मुस्ताङमा साउनयता ३ लाख ९७ हजार पर्यटक भित्रिए


जोमसोम- चालु आ.व. २०८१÷०८२ को ९ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा ३ लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । चालु आ.व.को साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्यांक अनुसार मुस्ताङमा करिव ९ महिनाको फेरोमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।

 मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा ३ लाख ३३ हजार ८४५ जना नेपाली आन्तरिक पर्यटक र  ६३ हजार ५६ जना विदेशी पर्यटक मुस्ताङ जिल्लामा भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक अधिकारीका अनुसार साउनदेखि हालसम्ममा २ लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङ जिल्लको भ्रमण गरेका हुन् ।

 चालु आ.व.को तीन महिना बाँकीनै रहँदा नेपाली आन्तरिकतर्फ साउनमा १० हजार ९८३,भदौमा १७ हजार ४९२, असोजमा ४७ हजार २९३, कार्तिकमा ९९ हजार १७६, मंसिरमा ५८ हजार ४४३, पुसमा २८ हजार ७२२,माघमा २४ हजार ८०२, फागुनमा ४६ हजार ९३४ र चैत १८ गतेसम्ममा ४४ हजार ८०६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी विदेशीतर्फ साउनमा ३ हजार ५४, भदौमा ६ हजार ३४७, असोजमा १२ हजार ५३८, कार्तिकमा १४ हजार १२४, मंसिरमा ७ हजार ४६४, पुसमा ६ हजार ८३५, माघमा ३ हजार ४५६, फागुनमा ९ हजार २३८ र चैत १८ गतेसम्ममा १३ हजार ४०५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

 मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्म नेपाली आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेको प्रहरी निरीक्षक विशाल अधिकारीको भनाई छ । उहाँका अनुसार मुुस्ताङ भित्रिने पर्यटक संख्या मध्ये ८० प्रतिशत भारतीय पर्यटक र २० प्रतिशत अन्यमुलुकका पर्यटक रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत आ.व.को २०८०÷०८१ मा नेपाली आन्तरिक तथा बाह्य पर्यटक गरी ४ लाख ५४ हजार ३२६ जना पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक ३ लाख ५४ हजार ९२७ जना र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय सडक सञ्जाल क्रमिक रुपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सख्या वृद्धि भईरहेको छ । मुस्ताङ जिल्लाको पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तिर्थ गर्न नेपाली आन्तरिक पर्यटकको लर्कोनै लाग्ने गरेको छ । मुस्ताङ भित्रिएका नेपाली पर्यटकहरु मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् ।

मुस्ताङ जिल्ला धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक प्रकारको भूगालको आर्कषणले मुस्ताङमा पर्यटक संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो । राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताउँनुभयो ।

 मुस्ताङ जिल्लामा अवस्थित सदिंयौ वर्ष पुराना गुम्बा,माने, छोर्तेन,मठमन्दिर र यहाँका ऐतिहाँसिक तथा पुरातात्कि सम्पदा र गुफाहरुका कारण मुस्ताङ जिल्ला पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण गन्तब्य बन्दै गईरहेको छ ।

 उपल्लो मुस्ताङमा  ७ सय वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसंग जोडिएका दर्जनौ धार्मिक गुम्बाहरु पर्यटकहरुका लागि विभिन्न खोजअनुसन्धानको केन्द्र बनेको छ । मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन जीवनशैली र स्थानीय चाडपर्वहरुको मौलिकता अवलोकन गर्न बर्सेनि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताउँनुभयो ।


प्रतिक्रिया