जोमसोम ।
यार्तुङ मेला २०८२ अन्तर्गत शनिबार सम्पन्न कदम चाल घोडा रेशमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको (ङाङ्पा) घोडा प्रथम भएको छ । सहभागि १८ वटा घोडा मध्ये अध्यक्ष बिष्टको घोडा ३८ अंक जोड्दै प्रतियोगितामा प्रथम भएको हो ।
जनप्रिय युवा कलव पुराङ रानीपौवा बजारको करिव तीन सय मिटर दुरीमा आयोजना भएको कदम घोडा रेशमा प्रतियोगितामा प्रथम बिष्टले नगद एक लाख ५० हजार पुरस्कारसहित सिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँनु भयो ।
यसैगरी मनाङका फुन्जोक गुरुङको घोडाले ३७ दशमलव ५ अंक जोड्दै दोस्रो र मुस्ताङका खुसी तामाङको (सक्पा) घोडा तेस्रो हुँदै नगद ८० हजार र नगद ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गनुभयो ।
कदम घोडा रेशमा उत्कृष्ट घोडाको साजसज्जा वारागुङ —५ तिरीका नोर्बु गुरुङ प्रथम, लोघेकर दामोदरकुण्ड—२ घमीका राजु बिष्ट दोस्रो र घरपझोङ—५ ढुम्बा चिम्लेका कर्म गुरुङ तेस्रो भएको छ । यसैगरी घोडा चालकको उत्कृष्ट वेशभूषातर्फ मनाङका तेन्जिङ गुरुङ प्रथम भएका छन् ।
कदम घोडा रेशको निर्णायकमा ५ जना प्रतिनिधि चयन गरिएको थियो । छिरिङ धोर्जे लामा (मनाङ), किमी छोटेन गुरुङ (उपल्लो मुस्ताङ),सन्डुक गुरुङ (खिङ्गा), बाबु ठकुरी (झारकोट) र पाल्गने गुरुङ पुराङ रानीपौवा निर्णायकमा थिए ।
कदम घोडा रेशमा समुह चरण, क्वाटर फाईनल,सेमी फाईनल र फाईनल गरी चार चरणमा सम्पन्न भएको थियो ।
कदम घोडा रेशका प्रथम लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टले प्रतियोगितामा आफ्नो घोडा च्याम्पियन हुँदा निकै उत्साहित तुल्याएको बताउँनुभयो ।‘ सानैदेखि घोडाको संगत र घोडा पाल्ने सौखनै थियो , बर्सेनि यसप्रकारका हिमाली चाडपर्वमा आफ्नो घोडाले सक्रिय सहभागिता जनाउँदै आईरहेको छ,’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ यहाँ प्रतियोगिता जित्नु भन्दा पनि सहभागिता महत्वपूर्ण हो, यार्तुङ लगायतका यहाँका धार्मिक चाडपर्व र संस्कृति जोगाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ अध्यक्ष बिष्टले यहाँ मनाईने यार्तुङ पर्वलाई जिवन्त राख्नुपर्ने बताउँनुभयो ।
यसैगरी लामो दुरीको घोडा रेशमा वारागुङ मुक्तिक्षेत्र—१ झारकोटका नम्डुक गुरुङको (सिन्की) नामक प्रथम भएको छ । वारागुङ मुक्तिक्षेत्रको खन्चोक डाँडाबाट रानीपौवा बजारसम्मको करिव ४ किमी दुरीमा कुल १८ घोडा प्रतिस्पर्धी रहँदा नम्डुकको सिन्की घोडा प्रथम भएको हो । प्रथम भएको सिन्की घोडाले ८ मिनेट २२ सेकेन्डमा चार किमी दुरी तय गरेको थियो । झारकोटको नम्डुक गुरुङको सिन्की घोडा ईजल सुनारले हाँकेका थिए ।
यसैगरी रेशमा वारागुङ—१ खिङ्गाका धोर्जे गुरुङको (निमा) नामक घोडाले ८ मिनेट ४५ सेकेन्डमा रेश पुरा गर्दै दोस्रो भयो । उक्त घोडा बिरेन्द्र सुनारले हाँकेका थिए । पुनम मगरको (लक्की) घोडा तेस्रो भयो । उक्त घोडाले निर्धारित दुरी ८ मिनेट ४६ सेकेन्डमा चार किमी दुरी पुरा गरेको थियो ।
योसंगै यहाँ आयोजित यार्तुङ मेला घोडा रेशको प्रथम नम्डुक गुरुङले नगद ७० हजार पुरस्कारसहित सिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँनु भएको छ । उपविजेताले नगद ४० हजार र तेस्रो हुनेले नगद ३० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
यहाँ आयोजित कदम घोडा रेश र लामो दुरीको घोडा रेशका विजेता हासिल गरेका घोडा धनी,घोडा चालक र घोडाहरुलाई जनप्रिय युवाक्लव र स्थानीय नागरिकहरुले खाँदा लगाएर भव्य सम्मान गरेका थिए ।
यार्तुङ पर्व हिमाली क्षेत्रको ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक महत्वपूर्ण पर्व हो । यार्तुङ लगायतका चाडपर्वहरुमा घोडाको उपस्थित बिना पर्वनै खल्लो हुन्छ । यसैका खातिर यहाँको जनप्रिय युवाक्लव पुराङ रानीपौवाले पर्वको संरक्षण,सम्वद्धन र पुस्तान्तरण गर्ने उद्देश्यले युवाहरुलाई विभिन्न सांस्कृतिक खेलकुदहरु जोड्दै यार्तुङ मेला आयोजना गरेको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली