जोमसोम—कागबेनी कालोपत्र सडक भाँसिदा गन्तब्यमै नपुगी फर्किए पर्यटक

निरन्तरको अविरल वर्षाका कारण जोमसोम—मुक्तिनाथ—कोरला कालोपत्र सडक भाँसिएसंगै मुक्तिनाथ दर्शन गर्न आएका सयौं भक्तजन तिर्थयात्री गन्तब्यमै  नपुगी जोमसोमबाट फर्किएका छन् । बिहिबार जोमसोमदेखि पान्डाखोलाबिचको कालोपत्र सडक वर्षाका कारण करिव २५ मिटर भासिन पुगेको थियो।

 जोमसोम—कोरला कालोपत्र सडक भाँसिएसंगै मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार सवारी साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको टोली जोमसोममै रोकेको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक सहज भएतापनि वर्षाका कारण जोमसोम—कागबेनी सडक भाँसिएपछि टाढा टाढाबाट मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनहरुको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।

मुस्ताङका सिडियो विष्णुप्रसाद भुसालले जोमसोम माथिको कालोपत्र सडक भाँसिन पुगेकाले जोमसोमबाट मुक्तिनाथ जाने सवारी साधनलाई माथि जान रोक लगाईएको बताउँनुभयो । सिडियो भुसालका अनुसार सडक भासिएको स्थानमा सुरक्षा निकायको समन्वयमा जसोतसो मुक्तिनाथबाट फर्किने सवारी साधनलाई जोमसोम तल झार्ने कार्य भएको र जोमसोमबाट भने मुक्तिनाथ जान खतरा उत्पन्न हुने भएकाले जोमसोममै रोकिएको बताउँनुभयो । सिडियो भुसालले निरन्तरको वर्षा कायमै रहेकाले सडक सूचारु गराउन समय लाग्ने बताउँनुभयो ।

जोमसोम—कागबेनी सडक अवरुद्ध भएपछि मुक्तिनाथ दर्शन गर्ने तीब्र चाहना बोकेर मुस्ताङ आएका कतिपय पर्यटक जोमसोमबाट फर्किएका छन् । कतिपय पर्यटक सडक खुल्ने पखाईमा जोमसाममा बसेका स्थानीय मनिता थकालीले जानकारी दिनुभयो ।

यहाँ जोमसोम—कागबेनी र कागबेनी—छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढी पहिरोले सडक संरचनमा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

 जोमसोम—कालोपत्र सडक राष्ट्रिय गौरवको सडक अन्तर्गत २०७३÷०७४ सालमा ग्राभेल सडकको ठेक्का सम्झौता गरि सडक निर्माण अघि बढाईएको थियो । जोमसोम—कोरला ७ खण्डको ग्राभेल सडक खण्ड अन्तर्गत पहिलो खण्ड २०७६ सालमा आयोजनालाई हस्तान्तरण भएको थियो ।

त्यसपछि आयोजनाले २०७९ सालमा जोमसोम—कागबेनी १३ किमी कालोपत्र सडकको ठेक्का लगाइएको थियो । यहाँ जोमसोम—कागबेनी १३ किमी कालोपत्र सडक सम्पन्न भई गत वर्ष आयोजनालाई हस्तान्तरण भएको थियो । जोमसोम —कागबेनी सडकमा आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनमा क्षति पुग्न गएको हो ।


प्रतिक्रिया