कोवाङ र टुकुचे लेंकमा यार्सा संकलन पूर्जी खुल्ला

जोमसोम—मुस्ताङका उच्चलेंकमा यार्सा गुम्बा संकलन गर्न थालिएको छ । जिल्लाको थासाङ गाउँपालिका—१ टुकुचे र थासाङ गाउँपालिकाका उच्चलेंकमा यार्सा संकलन सुरु भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तह मध्ये ३ वटा स्थानीय तहमा स्थानीय र जिल्ला बाहिरका सर्वसाधारणलाई यार्सा संकलन गर्न अनुमती दिईने गरिन्छ ।

 उपल्लो मुस्ताङको उच्चलेंकमा यार्सा संकलन हुँदैन । तर,जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न लेंकमा यार्सा संकलन हुन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत (एक्याप) मातहतको ईलाका संरक्षण कार्यालय जोमसोममा ९ वटा र ईलाका संरक्षण कार्यालय लोमान्थाङमा ७ वटा स्थानीय संरक्षण व्यवस्थापन समिति(सीएमसी) छन् । यी समितिले एक्याप अन्तर्गत रहेर एक्यापले सुम्पिएको जिम्मेवारी र कार्यसम्पादन गर्ने गर्छन् । एक्याप मातहतको समितिले एक्यापको कार्यविधि र मापदण्डमा रहेर वन तथा वातावरणका साथै  जैविक विविधता संरक्षणमा काम गर्ने गरेका हुन्छन् । यि समितिले वन जंगलको संरक्षणसंगै हिमाली वन्य जटिबुटी यार्सा गुम्बा संकलन तथा व्यवस्थापनको काम गर्ने गरेका छन् ।

यिनै समितिले बैठक बसेर एक्यापको कार्यविधिमा रहेर निर्णय गरी यार्सा संकलन अनुमतीका लागि एक्यापलाई निवेदन पेश गर्छन । यसरी संम्वन्धित संरक्षण व्यवस्थापन समितिले एक्यापको अनुमती पाएपछि सर्वसाधारणलाई तोकिएको शुल्क लिएर उच्चलेंकमा यार्सा संकलन गर्न अनुमती दिने एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । उनले चालु वर्षका लागि हालसम्म कोवाङ र टुकुचे लेंकमा यार्सा गुम्बा संकलन गर्नका लागि संम्वन्धित समितिले निवेदन दिएपछि एक्यापले अनुमती प्रदान गरेको जनाए । उनका अनुसार अन्य संरक्षण व्यवस्थापन समितिले पनि यार्सा संकलन छोड पूर्जी दिन एक्यापमा अनुमती दिने तयारी गरेका छन् ।

हिमाली जिल्ला मुस्ताङ अन्तर्गत थासाङको कुञ्जो,कोवाङ र टुकुचे, घरपझोङ गाउँपालिकाको जोमसोम, वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ,झोङ र छेङ्गुरका उच्चलेंकमा यार्सा संकलन गर्न सर्वसाधारण नागरिक जाने गर्छन् ।  मुस्ताङको थासाङ गाउँपालिकाको वडा १ टुकुचे र वडा—२ कोवाङ संरक्षण व्यवस्थापन समितिले जिल्ला बाहिर  र जिल्ला भित्रका सर्वसाधारणलाई धमाधम यार्सा संकलन पूर्जी दिन थालेका हुन् । 

संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जिवन थकालीले कोवाङका उच्चलेंकमा बैशाख ४ गतेदेखि यार्सा संकलन पूर्जी वितरण गर्न सुरु गरिएको जानकारी दिए । कोवाङ संरक्षण समितिले मुली लेंक,पोलो लेंंक,श्रीखर्क,मार्चे र सानुसरे लेंकमा पुगेर यार्सा संकलन गर्न अनुमती दिने गरिएको समितिका अध्यक्ष थकालीले बताए । सर्वसाधारणलाई यार्सा संकलन गर्न संकलन पूर्जी वापत स्थानीयलाई २ हजार ५ सय र जिल्ला बाहिरका सर्वसाधारणलाई ५ हजार शुल्क लिने गरेको अध्यक्ष थकालीको भनाई छ । यार्सा संकलनका लागि झन्डै ५० जना भन्दा बढीले संकलन पूर्जी लिईसकेको र यार्सा संकलनका लागि सर्वसाधारण थपिने क्रम जारी रहेको समिति अध्यक्ष थकालीले जनाए ।

यसैगरी थासाङ गाउँपालिका—१ टुकुचेको संरक्षण व्यवस्थापन समितिले पनि बैशाखको २ गतेदेखि यार्सा संकलन फुकुवा गरेको  संरक्षण व्यवस्थापन समिति अध्यक्ष दिपसागर थकालीले जानकारी दिए ।टुकुचे संरक्षण व्यवस्थापन समितिले स्थानीयलाई १ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ३ हजार रुपैया शुल्क उठाउने गरेको समिति अध्यक्ष थकालीको भनाई छ । टुकुचे समिति मार्फत बतासे लेंक,धम्पुस लेंक,मार्चे लेंक र धौलागिरि आईफल लेंक यार्सा टिप्न हालसम्म २८ जनाले संकलन अनुमती पूर्जी लिएका छन् ।

