लोघेकरका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

जोमसोम ।

यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका किसानलाई अनुदान सहुलियतमा खेत्न जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर(पावर टिलर) वितरण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण कार्यक्रम अनुसार यहाँ गाउँपालिकाका पाँचै वटा वडाका किसानहरुलाई माग सिफारिसका आधारमा सोमबार पहिलो चरणमा अनुदान सहुलियतमा खेत जोत्ने आधुनिक प्रविधिको हाते ट्याक्टर वितरण गरेको जनाईएको छ ।

 गाउँपालिका अन्तर्गतका किसानलाई प्रविधिको उपयोग गरी खेतबारी जोत्नकार्यमा छिटो छरितो र सजिलो तुल्याउन ’कृषि यान्त्रिकीकरण  कार्यक्रम मार्फत पेट्रोलबाट चल्ने हाते ट्याक्टर अनुदान सहुलियत दिने गरी २५ लाख रुपैया गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।  प्रमुख खड्का अनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहने गरी प्रति हाते ट्याक्टर छपन्न हजार ५ सय रुपैया बराबरको करिव एक सय थान हाते ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको छ।

 सोमबार कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत पहिलो चरणमा गाउँपालिका अन्तर्गत वडा १ को चराङ र मराङमा ३५ थान र वडा ४ को ढी र सुर्खाङ गाउँमा १० थान पेट्रोलबाट चल्ने खेत जोत्न हाते ट्याक्टर अनुदान सहुलियतमा वितरण गरिएको शाखा प्रमुख खड्काले बताउँनुभयो । उक्त प्रविधिको आधुनिक खेत जोत्ने हाते ट्याक्टर खरिदका लागि गाउँपालिकाले प्रति थान हाते ट्याक्टरमा पच्चिस हजार र सम्वन्धित लाभग्राही किसानले एकतिस हजार पाँच सय व्यवहोर्ने गरी कृषि विकास निर्देशनालयको कार्यविधि अनुसार काठमान्डौंबाट ट्रकमा ढुवानी गरी वितरण गरिंदै गरिएको शाखा प्रमुख खड्काको भनाई छ ।

गाउँपालिकाले दोस्रो चरणमा फेरी काठमान्डौंबाट ट्रकमा ढुवानी गरी यहाँको वडा नं. २,३ र ५ का किसानलाई बाँकी रहेको ५५ थान खेत जोत्ने हाते ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको वडा नं. १ का वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिनुभयो । गाउँघरका किसानलाई परम्परागत पद्यतीबाट खेतजोत्ने कार्य गर्दा धेरैनै समस्या देखिने गरेकाले गाउँपालिकाको अनुदान कार्यक्रममा जोड्दै कृषि कर्ममा लागेका किसानलाई प्रोत्साहित गर्दै लैजाने गरी कार्यक्रम कार्यान्वयनमा ल्याईएको वडाध्यक्ष गुरुङको भनाई छ । वडाध्यक्ष गुरुङले दोस्रो चरणको हाते ट्याक्टर वितरण कार्यक्रम यसै महिना भित्र सम्पन्न गरिने जानकारी दिनुभयो ।

 मुस्ताङमा पनि परम्परागत रुपमा गोरु झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहेपनि पछिल्लो समय यहाँ जनशक्तिको अभाव,युवा पलायन,परम्परागत पुरानो शैलीबाट खेत जोत्न झन्झटिलो , खेत जोत्न लागत र समय बढी लाग्ने भएकाले यहाँ कृषि यान्त्रिकीकरण उपरकण उपयोग हुने जनाइएको छ ।

 नयाँ आधुनिक प्रविधिको मेसिनरी खेत जोत्ने उपकरणको सहायताले थोरै समयमा धेरै खेत जोत्न सकिने, जनशक्ति र लागत कम लाग्ने भएकाले मुस्ताङका किसानले नयाँ प्रविधि रुचाएको पाईएको छ । समयको बचत हुने र आफुले चाहेको बेला एक्लैले खोत्नबारी जोत्न सकिने भएकाले किसानमा हाते ट्याक्टरको आर्कषर्ण बढेको हो ।

पछिल्लो समय परम्परागत खेत जोत्ने प्रयोग गरिने गोरु झोपाहरु समेत लोपोन्मुख अवस्थामा रहेकाले यहाँका कृषकहरुलाई खेतबारी खनजोतमा निकै ठुलो समस्या पर्दैआईरहेको छ । यहाँ यसप्रकारका खेत जोत्ने आधुनिक प्रविधिको हाते ट्याक्टर लगायत विभिन्न कृषि उपकरणहरुमा यहाँका स्थानीय तह (पालिका), कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई लगायतका कार्यालयहरुले किसानलाई अनुदान सहयोग उपलब्ध गराउँदै आईरहेका छन् ।


प्रतिक्रिया