मुस्ताङ भित्रिए बीस हजार हाईब्रिड स्याउका विरुवा

जोमसोम ।

स्याउको उर्वरभूमी मानिएको हिमालपारी मुस्ताङ बुधबार बीस हजार थान उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड’ स्याउका विरुवा भित्रिएको छ ।  निजी क्षेत्रबाट संञ्चालित नेपालकै सबैभन्दा ठुलो स्याउ फार्म एग्रो मनाङले ईटालीबाट आयात गरिएको उक्त हाईब्रिड स्याउको विरुवा यहाँ भित्र्याएको हो । 

 मनाङ एग्रो कम्पनीलाई असी प्रतिशत अग्रिंम भुक्तानी बुझाएर मुस्ताङका स्थानीय स्याउ किसानले स्याउका विरुवा माग गरेका थिए । सोही अनुसार यहाँ बीस हजार थान उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड’ स्याउका विरुवा बिक्री गरिएको एग्रो मनाङका व्यवस्थापक नेपालमान महर्जनले जानकारी दिनुभयो ।यहाँ प्रति स्याउका विरुवा एक हजार एक सय ५० पचास रुपैयामा बिक्री वितरण गरिएको व्यवस्थापक महर्जनको भनाई छ । एग्रो मनाङ कम्पनीले यहाँको जोमसोममा हाईब्रिड स्याउका विरुवा वितरण गरेको व्यवस्थापक महर्जनले उल्लेख गर्नुभयो ।

 विगतका वर्षहरुमा मुस्ताङका किसानले संघीय अनुदान अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मार्फत पचास प्रतिशत अनुदान र गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञानकेन्द्र मुस्ताङ मार्फत ७५ प्रतिशत अनुदानमा हाइब्रिड स्याउका विरुवा खरिद गर्ने गरिएकोमा पछिल्लो समय उक्त अनुदानका कार्यक्रम रोकिएको चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले बताउँनुभयो । 

‘यसअघि स्याउ विरुवा अनुदान पाउँदा प्रति विरुवा दुई सय ७५ र पाँच सय ७५ रुपैया मात्रै पथ्र्यो, अहिले अनुदान नपाउँदा प्रतिविरुवा एक हजार १५० रुपैया मूल्य परेको छ,’ सञ्चालक गुरुङले भने ।’ यहाँ स्याउका विरुवामा दिईने अनुदानका कार्यक्रम रोकिंदा मुस्ताङका किसानले ठुलो आर्थिक भार व्यवहोर्नु परेको संञ्चालक गुरुङको दुःखेसो छ । 

पछिल्लो समय मुस्ताङका किसान यहाँको स्थानीय जातको  स्याउ खेतीलाई थाँती राखेर नयाँ प्रविधिको उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड’ स्याउ खेतीलाई पछ्याउन थालेका छन् । सुरुवाती चरणमा मनाङ एग्रोले उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड’ स्याउ खेती सुरु गरेपछि मुस्ताङमा यसको परीक्षण गरिएको थियो । चिम्ले अचार्डका सञ्चालक कर्मा गुरुङले यहाँ पाँच वर्ष अघि गरिएको हाईब्रिड स्याउको परीक्षण सफल भएकाले मुस्ताङका किसानको आर्कषण बढेको बताउँनुभयो ।

 पछिल्लो समय मुस्ताङमा कालिगण्डकी बगर र सार्वजनिक खाली जग्गामा उच्चघनत्वमा आधारित स्याउ खेती गर्ने होडबाजीनै चलेको छ । विरुवा लगाएको पहिलो दोस्रो वर्र्षमा हाईब्रिड स्याउका विरुवाले छिटो छरितो रुपमा गुणस्तरीय स्याउ उत्पादन गर्ने सामथ्र्यता राख्ने भएकाले यहाँका किसानको आर्कषण हाईब्रिड स्याउ खेतीतर्फ बढेको हो ।

 स्थानीय जातका स्याउ बोटले फल उत्पादन गर्न पन्ध्रदेखि बिस वर्षसम्म समय लाग्ने तर  हाईब्रिड स्याउले विरुवा लगाएको दोश्रो वर्षमा फल दिन सुरु गर्ने भएकाले यहाँका किसानले हाईब्रिड स्याउलाई प्राथमिकतामा राखेका हुन् । थोरै क्षेत्रफलमा धेरै मात्रामा हाईब्रिड विरुवा रोपण गर्न मिल्ने र एउँटै विरुवाले वर्सेनि तीस केजीसम्म स्याउ उत्पादन गर्ने भएकाले किसानले छिटोछरितो आर्थिक लाभ लिन सकिने थासाङ—१ टुकुचेका किसान निरज तुलाचनको भनाई छ । यहाँ हाईब्रिड स्याउ खेतीका लागि उपयुक्त सुहाउँदो हावापानी भएकाले यहाँका किसानले यसप्रकारका विरुवा माग गर्ने क्रम बढेको किसान तुलाचनको भनाई छ ।

 यहाँ उत्पादन हुने उच्चघनत्वको हाईब्रिड स्याउको गुणस्तर,मुल्य र बजारिकणमा कुनै समस्या नहुँने भएकाले परम्परागत स्याउ खेती थाँती राखेर नयाँ प्रविधिका स्याउ खेतीलाई स्थान दिने गरिएको छ । यहाँ हाईब्रिड स्याउ विरुवा एक रोपनी क्षेत्रफलमा दुईसय भन्दा बढी विरुवा रोपण गर्ने सकिने किसानहरुको भनाई छ ।


प्रतिक्रिया