घरपझोङमा ‘स्ट्रिम र साउन बाथ’ सेवा सुरु

जोमसोम ।

यहाँको घरपझोङ गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै उनीहरुलाई चिसोबाट जोगाउन तथा स्वास्थ्य रक्षाका लागि निःशुल्क ‘स्ट्रिम साउना बाथ’ सेवा संञ्चालनमा ल्याएको छ । गाउँपालिका कार्यालय अन्तर्गत त्यहाँको वडा—३ स्याङले ज्येष्ठ नागरिकको सेवा तथा पर्यटकहरुको सुविधाका लागि स्ट्रिम साउन बाथ’ संञ्चालनमा ल्याएको जनाएको छ ।

बेनी—जोमसोम सडकमार्ग नजिकै रहेको यहाँको स्याङ पुल्चोक स्थित खाली जग्गामा गाउँपालिका अन्तर्गत वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी ‘स्ट्रिम साउन बाथ’ लगायतका पूर्वाधारहरु निर्माण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिनुभयो । गाउँपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पन्ध्र÷पन्ध्र लाख बजेट विनियोजन गरी कुल तीस लागतमा स्ट्रिम साउन बाथ ’ लगायतका पूर्वाधारहरु निर्माण गरेको वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।

 गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई जाडो र निमोनियाका साथै हाईअल्टिच्युड हुने समस्यालाई निराकरण गर्न ज्येष्ठ नागरिकमैत्री निःशुल्क स्ट्रिम बाथ’ संञ्चालनका गर्न पूर्वाधार निर्माण गरिएको जनाईएको छ । सुरुवाती चरणमा ज्येष्ठ नागरिकहरुका लागि न्यानो कोठा निर्माण गर्ने योजना रहेकोमा त्यसलाई परिवर्तन गरी स्ट्रिम साउना बाथ’ निर्माण गरिएको वडाध्यक्ष थकालीको भनाई छ ।

 गाउँपालिकाले त्यहाँको स्याङ पुल्चोक नजिकको खाली जग्गामा एक तले स्ट्रिम साउना बाथ’ पक्की भवन निर्माण गरेको छ । यसमा स्ट्रिम र साउना बाथ’का लागि आवश्यक उपकरण तथा सामग्रीहरु जडान भईसकेको छ । स्ट्रिम साउना बाध बिजुलीबाट संञ्चालन हुने जनाईएको छ ।

यसका अतिरिक्त गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पर्यटकहरुको सुविधाका लागि शौचालय समेत निर्माण गरिसकेको छ भने त्यहाँ चाडै रेष्टुरेन्ट संञ्चालनका लागि थप पूर्वाधार निर्माण गर्ने योजना रहेको वडाध्यक्ष थकालीले बताउँनुभयो ।

 स्याङ पुल्चोक स्थित स्ट्रिम साउना बाध सेवा केन्द्रबाट गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरुले सेवा लिदा कुनै शुल्क नलाग्ने वडा कार्यालयले जनाएको छ । तर, सेवा संञ्चालन गर्दा बिद्युत र कर्मचारी व्यवस्थापन लगायतमा अतिरिक्त खर्च हुने भएकाले पर्यटकहरुका लागि सशुल्क सेवा प्रदान गरिने व्यवस्था गरिएको वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो । गाउँपालिकाले संञ्चालन गरेको सेवामा पुरुष र महिलाका लागि अलगअलगत स्ट्रिम साउना बाथ कक्षको व्यवस्था गरिएको छ ।  यसैगरी स्ट्रिम साउना बाथको सेवा लिदा र लिईसकेपछि नुहाउनका लागि अतिरिक्त स्नान कक्ष समेत निर्माण गरिएको वडाध्यक्ष थकालीले बताउँनुभयो ।

 पोखराकी चिनमाया गुरुङले यहाँ संञ्चालनमा रहेको स्ट्रिम बाथ सेवाको पूर्वाधार निकै राम्रो लागेको बताउँनुभयो ।यात्राका क्रममा कोरलानाका र मुक्तिनाथ दर्शन गरी फर्किदा धुवा र धुलोले थकित महसुश भएकोमा यहाँको स्ट्रिम साउन बाथको सुविधाले सबै थकानहरु हटाएको उल्लेख गर्नुभयो । नेपाल घर भई हङ्कङबाट मुस्ताङ घुम्न आउनु भएकी उषा गर्बुजा पुर्जाले एक घण्टा यहाँको स्ट्रिम साउना बाथमा बस्दा निकै आनन्दित तुल्याएको बताउँनुभयो । यसप्रकारको सेवाले शरिरको रगत संञ्चालनमा फाईदा पुग्ने र स्ट्रिम साउनाको तातोले नशा खुलाउने भएकाले निकै उपयोगी भएको बताउँनुभयो । उनले यहाँ सेवा लिँदा पाँच जना ब्यक्तिले एकैसाथ सेवा लिन सकिने र त्यसको शुल्क एक हजार लागेको जानकारी दिनुभयो ।

 यसैगरी अर्का पर्यटक गंगा पुनले उक्त रक्त चाप भएका मुटुरोगका बिरामीका लागि यसप्रकारको स्ट्रिम बाथ’को सुविधाले रक्त चापको समस्यालाई नियन्त्रण गर्न योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

यहाँ निर्माण गरिएको स्ट्रिम बाथ’को सेवा संञ्चालनले ज्येष्ठ नागरिकहरुको सेवा साथसाथै मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि निकै उपयोगी हुने घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिह लालचनको भनाई छ । वातावरणको धुवाधुलोले गर्दा थकित भएका पर्यटकहरुलाई स्ट्रिम साउना बाथ’को सुविधा आनन्दको अनुभूती दिलाउँने अध्यक्ष लालचनको भनाई छ । उहाँले मानिसको शरिरमा भएका विकार तत्वहरु हटाउन र छालालाई मुलायम राख्न यसप्रकारको सेवा स्वास्थ्यका लागि समेत उययोगी भएको उहाँको भनाई छ ।

 गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकहरुको सम्मानमा उनीहरुको सुविधाका लागि निर्माण गरिएको पूर्वाधारबाट पर्यटकहरु समेत प्रत्यक्ष लाभान्वित हुने विश्वाश गरिएको छ । तत्कालका लागि स्थानीय वडा तहका जनप्रतिनिधिबाट संञ्चालन गरिने र त्यसपछि सेवा प्रभावकारिता मूल्यांकन गरी कर्मचारी खटाईने योजना रहेको छ ।


प्रतिक्रिया