मुस्ताङमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम स¬ञ्चालन

मुस्ताङ, १० असार । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मुस्ताङमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको एकीकृत सेवा कार्यालय मुस्ताङको आयोजनामा जिल्ल प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा धवलागिरी प्राविधिक शिक्षालय लेतेको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

थासाङ गाउँपालिका–३ लेतेस्थित धवलागिरी प्राविधिक शिक्षालयको सभाहलमा बुधबार आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा धवलागिरी प्राविधिक शिक्षालयका प्रमुख खड्गबहादुर सुब्बा, प्रदेश अस्पताल मुस्ताङकी प्रमुख डा. समीक्षा कँडेल तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतले लागूऔषधको दुष्प्रभाव, रोकथाम र सचेतनाका विषयमा प्रशिक्षण दिनुभयो ।

जुन २६ मा मनाइने अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसलाई लक्षित गरी मुस्ताङका चार स्थानमा कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार आज पहिलो कार्यक्रम थासाङको लेतेबाट सुरु गरिएको एकिकृत सेवा कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।

कार्यक्रमको दोस्रो चरण बिहिबार थासाङको कोबाङ र शुक्रबार घरपझोङको जोमसोममा सञ्चालन गरिने प्रमुख दर्जीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीलाई लागूऔषध दुव्र्यसनका असर, यसको नियन्त्रणका उपाय तथा स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा जानकारी गराइएको थियो । युवापुस्तालाई दुव्र्यसनबाट जोगाई स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको वक्ताहरूले बताएका छन् ।


प्रतिक्रिया