मुस्ताङबाट राप्रपा उपाध्यक्ष कमला लालचन प्रतिनिधिसभा उम्मेदवार

जोमसोम—

आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फमा मुस्ताङको घरपझोङ—२ मार्फाकी कमला लालचनले उम्मेदवारी दिने भएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुस्ताङबाट लालचनलाई प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट उपलब्ध गराएको बताईएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला उपाध्यक्ष समेत रहनु भएकी लालचनलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार घोषणा भईसकेको जिल्ला सचिव अजित थकालीले जानकारी दिनुभयो । सामाजिक सेवा तथा विभिन्न संघसंस्थामा आवद्ध लालचन यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा घरपझोङ गाउँपालिकाको उपाध्यक्ष पदमा पराजित हुनु भएको थियो । योसंगै मुस्ताङमा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् ।

 एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा एमालेबाट ईन्द्रधार बिष्ट र नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ (टाईगर)को उम्मेदवारी सार्वजनिक भएको हो ।


प्रतिक्रिया