मुस्ताङमा उम्मेदवार विरुद्ध परेन उजुरी

हिमाली जिल्ला मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवार विरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मंगलबार उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका उम्मेदवार मध्ये कुसैको पनि उजुरी नपरेको बताईएको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम चलेको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएकोमा उक्त अवधिमा कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा आठ राजनीतिक दलले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए । नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),उज्यालो नेपाल पार्टी, मंगोल नेशनल अर्गानाईजेशन र आम जनता पाटी (आजपा)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल रहेका छन् । यहाँ मतदाता नामावली अद्यावधिक हुँदा एघार हजार ३२८ जना मतदाता कायम भएको छ ।

प्रतिक्रिया