उच्चलेंकका याकचौरी बेंसी झारिए

एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसंगै यहाँका उच्चेलेंकमा पालन गरिएका याकचौरीलाई बेसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्चेलेंक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पुरै ढाकिएको र पानीका मुहानहरु पुरै बरम बनेर जमेपछि यहाँका उच्चलेंकमा रहेका याकचौरीलाई हिमपात र चिसोबाट जोगाउन बेसीको न्यानो स्थानमा झारिएको हो  ।

 बर्सेनि मुस्ताङका उच्चलेंकमा हिउँदयाम हिउँ पर्ने पर्न थालेपछि बेसीमा भारिने र बर्खायाममा हिउँ पग्लिन थाल्दा  उच्चलेंक र खर्कमा पु¥याएर याकचौरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका ५ स्थानीय तहका उच्चलेंकमा पालिएका परम्परागत याकचौरीहरु कार्तिकदेखि जेठ महिनासम्म बेसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौरीहरुलाई गर्मी सुरु भएपछि बैशाखदेखि असोज मसान्तसम्म उच्चलेंकमा राखिने गरिएको हिमालयन चौरी पालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताउँनुभयो ।

हिउँदयाममा उच्चलेंकमा हिउँले चरनक्षेत्रको अभाव हुने, याकचौरीलाई घाँस ,पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने र याकचौरी र गोठालाहरुलाई हिमपात र चिसोले सास्ती पु¥याउने भएकै कारण उच्चलेंक र खर्कका याकचौरी क्रमश तलतल गरी बेसी नजिक झारिने गरिएको हो । यसरी झारिएका याकचौरी बर्खायाममा उच्चलेंकका अस्थायी गोठमा लगेर पालन गरिने गरिएको छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउन थाल्ने र गोठालाहरुलाई याकचौरी व्यवस्थापन गर्न समेतसहज हुने भएकाले समुन्द्री सतहको चार हजार मिटर माथिको उच्चलेंकमा याकचौरी पालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाई छ ।

मुस्ताङको थासाङ गाउँपालिका—२ स्थित मार्चे लेंकमा रहेका १० घरधुरीका १० वटा गोठका  झन्डै एक हजार याकचौरी हिमपात र जाडो छल्न बेसी झारिएको हिमालयन चौरी पालक तथा संरक्षण समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो । यसैगरी थासाङ स्थित धौलागिरि आईफल रहेको मुलीखर्क लेंकमा रहेका ८ घरधुरीका करिव ५ सय याकचौरी र थासाङ एक र घरपझोङ दुईमा पर्ने बतासे लेंकमा रहेका ६ घरधुरीका करिव ७ सय बढी याकचौरी  हिमपातसंगै जाडो छल्न बेसी नजिक झारिएको समिति सचिव हिराचनको भनाई छ ।

यहाँको थासाङ—२ स्थित मार्चे लेंकमा १०, मुलिखर्कमा ८ र बतासे लेंकमा ६ वटा याकचौरी गोठ रहेको थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी लिनुभयो । मार्चे लेंकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको वडाध्यक्ष शेरचनको भनाई छ । थासाङ गाउँपालिका अन्तर्गत कोवाङ,सौरु, खन्ती,लार्जुङ, नाउरिकोट,नाकुम, बोक्सी खोला ,छाक्ताङ र ताक्लुङका पशुपालकहरुले परम्परागत रुपमा याकचौरी पालन व्यवसाय अपनाउँदै आईरहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो ।

यहाँको घरपझोङ—४ जोमसोमका याकचौरी पालक भुपेन्द्र शेरचन र बिरबहादुर घर्तीका करिव ५ सय बढी याकचौरी हिमपातका कारण ठिनी गाउँ माथिको लेंकमा भारिएका छन् । समुन्द्री सतहको उच्चस्थानमा गोठै खडा गरि पालन गरिएका शेरचन र घतीका याकचौरी नमुखलेंकबाट तलको पारलो स्थानमा झारिएको हो । याकचौरी पालक शेरचनले हिउँदयाममा याकचौरी रेखदेख गर्न समस्या हुने र उच्चलेंकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेसी झार्नु परेको सुनाउँनुभयो । यहाँको घरपझोङ गाउँपालिका स्थित स्याङ,मार्फा र जोमसोमका गरी ७ घरधुरीले याकचौरी पालन गरेका शेरचन बताउँनुहुन्छ ।

माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका —५ ताङ्ग्ग्यामा एक र वडा—४ ध्ये गाउँमा एक गरी दुई घरधुरीले करिव ५०० बढीको हाराहारीमा याकचौरी पालन व्यवसाय गरेको ताङ्ग्याका याकचौरी पालक कर्मा साङ्वो गुरुङले जानकारी दिनुभयो । बर्खायाममा उच्चलेंकको कराङ लेंकमा रहेका याकचौरी हिमपातपछि थाक्से लेंकको पारिलो स्थानमा राखिएको जानकारी दिनुभयो । यसैगरी लोघेकर—४ ध्ये का याकचौरी पालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना याकचौरी बेसी नजिकको लेंकमा ल्याएर राखेको बताउँनुभयो ।

यसैगरी माथिल्लो मुस्ताङ स्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि याकचौरी पालन गरिएको छ । लोमान्थाङ पनि उच्चलेंकका याकचौरीहरु जाडो छल्न र हिमपातबाट जोगाउन बेसी नजिकको स्थानमा स्थान्तरण गरिएको बताउँनुभयो ।

पछिल्लो समय उच्चहिमाली क्षेत्रमा परम्परागत संस्कृतिको रुपमा व्यवसायिक रुपमा अपनाएको याकचौरी पालन जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकुल मौसममा हिउँ नपर्नु, उच्चलेंकको चरनक्षेत्रमा घाँसको अभाव हुनु र हिमचितुवा लगायतका वन्यजन्तुको आक्रमणबाट याकचौरी लगायतका घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिको रुपमा रहेको याकचौरी पालन व्यवसाय संकटमा पर्न थालेको हो ।

यहाँका पालन गरिएका याकचौरी तथा याक नाक पालनलाई जलवायुको संकट थपिएको हो। भारी हिमपात,आशिंक हिमपात र कुनै याममा हिउँनै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर याकचौरी पालनमा परेको छ ।  

मुस्ताङका किसानले याकचौरीको दुधबाट दही ,घ्यु र छुर्पी लगायतका परिकार निर्माण गर्छन् ,याकचौरीको पुच्छर हिन्दु धर्मालम्बीहरुले पुजा कोठामा राख्ने भएको यसको मुल्य महंगो मुल्यमा बिक्री हुन्छ । 

यहाको घरपझोङ र थासाङका याकचौरी पालकले बर्सेनि बैशाख र भदौ महिनामा याकचौरी आलो रगत निकालेर दोहोरो फाईदा निकाल्छन् । यहाँ वयस्क याकचौरीलाई मासुको रुपमा समेत उपयोेग गरिने भएकाले एउँटै जिउँदो याकको मुल्य एक लाखदेखि एक लाख पचास हजारसम्म मुल्य पर्छ ।———

९८४६०६८०१९


प्रतिक्रिया