मुस्ताङमा ६७ हजार पशुचौपायालाई पूर्ण खोप लगाईदै

जोमसोम—  हिमाली जिल्ला मुस्ताङमा ६७ हजार ३३३ पशुचौपायालाई पूर्ण खोप लगाईदै छ । गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

 पशुपालन व्यवसाय अन्तर्गत चुनौतीको रुपमा रहेको विभिन्न प्रमुख रोगहरुको नियन्त्रण गर्दै पशु स्वास्थ्यको सुनिश्चितताका लागि गण्डकी प्रदेश सरकारको कार्यक्रम अनुसार चालु वर्षको साउनदेखि मुस्ताङमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनमा ल्याईएको  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका कार्यालय प्रमुख एवं पशु चिकित्सक डा. लालमणी अर्यालले जानकारी दिनुभयो । पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि,जुनोटिक रोगहरुको नियन्त्रण तथा प्रति जैविक प्रतिरोध न्यूनिकरण गर्ने उद्देश्यले मुस्ताङका पाँचै वडा स्थानीय तहको समन्वयमा पशुमा पूर्ण खोप अभियान सञ्चालन भएको कार्यालय प्रमुख डा. अर्यालले उल्लेख गर्नुभयो ।

भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अगुवाईमा जिल्ला पाँचै वटा स्थानीय तहका पशु प्राविधिकहरुले सम्वन्धित स्थानमा पुगेर पशुमा पूर्ण खोप लगाउने कार्य भईरहेको कार्यालय प्रमुख डा. अर्यालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको २०८१÷०८२ को असार मसान्तसम्ममा मुस्ताङका पाँचै स्थानीय तहमा गरी कुल ६७ हजार ३३३ पशुचौपायालाई पूर्ण खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा. अर्यालले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न पशुचौपायालाई नौ प्रकारका खोप लगाईने छ । जसअनुसार  कुखुरालाई रानीखेत खोप, बंगुरलाई खोरेत र हैजा रोग विरुद्ध सीएसएफ खोप, भेडा च्यांग्रालाई पीपीआर खोप, कुकुर, बिरालो र घोडालाई रेबिज खोप,गाई,भैसी र बंगुरलाई एफएमडी खोप र ,गाई भैसीलाई एचएस —बिक्यु लगायतका खोप लगाईने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले उल्लेख गरेको छ ।

पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा  ६ हजार ६९ पशुचौपाया, घरपझोङमा  ६ हजार ३९१ पशुचौपाया, वारागुङ मुक्तिक्षेत्रमा २२ हजार ९४३ पशुचौपाया, लोघेकर दामोदरकुण्डमा १६ हजार २५६ पशुचौपाया र लोमान्थाङ गाउपालिकामा १५ हजार ६४७ वटा पशुचौपायालाई पूर्ण खोप लगाईने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी डा. अर्यालले जानकारी दिनुभयो । जिल्लामा रहेको कुल लक्ष्यको कम्तिमा ८० प्रतिशत पशुचौपायालाई खोप अभियानमा जाड्न सकेमात्रै पूर्ण खोप कार्यक्रम सफल भएको मानिने कार्यालय प्रमुख अर्यालको भनाई छ ।

 मुस्ताङमा सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत  विभिन्न पशुहरुलाई गरी २१ हजार ३०६ डोज खोप लगाई सकिएको कार्यालय प्रमुख डा. अर्यालले जानकारी दिनुभयो ।

मुस्ताङमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका पाँचै वटा स्थानीय तहमा गरी गाई ६ हजार ६८६ ,भैसी २ सय ६, बाख्रा एक हजार २७० , बंगुर ८२, कुकुर ५ सय ५, याकचौरी ४ हजार ५०७, भेडा ४ हजार २९८ र च्यांग्रा ४९ हजार ७६९ वटालाई पूर्ण खोप लगाउने गरी तथ्यांक संकलन गरिएको छ ।


प्रतिक्रिया