उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडकको पछिल्लो भौतिक प्रगती ८५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष थपिएका ९ वटा योजना छोडेर (बेनी—जोमसोम—कोरला) सडकको समग्र भौतिक ८५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला ) सडक आयोजनाका सूचना अधिकारी बिण्णु चापागाईका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगती भईसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजन आ.व. २०७३/०७४ सालदेखि सुरु भएको हो ।
आयोजना अन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ साना ठुला प्याकेज गरी ७ वटा र सडक ग्राभेलतर्फ ६ वटा सडक योजनाको काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउँनुभयो । सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर , तातोपानीदेखि कैकु र कैकुदेखि कोवाङ र जोमसोम कागबेनी सडक लगायत गरी ७ वटा प्याकेजमा कालोपत्र सडक विस्तार सम्पन्न भईसकेको सूचना अधिकारी चापागाईले उल्लेख गर्नुभयो । यसैगरी ग्राभेलतर्फ जोमसोम—कोरलासम्मको ६ वटा प्याकेजको काम सम्पन्न भएको र चराङ —छोसेर २५ किमी ग्राभेल सडक निर्माणको अन्तिम चरणमा रहेको सूचना अधिकारी चापागाईले जानकारी दिनुभयो ।
कोरला राजमार्ग सडकतर्फ एक सय ५ किलोमिटर सडकको ठेक्का सम्झौता भएकोमा ७५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ । यसैगरी जोमसोम—कोरला ११० किमी सडकमा ९० किलोमिटर सडकमा ग्राभेल पुरा भएको आयोजनाले बताएको छ । यसैगरी कोरला सडकमा ठेक्का सम्झौता भई निर्माणको चरणमा रहेका १९ वटा पुलपुलेसा मध्ये १४ वटा पुल सम्पन्न भईसकेको छ । बाँकी ५ वटा पुल निर्माणधिन अवस्थामा रहेको आयोजनाले जनाएको छ । करिडोर सडक अन्तर्गत सम्पन्न भएका १४ पुलहरु मध्ये ९ वटा मुस्ताङ खण्डमा र ५ वटा म्याग्दी खण्डमा पुल बनिसकेको आयोजनाको भनाई छ । मुस्ताङको थासाङ गाउँपालिका—३ लेतेको सेतु खोला पुल निर्माण अन्तिम चरणमा छ । त्यहाँ ८० प्रतिशत भौतिक प्रगती भईसकेको छ ।
उत्तर÷दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि चालु आ.व. २०८१÷०८२ मा थप ९ वटा योजन थपिएको आयोजनाले जनाएको छ । आयोजना अनुसार चालु वर्ष थप भएका नयाँ योजना मध्ये ४ वटा पुलपुलेसाको ठेक्का सम्झौता भई निर्माणको काम अघि बढेको आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ । चालु वर्ष थपिएका पुलपुलेसामा ठेक्का सम्झौता भई थासाङको कैकु खोला पुल,कोवाङको लार्जुङ खोला पुल ,म्याग्दीको राहुघाट बेलिब्रिज स्थान्तरण तथा मर्मत र मुस्ताङको लुप्रापान्डा खोलापुलमा धार एकत्रित गर्न खोला च्यानालाईजेसनका निम्ति ठेक्का सम्झौत भई काम अघि बढेको उहाँले बताउँनुभयो ।
यसअघि मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोलामा पुल निर्माणको ठेक्का सम्झौता भंग गरिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले ठेक्का सहमती रद्द गरेको थियो ।