मुस्ताङमा पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्वारसंगै रेलिङ सिंढी बाटो निर्माण

जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका—२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्वारसंगै रेलिङ सिढी बाटो स्तरोन्नति गरिएको छ । पोखरा बस्ने समाजसेवी मदन गौचन र श्रीमती बालकुमारी गौचन (थरसाङ्वा) परिवारले आर्थिक गरेसंगै अत्यन्तै जीर्ण अवस्थामा रहेको प्राचिन धार्मिक महत्वको सौरु गुम्बाको जीर्णोद्वार भएको हो ।

मुस्ताङको थाक सातसय क्षेत्रमा बसोबास गर्ने थकाली समुदाय अन्तर्गत रहेका ९ वटा धार्मिक बुद्धिस गुम्बा मध्ये मुस्ताङको सौरु गुम्बा एक हो । आर्थिक अभावका कारण जीर्णोद्वार हुन नसक्दा पछिल्लो समय सौरु गुम्बा जोखिममा पर्दै गएको थियो । लामा उत्पादन गर्ने पाठशालाको रुपमा सौरु गुम्बा परिचित छ ।


 यहाँको गुम्बामा लामा बन्न चाहने भिक्षुहरु तपस्या (छम) बस्ने गर्दथे । सार्वजनिक रुपमा मानिसले नदेख्ने गरी यही गुम्बामा गुप्तबास बसेर लामा विद्या आर्जन गर्ने गरिन्थ्यो । यहाँ  भिक्षुहरुले निरन्तर ध्यान र तपस्या गर्ने गर्छन । गुम्बामा लगातार तीन वर्ष ध्यान तपस्या (छम) बसेपछि मात्रै त्यस्ता व्यक्ति लामा विद्या प्राप्त गरी योग्य बन्छन् । यही गुम्बा बसेर धेरैजना व्यक्तिले लामा विद्या आर्जन गरिसकेका छन् ।

ऐतिहाँसिक ,धार्मिक र सांस्कृतिक रुपमा निकै महत्वपूर्ण मानिएको सौरु गुम्बा संरक्षणका लागि  भन्दै मनकारी दानबीर मदन गौचन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराउँनु भएको थियो । गौचन दम्पतीको आर्थिक सहयोगमा स्थानीय मनप्रसाद गौचनले सौरु गुम्बा जीर्णोद्वार गरेको सौरु गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनले जानकारी दिनुभयो । अध्यक्ष गौचनका अनुसार दानबीरको आर्थिक सहयोगमा ओझेलमा परेको निकै पुरानो जीर्ण अवस्थामा रहेको प्राचिन सौरु गुम्बा स्तरोन्नति भएको बताउँनुभयो ।

 समाजसेवी गौचन दम्पतीको आर्थिक सहयोगमा  सौरु गुम्बाको भित्र र बाहिर आवश्यक मर्मत सुधारसहित वरिपरी रंगरोगन गरी चिटिक्क पारिएको गुम्बा व्यवस्थापन समितिका सचिव दिपक तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार सौरु गुम्बा परिसरमा सोलिङ ढलान र गुम्बामा बिजुली बत्ती जडान लगायतका कामहरु सम्पन्न भएको सचिव तुलाचनको भनाई छ ।

यसैगरी गुम्बा नजिकै शौचालय र बाथरुम निर्माण गरिएको छ । दानबीर गौचन दम्पतीले उपलब्ध गराएको आर्थिक सहयोगबाट गुम्बा स्तरोन्नतिका लागि ११ लाख बढी खर्च भएको स्थानीय मनप्रसाद गौचनले जानकारी दिनुभयो । थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनले मनकारी दानबीरको सहयोगले सौरु गुम्बा जीर्णोद्वारसंगै रेलिङ सिंढी बाटो निर्माण सम्भव भएको बताउँनुभयो । गुम्बा संरक्षणका गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने वडाध्यक्ष गौतमले उल्लेख गर्नुभयो ।


 यसअघि सौरु गुम्बा जाने छप्पनी ढुंगा बिच्छ्याईएको सिढी बाटो जीर्ण हुँदा गुम्बा सम्म पुग्न निकै समस्या थियो । यसका लागि गौचन दम्पतीको सहयोगबाट एक सय ९६ मिटर लामो रेलिङसहित आरसीसी सिंढी बाटो निर्माण भएको गौचनले बताउँनुभयो । यसका अलावा रेलिङसहितको प्रवेशद्धार र अन्तिमद्धारसम्म आरसीसी पिल्लरसहितको फलामे गेट निर्माण भएको उहाँले उल्लेख गर्नुभयो ।

थासाङको सौरु स्थित भिरालो सतहमा अवस्थित प्राचिन सौरु गुम्बामा गुरुपद्यम सम्भवको विशाल मूर्ती विराजमान छ । बुधबार सौरु गुँम्बा जीर्णोद्वार तथा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने गौचन दम्पतीलाई सौरु गुम्बा व्यवस्थापन समिति र स्थानीयले सम्मान अर्पण गरेको स्थानीय सोजन हिराचनले जानकारी दिनुभयो । 

दाता सहयोग सम्मान कार्यक्रममा थाकसातसय क्षेत्रका मिरमुखिया ज्वार भट्टचन, थासाङ गाउँपालिकाका वडाध्यक्ष गौतम शेरचन, थाकखेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन र सौरु गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले गौचन परिवारलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

भिडियो पुरा हेर्न तलको लिंकमा क्लीक गर्नुहोस ।

https://www.facebook.com/mustangdairy/videos/728584613065227


प्रतिक्रिया