जोमसोम—मुस्ताङका किसान यतिबेला रैथाने बाली थन्क्याउन जुटेका छन् ।रैथाने बाली अन्तर्गत फापर खेती मुस्ताङको लोकप्रिय खाद्य बाली हो ।
मुस्ताङका किसानलाई दसै पर्वसंगै रैथाने बाली फापर थन्क्याउने चटारो चलेको हो । घरायसी प्रयोजन,धार्मिक कर्म तथा विदेशमा आफ्ना आफन्तजनलाई कोशेली पठाउने प्रयोजनका लागि मात्रै मुस्ताङका किसानले परम्परागत रैथाने फापर खेती पछ्याउँदै आईरहेका छन् । जिल्लाको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका किसानलाई फापर बाली भित्र्याउने चटारो चलेको हो । खेतबारीमा फापर छरेको औसत एकसय दिनमा फापर खेती भित्रयाउन योग्य हुन्छ । फापर काटेर लगातार ३ दिनसम्म डाठसंगै खेतबारीमा सुकाएपछि किसानले फापरको केस्रा निकाल्ने गर्छन । फापरको डाँठ परालको रुपमा पशु जनावरलाई दिन सुकुटी पारेर राखिन्छ भने फापरको मिठो विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।
परम्परागत लौरीले चुटेर फापरको केस्रा निकाल्ने पुरानो प्रचलन भएपनि पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा संकलन गर्छन । मुस्ताङका अधिकाँश किसानले प्रायगरी घरायसी प्रयोजनका लागि मात्रै सीमित मात्रामा फापर खेती गर्ने गर्छन् ।
हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले सदिंयौं वर्षदेखि रैथाने फापर खेती अपनाउँदै आईरहेका छन् । मुस्ताङमा उत्पादन हुने उवा,जौ,मकै,आलु,बोडी,सिमी लगायत फापर खेती पनि यहाँको मुख्य ब्रान्ड बनेको छ । मुस्ताङको तल्लो क्षेत्र वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि तल्लो क्षेत्र थासाङ—४ पैरोथाप्लासम्म फापर खेती गर्ने गरिन्छ । फापर खेती अन्तर्गत स्थानीयले मिठे फापर र तिते फापरको खेती गर्ने प्रचलन छ । समुन्द्री सतहको १ हजार ९८४ मिटरदेखि ३हजार ९०० सय मिटरको अग्लो उचाईको क्षेत्रमा फापर खेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोषिलो हुन्छ ।
फापर बाली अन्तर्गत मिठे फापरको खेती तल्लो मुस्ताङमा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याउने गरिन्छ । तिेते फापर साउन र भदौ महिनामा खेतबारीमा छरेर कार्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ ।
उपल्लो मुस्ताङमा मिठे फापर बैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीका छरेर कार्तिकको पहिलो हप्तादेखि फापर भित्र्याउने काम सुरु हुन्छ । यहाँ तिते फापर बैशाखको पहिलो र दोस्रो हप्तामा खतबारीमा छरेर कार्तिक महिनाको अन्त्यतीर बाली भित्र्याउने गरिन्छ ।
फापर बोटको औसत १०० से.मी. देखि ११० से.मी. सम्म हुने गर्छ । फापर बाली अन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलावी रंगको फूलहरु फुल्दछ भने फापरको केस्रा हलुका र कालो रंगको हुन्छ । तिते फापरको सेतो रंगको फूलहरु फल्दछ । फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर मिठो तयार गरिन्छ । विषेशगरी फापरको मिठो बढी मात्रामा ढिंडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ ।
मुस्ताङमा अन्य खाद्यबालीको तुलनामा कम झन्टिलो हुने गरेपनि यहाँका किसानले फापर खेतीलाई ब्यवसायिक रुपमा अपनाएको पाईदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनमा मात्रै अपनाएको पाईन्छ । घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रर्वद्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम संञ्चालन गर्देआईरहेको जानकारी दिए । उनले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकैले संम्वन्धित किसानहरुलाई रैथाने बाली विविधकरण तालिम,अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम गर्ने गरेको बताए ।
फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुने बताईन्छ । फापरको परिकारबाट रगतको कोल्डस्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाई छ । यसले मानिसको माटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुने बताईन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुने गर्छ ।यसमा कार्बोहाईट्रेड,फाईबर,प्रोटिन,चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुन्छ ।
मुस्ताङका किसानले फापर खेतीलाई अन्तरबालीका रुपमा समेत अपाउँदै आईरहेका छन् । स्याउ बगैचा भित्र किसानले फापर खेती गरेर दोहोरो फाईदा लिने गरेको पाईन्छ । घरपझोङका किसान निरज थकालीले रैथानी बाली फापर खेती सदिेंयौ वर्षदेखि किसानले अपनाउदै आईरहेको बताए । फापरको परिकारले धार्मिक पुजाआजा ,घरायसी प्रयोजन र कोशेलीको रुपमा पठाउनकै लागि फापर खेतीले निरन्तरता पाउने गरेको उल्लेख गरे । मुस्ताङी रैथाने ब्रान्ड फापरको मिठो मुस्ताङमै मात्र होईन ठुला ठुला होटलहरुमा समेत उपलब्ध हुने गर्छ ।