उपल्लो मुस्ताङको चुङजुङ छुकार खोलामा भिषण बाढी, कालिगण्डकी तटीय वस्ती सुरक्षित रहन आग्रह

जोमसोम ।।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—४ चुमजुङ गाउँ माथिको लेंकबाट लेदो सहितको भिषण बाढी आएको छ । मंगलबार (आज) साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेंकबाट भिषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

अहिलेसम्म चुमजुङ लेंकबाट आएको भिषण बाढीका कारण लोमान्थाङ गाउँपालिका भित्रका करिव ४ वटा भन्दा बढी अस्थायी पुल र कल्र्भट बगाईसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।‘ यहाँको चुमजुङ गाउँ माथिको उच्चलेंकबाट निकै ठुलो लेदोसहितको भिषण बाढी आईरहेको छ, यसले ठुलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौं, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालिगण्डकी तटीय वस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौं । 

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भिषण बाढी आउन सुरु गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराईएको बताए ।  यहाँको बाढीको प्रभावले कालिगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोन मार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाई छ ।

 उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल—चीन सीमावर्ती नजिकको गाउँ हो । आज त्यहाँबाट अकल्पनीय रुपमा भिषण बाढी आउन सुरु गरेको छ ।


प्रतिक्रिया