माईनस डिग्री चिसोमा चलचित्र छायांकन

जोमसोम

मुस्ताङमा हिउँदयामको महिनासंगै अत्यधिक चिसो बढेको छ ।यसैका कारण यहाँका कतिपय नागरिकहरु जाडो छल्न बेसी झरिसकेका छन् ।बर्खायाममा गुल्जार हुने यहाँको पर्यटन व्यवसाय समेत चिसोका कारण प्रभावित बनिरहेको छ ।

तर, अत्यधिक चिसोका कारण यहाँको दैनिक जनजिवन प्रभावित भईरहेको भएपनि नेपाली चलचित्र ‘बाटुलो जुन’को छायांकन युनिट मुस्ताङ आईपुगेको छ । नेपाली चलचित्र क्षेत्रका सुपर स्टार नायक भुवन केसीको निर्देशन तथा जिया केसीको लगानी रहेको चलचित्र बाटुलो जुन युनिटको झन्डै एक सय बढी कलाकार तथा प्राविधिक लगायतको टोली मुस्ताङ आईपुगेको हो ।

नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र बाटुलो जुन छायांकनका लागि सुपरस्टार भुवन केशीसहितको चलचित्र युनिट यतिबेला मुस्ताङको घरपझोङ—३ स्याउ गाउँमा चलचित्र छायांकनमा खटिएका छन् ।

अक्सर मुस्ताङमा यसप्रकारका चलचित्रहरु अनुकुल याममा मात्रै छायांकन गर्ने गरिएको भएपनि हिउँदयामको प्रिितकूल मौसम छिचोल्दै बाटुलो जुन चलचित्र युनिट मुस्ताङ आईपुगेको कार्यकारी निर्माता  तेज बिक्रम केशीले जानकारी दिनुभयो । मुस्ताङको घरपझोङ—३ स्याङ गाउँ स्थित जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा चलचित्रको छायांकन भईरहेको कार्यकारी निर्माता केसीको भनाई छ । ‘यहाँको मौसम प्रतिकूल छ,चिसो पनि अत्यधिक रहेछ, कार्यकारी निर्माता केसीले भन्नुभयो,‘ तैपनि हामी यहाँ जुन उद्देश्यले आएका हौ, चिसोले अवरोध पु¥याएको छैन, यहाँ चलचित्र युनिट र कलाकारहरुले चिसो थेग्दै काम गरिरहनु भएको छ ।’

मुस्ताङको स्याङ गाउँमा चलचित्र छायांकन हुँदा त्यहाँका नागरिकहरु निकै उत्साहित भएका छन् । चलचित्रको माध्यमबाट गाउँको प्रचार÷प्रसार हुने र यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा लिएर त्यहाँ स्थित स्याङ गाउँका जनताले बाटुलो जुन युनिटलाई स्वागत÷सत्कार समेत गरेका छन् । चलचित्रको कथावस्तु अनुसार ठुलो संख्यामा स्थानीय नागरिक र विद्यार्थीहरु चाहिने भएकाले यि सबैको चाँजोपाँजो र व्यवस्थापन वडा कार्यालय,गाउँ र विद्यालयले मिलाईदिएपनि बाटुलो जुन युनिटलाई निकै सहज भएको चलचित्र निर्देशक भुवन केसी जानकारी दिनुभयो । यहाँका स्थानीय नागरिकहरुको न्यानो आतिथ्यता र सहयोगी भावनाले गर्दा मुस्ताङमा चलचित्र छायांकनमा निकै ठुलो सहयोग प्राप्त भएको निर्देशक केसीको भनाई छ ।

बिहिबारदेखि सुरु भएको चलचित्र बाटुलो जुनको छायांकनका लागि स्याङ गाउँको पुरै स्थानीय नागरिक र बालबालिका चलचित्र छायांकन स्थलमा भेला भएका थिए । स्थानीय धर्म,संस्कृति र परम्परा अनुसार निर्देशक एवं कलाकार भूवन केसीको स्वागत गर्ने दृष्य छायांकनका लागि स्याङ गाउँका झन्डै एक सय बढी स्थानीयले सहयोग पु¥याएको त्यहाँका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउँनुभयो ।

वडाध्यक्ष थकालीले भने,‘यहाँको पर्यटन प्रवद्र्धन हुन्छकी भन्ने आशा लिएर सिंगो गाउँले मिलरे चलचित्र छायांकनमा सघाएका छौै, हाम्रो गाउँ त्यसै त बत्ती मुनिको अध्यारोमा छ,’ चलचित्र छायांकनले गाउँको प्रचार हुन्छ भन्ने हाम्रो विश्वाश हो ।’ स्याङ गाउँमा छायांकन भईरहेको चलचित्रलाई गाउँलेले खेतीपाती र घरायसी काम धन्दा थाँती राखेर सघाईरहेको वडाध्यक्ष थकालीको भनाई छ ।

मुस्ताङमा बर्सेनि स्वदेशी तथा विदेशी चलचित्र ,म्युजिक भिडियो र डकुमेन्ट्री चलचित्रहरु छायांकन हुने गरेको छ । यहाँ छायांकन भईरहेका चलचित्रले यहाँको पर्यटन विकासमा निकै ठुलो सहयोग पु¥याएको छ । चलचित्र कबड्डीले थासाङको नाउरिकोटलाई चिनाएको थियो ।

जेरी  र प्रेमगीत लगायतका चलचित्रले मुस्ताङको मार्फा गाउँ र ढुम्बाताललाई चर्चामा ल्याएको थियो । चलचित्रको माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउने हुँदा यसप्रकार चलचित्र छायांकनलाई व्यवस्थापन तथा शुल्क घटाउन समेत आवश्यक देखिएको छ । पछिल्लो समय सडक यातायात सहज भएसंगै मुस्ताङमा चलचित्र छायांकन गर्ने क्रम बढ्दो रहेको छ ।


प्रतिक्रिया