कृषि ज्ञान केन्द्रद्वार उत्कृष्ट चार कृषकलाई नगद पुरस्कारसहित सम्मान

जोमसोम ।भदौं १०,

मुस्ताङ जिल्लाका  उत्कृष्ट चार कृषकलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । यहाँको कृषि क्षेत्रको प्रर्वद्धन र विकास गर्ने गरी कृषकहरुलाई प्रोत्साहन दिलाउनका लागि कृषि ज्ञान केन्द्र मुस्ताङले यहाँ सोमबार जिल्ला स्तरीय उत्कृष्ट कृषक सम्मान कार्यक्रम आयोजना गरेको हो ।

यहाँ आयोजित जिल्ला स्तरीय उत्कृष्ट कृषक सम्मान कार्यक्रममा मुस्ताङका तीन पालिकाका चार जना उत्कृष्ट कृषकलाई जनही नगद दश हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको  कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

यहाँ नगद पुरस्कारसहित सम्मानित हुनेमा लोमान्थाङ गाउँपालिकाबाट छिरिङ वाङ्दी गुरुङ, वारागुङ मुक्तिक्षेत्र—४ तिरीबाट छिरिङ ढोका गुरुङ, वारागुङ—२ छेङ्गुरबाट गमबहादुर गुरुङ र घरपझोङ—५ ठिनीबाट अमित थकाली रहेको कार्यालय प्रमुख गुरुङले बताउँनुभयो ।

सम्मानसहित पुरस्कृत हुने चारैजना कृषकहरुलाई जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ,प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङ लगायतले नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान अर्पण गर्नुभएको हो ।

यसअघि जिल्ला स्तरीय उत्कृष्ट कृषक सम्मान कार्यक्रमका लागि तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङको संयोजकत्वमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख लालमणी अर्याल र कृषि ज्ञान केन्द्र कार्यालयका प्राविधिक दिलिप नेपाली सदस्य रहेको पुरस्कार छनौट समिति गठन भएको थियो । समितिको सिफारिसमा उत्कृष कृषकलाई नगद पुरस्कार सहित आज सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा पुरस्कृत  वारागुङ मुक्तिक्षेत्र—४ की कृषक छिरिङ ढोका गुरुङले आफुले ७० रोपनी जग्गामा स्याउ खेती गरेको र यसका लागि पाँच सय भन्दा बढी च्यांग्रा पालन व्यवसाय गरेको जानकारी दिनुभयो । उहाँले स्याउ खेतीबाट वार्षिक ३० लाख र च्यांग्रा पालनबाट वार्षिक १६ लाख बराबरको आर्थिक कारोबार हुने गरेको उल्लेख गर्नुभयो । च्यांग्रा पालन र स्याउ खेतीबाट वार्षिक २० लाख बढी आम्दानी हुने गरेको पुरस्कृत कृषक छिरिङ ढोका गुरुङले बताउँनुभयो । कृषक गुरुङले बर्सेनि एक सय बढी च्यांग्राका पाठापाठी उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । पुरस्कृत कृषक गुरुङको ङवाङ हिसी कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा रहेको छ ।

पुरस्कृत अर्का कृषक वारागुङ मुक्तिक्षेत्र—२ छेङ्गुरका गमबहादुर गुरुङले २०७३ सालदेखि व्यवसायिक रुपमा वारागुङ—२ छेङ्गुरमा  मुक्तिनाथ अर्गानिक कृषि तथा पशुपंक्षी फर्म सुरु गरेको बताउँनुभयो । कृषक गुरुङले स्याउ खेतीका साथै च्यांग्रा, कुखुरा पालन र तरकारी उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । जसबाट वार्षिक दश लाख बढी आम्दानी हुने गरेको उहाँको भनाई छ ।

 यसैगरी घरपझोङ—५ जोमसोमका कृषक अमित थकालीले च्यांग्रा पालन र स्थानीय रैथाने बाली उत्पादनतर्फ जोड दिदैआईरहेको बताउँनुभयो । कृषक थकालीले  अमित पशुपालन तथा कृषि फर्म संञ्चालन गरेको र त्यसबाट वार्षिक  पाँच लाख बढी आम्दानी हुने गरेको बताउँनुभयो ।

पुरस्कृत लोमान्थाङका कृषक छिरिङ वाङ्दी गुरुङले च्यांग्रा पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम प्रा.लि. सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो दुई वटा गोठमा आठ सय भन्दा बढी च्यांग्रा पालन भईरहेको उल्लेख गर्नुभयो । कृषक गुरुङ नेपाल पश्मिना उद्योग संघमा समेत आवद्ध रहेका छन् । उहाँले व्यवसायिक च्यांग्रा पालन र पश्मिना उत्पादनतर्फ जोड दिदैआईरहेको र जिल्लाका अन्य कृषकहरुलाई समेत पश्मिना उत्पादनतर्फ प्रोत्साहित गर्दैआईरहेको बताउँनुभयो ।


प्रतिक्रिया