 घरपझोङ गाउँपालिकाको जोमसोमको नममुलेंक लगायतका स्थानमा यार्सा संकलन अनुमतीको प्रक्रिया थालनी भएको छैन । जोमसोम समितिका अध्यक्ष चन्द्रबहादुर थकालीले समितिले यार्सा संकलन अनुमती दिने विषयमा छलफल भएको र संम्भवत जेठको १ गते संकलन अनुमती दिने तयारी भईरहेको बताए ।‘हामी पहिलो बैठक बस्छौं,त्यसमिति मिति तोक्छौं,’अध्यक्ष थकाली भने, यार्सा टिप्नेलाई नियम र शुल्क कति लिने भन्ने विषयमा छलफल हुन्छ, यसपछि एक्याप कार्यालयमा पत्रचार गछौं ।’ जोमसोम लेंकमा गतववर्ष ९० जना भन्दा बढीले यार्सा संकलन अनुमती लिएका थिए । त्यस समय स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका सर्वसाधारणलाई ६ हजार शुल्क तोकिएको थियो ।

वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ लेंकमा यार्सा संकलनका लागि छोड पूर्जी दिने तयारी भएको मुक्तिनाथ संरक्षण व्यवस्थापन समिति अध्यक्ष घ्यूर्मी गुरुङले जानकारी दिए ।मुक्तिनाथ लेंकमा गतवर्ष यार्सा संकलन पूर्जीका लागि स्थानीयलाई ४ हजार र जिल्ला बाहिरका लागि ६ हजार शुल्क थियो । गतवर्ष मुक्तिनाथ लेंकमा यार्सा टिप्न करिव ८० जना मानिस लेंकमा पुगेका थिए ।

 वारागुङको झोङ लेंकमा यार्सा संकलनका लागि छोडपूर्जी दिने विषयमा प्रारम्भिक छलफल भएको समिति अध्यक्ष सोनाम खाण्डो गुरुङले बताईन् । झोङ लेंकमा गतवर्ष स्थानीयलाई २ हजार र अन्यलाई ३ हजार शुल्क लिईएको थियो । यार्सा संकलनबाट उठेको रकम समिति मार्फत गाउ समाजलाई बुझाउनु पर्ने बाध्यता रहेको उनले सुनाईन् । झोङ लेंकमा गतवर्ष ५० जना भन्दा बढीले अनुमती लिएका थिए ।

वारागुङको छेङ्गुर लेंकमा संरक्षण व्यवस्थापन समितिले नभई गाउँ समाजलेनै यार्सा संकलन अनुमती दिने गरेको श्रोतले जनाएको छ । यसरी यार्सा संकलन अनुमतीबाट उठेको रकम गाउँसमाजकै कोषमा जम्मा हुने गरेको श्रोतको भनाई छ ।

 मुस्ताङका उच्चेलेंकमा यार्सा गुम्बा संकलनका लागि स्थानीय सर्वसाधरणसहित रोल्पा,दाङ,रुकुम,गोरखा,धादिङ,बाग्लुङ र म्याग्दी जिल्लाका सर्वसाधरण यार्सा संकलन गर्र्न मुस्ताङ आएका छन् ।

जैविक विविधतामध्येको बहुमूल्य प्राकृतिक हिमाली जटिबुटी यार्सा गुम्बाको स्वदेश तथा विदेशमा उक्तिकै माग हुने गर्छ । यार्सा गुम्बा विभिन्न आयूर्वेद औषधिमा समेत प्रयोग हुन्छ भने यसको सेवनले शारिरीक स्फूर्ती र यौन क्षमता वृद्धि गर्न समेत टेवा पू¥याउँछ ।

यार्सा संकलनकर्ताले संकलन गरेको यार्सा जिल्ला बाहिर लैजादा स्थानीय तह र एक्याप कार्यालयमा छोड पूर्जी लिने पर्ने प्रावधान छ । एक्याप मुस्ताङले वन नियमावली २०७९ अनुसार यार्सा गुम्बा छोड पूर्जीका लागि प्रति केजी ३१ हजार शुल्क लिने गरेको छ । एक्यापले संकलन गर्ने यार्सा छोड पूर्जी वापत उठेको राजश्व नेपाल सरकारको खातमा जम्मा हुन्छ । यार्सा छोड पूर्जी लिने व्यापारीहरुले एक्याप र स्थानीय तहमा दोहोरो राजश्व बुझाउनु पर्दा समस्या पर्ने गरेको छ ।


फाईल फोटो >


प्रतिक्रिया