जोमसोम— चैत दसैं पर्वको अवसरमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथधाममा शनिबार बिहान विशेष पुजाअर्चना भएको छ । मुक्तिनाथधामका पुजारी कृष्णप्रसाद सुवेदीबाट चैते दसैं शुक्ल अष्टमीकाको दिन आज त्यहाँ विशेष पुजाअर्चना भएको हो ।
चैते दसैं पर्वको अवसरमा मुक्तिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार चैत दसैंको अवसरमा एकैदिन करिव १० हजार बढी भक्तजनले मुक्तिनाथमा पुजाअर्चना तथा दर्शन गरेको जानकारी दिनुभयो । यसअघि चैते दसैं औशी तिथिमा एकैदिन २० हजार बढी भक्तजनले मुक्तिनाथको दर्शन गरेकोमा आज चैते दसैं पवका दिन त्यसको आधाले मुक्तिनाथको दर्शन गरेको समितिका कर्मचारी सुवेदीको भनाई छ ।
मुक्तिनाथधाममा आयोजित चैते दसैं पर्वको विशेष पुजाका साथै मुक्तिनाथको दर्शन गर्ने र भक्तजनहरुको व्यवस्थापन तथा सहजीकरण गर्न जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी बिष्णुुप्रसाद भुसाल,वडाध्यक्ष प्रमेश गुरुङ, मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्य शर्मा अर्याल, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु लगायतको टोली मुक्तिनाथमा पुगेका थिए । मुक्तिनाथ विकास समिति तथा सुरक्षाकर्मी लगायतको टोलीले मुक्तिदर्शनका लागि भक्तजनहरुलाई पालैपालो पंक्तिवद्ध गरी दर्शनकार्यमा सहजीकरण गरेको वारागुङ मुक्तिक्षेत्र—१का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । उनका अनुसार मुक्तिनाथमा आउने दिर्घ रोगका बिरामी,ज्येष्ठ नागरिक र अपांगता भएका भक्तजनहरुको सहयोग र स्वास्थ्य रक्षाका लागि स्वास्थ्यकर्मीहरुबाट हेल्थ डेस्क राखिएको थियो ।
मुक्तिनाथमा बडा दसैं र चैते दसैं पर्वको अवसरमा त्यहाँका पुजारीले बर्सेनि विशेष पुजा गर्ने प्रचलन छ । मुक्तिनाथको दर्शन र पुजामा सहभागी हुन आम भक्तजनका साथै जिल्लाका स्थानीय नागरिक, कर्मचारी,शिक्षक,जनप्रतिनिधि लगायतको टोली मुक्तिनाथमा पुगेको मुक्तिनाथ पुगेका छन् ।
हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथमा पछिल्लो समय बर्सेनि ४ लाख बढी भक्तजनहरुले दर्शन गर्ने गरेको पाईएको छ । पछिल्लो समय बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै धार्मिक भक्तजनहरुको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।
जिवनको एकपल्ट मुक्तिनाथधामको दर्शन गरेमा मुक्ति पाईने धार्मिक जनविश्वासका कारण मुक्तिनाथमा दर्शन आउने क्रम बढ्दो रहेको छ । मुक्तिनाथको १०८ धारामा नुहाएर कुण्डमा स्नान गरी दर्शन गर्नाले जिवनमा जानअन्जानमा भएका पापहरु पखालिएर जाने विश्वासले गर्दा मुक्तिनाथमा धार्मिक भक्तजनहरुको सख्यामा उल्लेख रुपमा वृद्धि हुँदै जान थालेको हो ।
समून्द्री सतहको ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित मुक्तिनाथधामको दर्शन गर्न र मुस्ताङको रमणीय प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न पर्यटक तथा भक्तजन मुस्ताङ आउन लालायित हुने गर्छन् । मुक्तिनाथमा दर्शन गर्न विशेष गरी भारतीय पर्यटक बढी आउने गरेको पाईएको छ ।
भारतको चारधामको दर्शन पुरा गरेपनि मुक्तिनाथको दर्शन नगर्दा दर्शन अपूर्ण हुने जनविश्वासका कारण भारतीय पर्यटक हवाई तथा सडकमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ आउने गरेको झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता