएको थियो ।

भन्सार विभागले यहाँको कोरलानाकालाई पूर्ण रुपमा संञ्चालनमा ल्याउन मुस्ताङ भन्सार कार्यालय भन्सार अनलाईन प्रणाली (आशिंकुडा) प्रणालीमा जोडिसकेको छ । विभागले नेपाल राष्ट्र बैंकको समन्वयमा भन्सारको अनलाईन बित्तिय कारोबारका लागि लोमान्थाङमा प्रभु बैंक शाखालाई अख्तियारी प्रदान गरेको थियो ।


प्रतिक्रिया