हिमाली जिल्ला मुस्ताङमा आजबाट सबै प्रजाति स्याउ टिपाई खुल्ला भएको छ । गत भदौ ८ गतेको जिल्ला स्तरीय निर्णय अनुसार सोमबारदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौं १५ गतेदेखि टिपाई गर्न पाईने निर्णय भएको थियो । आजबाट भने ढिलो पाक्ने स्याउको समेत बगैचामा टिपाई गर्न पाईने गरी खुल्ला गरिएको छ । मुस्ताङमा उत्पादन हुने स्याउ मध्ये गाला,फुजी र साउने स्याउ छिटो पाक्ने प्रजाति अन्तर्गत पर्दछन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचि अन्तर्गत पर्दछन् ।
मुस्ताङको स्याउको गुणस्तर खस्किन नदिई मुस्ताङको स्याउको ब्रान्डलाई जोगाईराख्न जिल्ला स्तरबाट स्याउ टिपाईन गर्न पाईने कार्यतालिका सार्वजनिक गरिएको थियो । जिल्ला समन्वय समिति मुस्ताङको अगुवाईमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरु सम्मिलित जिल्ला स्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाई गर्न पाईने समय कार्यतालिका निर्धारण गरेको थियो ।
जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले आजबाट मुस्ताङका सबै प्रजातिका स्याउ टिपाई गर्न खुल्ला भएको जानकारी दिनुभयो । स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न र स्याउमा पर्याप्त मात्रामा गुलियोपना कायम होस भन्ने अभिप्रायले मुस्ताङमा जिल्ला स्तरीय निर्णय गरी स्याउ टिप्ने कार्यतालिका बनाईएको उहाँको भनाई छ । यसले उपभोक्ताहरुमा मुस्ताङको स्याउप्रतिको विश्वास र स्वादमा कुनै ह्रास नपुगोस भन्ने चिन्ताले यसप्रकारको निर्णय गरिएको प्रमुख गुरुङको भनाई छ ।
मुस्ताङमा आजबाट सबै प्रजातिका स्याउ टिपाई गर्न पाईने नियम खुल्ला भएसंगै मुस्ताङका स्याउ बगैचामा धमाधम स्याउ टिपाई गरी हार्भेस्टको काम भईरहेको छ । एक साता अघि मुस्ताङका आउनु भएका धादिङका स्याउ ब्यापारी बमबहादुर तामाङले स्याउ टिपाई खुल्ला भएका आफुहरु मुस्ताङ आएको बताउँनुभयो । विगत दुई दशकदेखि निरन्तर स्याउको ब्यापारी गर्दै आईरहनु भएका ब्यापारी तामाङले मुस्ताङबाट एक करोड मुल्य बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताउँनुभयो । ब्यापारी तामाङ जस्तै जिल्ला भित्र र बाहिरका दर्जनौ संख्यामा ब्यापारीहरु स्याउ खरिद गर्न किसानहरुको बगैचामा पुगिसकेका छन् । यसवर्ष कोरलानाकाबाट पनि चिनियाँ स्याउ भित्रिने सूचनाले स्याउ बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको स्याउ ब्यापारी तामाङले बताउँनुभयो ।
मुस्ताङमा गतवर्ष एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैया बराबरको स्याउ उत्पादन भएको थियो । जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा ९९ करोड रुपैया जिल्लमा भित्रिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयको गतवर्षको तथ्यांक अनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टरमा स्याउ खेती विस्तार भएको छ । कार्यालय प्रमुख डा. लालमणि अर्यालयका अनुसार स्याउ बिस्तार भएको क्षेत्रफल मध्ये ८३७ हेक्टर क्षेत्रफल स्थानीय र ६२ हेक्टर क्षेत्रफलमा उच्चघनत्वको (हाईब्रिड) स्याउ खेती गरिएको छ ।
यसैगरी मुस्ताङमा गरिएको स्याउ खेती मध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाईएको स्याउ बोटमा उत्पादन हुने गरेको छ । प्रमुख डा. अर्यालयका अनुसार मुस्ताङमा ५७२ हेक्टरमा स्थानीय र ५५ हेक्टर क्षेत्रफलमा लगाईएको हाईब्रिड स्याउ बोटले उत्पादन दिने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली