जोमसोम—
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरु भएको विशाल पहाड देख्न सकिन्छ । यो राताम्मे पहाड त्यहाँको लोघेकर दामोदरकुण्ड—२ ढाक्मर गाउँ नजिकै अवस्थित छ ।
यहाँको पहाड प्राकृतिक रुपमा आफै राताम्मे भएको अनुमान गरिएपनि यहाँको ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसंग जोडिएको छ । यहाँका पालिका अध्यक्ष लोप्साङ छोम्फेलले बताए अनुसार यहाँको ढाक्मर पहाड राताम्मे हुनको पछाडी गुरुपद्यसम्भवको कथासंग जोडिएको बताउँनुहुन्छ । आठौं शताब्दी ताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्म बिरोधी राक्षसको भुडी चिरेर आन्द्राभुडी त्यहाँ घमी खोलामा फ्याकेको र त्यस क्रममा राक्षसको रगत निकालेर त्यहाँको ढाक्मर गाउँको विशाल पहाडमा मिल्काईएकाले त्यहाँको विशाल पहाड राताम्मे हुन पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टको भनाई छ ।
घमी खोला नजिक राक्षसको आन्द्रा भुडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुडी आकृतिको करिव २ सय मिटर लामो पर्खाल निर्माण गरिएको छ । राक्षसको रगतले पोतिएकोले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वाश रहेको अध्यक्ष बिष्टको भनाई छ ।
ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाई पनि करिव २ किलोमिटर भन्द बेसी रहेको बताईन्छ । उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा मुख्य राजमार्ग सडकबाटै सहजै त्यहाँ अवस्थित विशाल राताम्मे पहाड देख्न सक्छन् । तर, यहाँको पर्यटन प्रर्वद्धन तथा आवश्यक प्रचार÷प्रसार नहुँदा त्यहाँको राताम्मे कलात्मक पहाड र त्यहाँको ऐतिहाँसिक बुझन पर्यटकहरु बेखबर जस्तै हुने गरेको पाईएको छ ।
त्यहाँको ऐतिहाँसिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा सय भन्दा बेसी गुफाहरु रहेको गाउँपालिका अध्यक्ष बिष्टले बताउँनुभयो । यहा थुप्रै छिद्रछिद्र गुफा रहेपनि ढाक्मर गाउँ नजिकको जियो पार्क नजिकै रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबको रुपमा विकास गर्ने लक्ष्य अनुसार पूर्वाधार निर्माणको काम भईरहेको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो । ढाक्मर गाउँकै जियोपार्क सम्पदासंग जोडिने गरी त्यहाँ नजिकको अग्लो स्थानमा रहेको गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिंढि बाटो निर्माण गरेको अध्यक्ष बिष्टको भनाई छ ।
यहाँको जियो गुफासम्म पुग्न अहिले तत्काल केही कठिन छ, चालु वर्ष हामीले १५ लाख खर्च गरेर गुफासम्मको आधा बाटोमा रेलिङसहितको सिंढि बाटो निर्माण गरेका छौ,’ अध्यक्ष बिष्टले भन्नुभयो, ‘आगामी आर्थिक वर्ष गुफासम्मै रेलिङसहितको सिंढि बाटो निर्माण गर्ने गरी २५ लाख बजेट विनियोजन गरेका छौ , अब त्यसक्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनावद्ध रुपमा काम गर्ने सोचमा छौं ।’’
मुस्ताङको ढाक्मर गाउँ नजिकको विशाल पहाडमा करिव दुई हजार वर्ष पहिले मासिन खोपेर गुफै गुफा निर्माण गरिएको त्यहाँका वडाध्ष्क्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गर्नुभयो ।‘हाम्रो यहाँ वस्ती निर्माण हुन अघि यहाको पहाड मानिसलेनै खोपेर गुफा बनाएर आश्रय लिने गरेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । यहाँ यसप्रकारका दर्जनौ छिद्रछिद्र गुफाहरु अवस्थित रहेको वडाध्यक्ष गुरुङको भनाई छ ।
यहाको गाउँ नजिकैको सहज गुफालाई स्थानीय र पालिका मिलेर जियो पार्कको रुपमा विकास गर्ने कार्य सुरु भएको वडाध्यक्ष गुरुङले जनाउँनुभयो । यहाँको जियोपार्क गुफामा विदेशी पर्यटकहरु ध्यानसाधना गर्न आउने गरेको वडाध्यक्ष गुरुङले सुनाउँनुभयो । ‘यहाँको राताम्मे जियोपार्क गुफाबाट निलगरी हिमाल र आसपासका हिमऋखंलाहरु निकै मनमोहक र सुन्दर देखिन्छन्, यहाँ ध्यानसाधना केन्द्र मात्रै होईन ,यसस्थानलाई दृष्यावलोकन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम भईरहेको छ ।’’
यहाँको जियोपार्क गुफा प्रर्वद्धन गर्नका लागि लोघेकर दामोदरकुण्डसंगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ । सामाजिक विकास कार्यालय यहाँको मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सन वाल निर्माण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँले यहाँ गुफाबाट सजिलै बिना जोखिम दृष्यावलोकन गर्न सकिने गरी चालु वर्ष १० लाख बजेट खर्चिएर प्रोटेक्सन वाल निर्माण गरेको बताउँनुभयो । यहाँ पर्यटकीय सम्भावनानै सम्भावना भएकाले जियो पार्क प्रर्वद्धन गर्न स्थानीयबासीसंग सहकार्य गरिएको बताउँनुभयो ।
कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय अब विस्तारै पर्यटनसंग जोडिन चाहेको देखिन्छ । यसैका कारण उनीहरुले त्यहाँ निकै ठुलो क्षेत्रफलमा हरियाली जियो पार्क गार्डेन निर्माण गरिसकेका छन् । जियो पार्क वरिपरीको कमाण्डमा केही वर्षअघि प्रदेश सरकारको बजेट तीस लाखबाट कम्पाण्ड घेराबार गरिएको थियो । यसका अतिरिक्त जियोपार्क भित्र छप्पनी ढुंगा बिच्छ्याएर पेटी निर्माण भएको छ ।
यहाँको जियो पार्कलाई पर्यटन हबको रुपमा विकास गर्ने लक्ष्यसहित त्यहाँका स्थानीयले ६५ लाख रुपैया चन्दा संकलन गरी जियो पार्क भित्र विशाल बुद्धको मूर्ति स्थापना गरेको स्थानीय बताउँछन् ।
जोमसोम—कोरला सडकबाट पश्चिमतर्फको २ किलोमिटर दुरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ । मुस्ताङको घमी हुँदै ढाक्मर गाउँ पुग्न सकिन्छ । यहाँको कच्चि सडक हुँदै विश्वकै पहिलो र पुरानो दावी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात घर गुम्बा पुग्न सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली