हाईब्रिड स्याउ उत्पादन बढ्यो

मुस्ताङ,२५, भदौ । 

मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको पोस्ट हाभेस्ट अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकारवाला निकाय सम्मिलित जिल्ला स्तरीय समन्यात्मक बैठकले उच्च घनत्वको हाईब्रिड गाला स्याउ भदौ ५ गतेदेखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार यहाँका हाईब्रिड स्याउ बगैचाका स्याउहरु धमाधम पोस्ट हार्भेस्ट गरी पोखरा—काठमान्डौ लगायतका स्थानमा पु¥याईसकिएको हो ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको उत्पादन करिव दश प्रतिशतले वृद्धि भएको अनुमान गरेको छ । कार्यालय प्रमुख राजेश गुरुङले यहाँको हाईब्रिड स्याउको प्रारम्भिक सर्वेक्षणमा उक्त परिमाणमा हाईब्रिड स्याउ उत्पादन भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गत वर्ष मुस्ताङमा  ६० हेक्टर हाईब्रिड स्याउ बगैचाको क्षेत्र रहेकोमा उत्पादनशील ५० हेक्टर क्षेत्रफलमा एक हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको बताउँनुभयो । यसवर्ष गतवर्षको भन्दा एक सय २५ मेट्रिक टन हाईब्रिड स्याउ बढी उत्पादन भएको कार्यालय प्रमुख गुरुङको भनाई छ ।

तर, मुस्ताङमा गतवर्षको भन्दा बढी मात्रामा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ उत्पादन वृद्धि भएको जनाईएपनि यहाँ परम्परागत स्थानीय जातका लोकल स्याउको उत्पादनमा ह्रास आउने देखिएको कृषि ज्ञान केन्द्र कार्यालयको ठम्याई छ । यसवर्ष गतवर्षको तुलनामा स्थानीय जातको स्याउ १५ प्रतिशतले ह्रास आउने प्रक्षेपण गरिएको केन्द्र प्रमुख गुरुङको भनाई छ । 

गतवर्ष यहाँ ८३० हेक्टर स्थानीय स्याउ बगैचाको क्षेत्र रहेकोमा  उत्पादनशील ५६६ हेक्टर क्षेत्रफलमा ६ हजार ७८ दशमलव ८४ प्रतिशत मेट्रिक टन उत्पादन भएको थियो । केन्द्र प्रमुख गुरुङका अनुसार यसवर्ष स्थानीय जातको लोकल स्याउको उत्पादन करिव १५ प्रतिशतले घट्ने प्रक्षेपण गर्नुभयो । ‘यहाँको हामीले गरेको प्रारम्भिक सर्वेक्षण र कृषकहरुसंग बुझ्दा, स्थानीय स्याउ कम फलेको पाईयो,’ हामीले गरेको प्रारम्भिक सर्वेक्षणमा पनि यसवर्ष स्थानीय जातको स्याउ गतवर्ष भन्दा ९२ मेट्रिक टन घट्ने अनुमान गरेका छौं ।’

त्यसो त मुस्ताङमा कतिपय कृषकहरुको स्याउ बगैचामा स्थानीय स्याउको उत्पादनमा कुनै असर परेको छैन भने कतिपय कृषकहरुको स्याउ बगैचामा एक तिहाईसम्म स्याउ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । यहाँको घरपझोङ—५ स्थित चिम्ले अचार्ड कृषि स्याउ फार्ममा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपरेको फार्मका प्रोपाईटर कर्म गुरुङले जानकारी दिनुभयो । स्याउ बगैचाको उचित व्यवस्थापन , भूगोल र स्थानले समेत स्याउ उत्पादनमा निर्भर रहने उहाँको भनाई छ । यसैगरी थासाङ—१ टुकुचेका कृषक दिपसागर थकालीले यसवर्ष थासाङ क्षेत्रमा स्थानीय स्याउको उत्पादन एक तिहाईले घटेको बताउँनुभयो । ‘बगैचाम लटरम्म स्याउ फल्थ्यो,यसवर्ष बगैचाको बोट स्याउ निकै पातलो छ ,’—उहाँले भन्नुभयो ।

 यसवर्ष मुस्ताङमा स्याउ बोटमा फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षाले स्याउ बोटमा असर पु¥याएकाले स्थानीय स्याउमा ह्रास आउने देखिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । ‘यहाँ स्याउ बोटमा फूल फूलेर स्याउ उत्पादन बढी हुँदा अर्को वर्ष स्याउ बोटमा कम फूल फूल्छ,’ उहाँले भन्नुभयो,‘ स्याउ बोटमा धेरै फूल फूल्दा सञ्चित ईनर्जी कम हुन जान्छ, यसैले अर्को वर्ष कम उत्पादन हुने गरेको हो ,’ यसवर्ष स्याउ बोटमा कम ईनर्जी भएकै कारण स्थानीय स्याउको बोटमा कम उत्पादन हुने आँकलन गरिएको उहाँको भनाई छ ।

मुस्ताङमा यसवर्ष कति मात्रामा स्याउ उत्पादन भयो भन्ने अन्तिम विवरण असोजपछि किसानको बगैचामा क्रप कटिङ गरेपछिमात्रै एकिन जानकारी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँ स्थानीय र हाईब्रिड गरी गतवर्ष ६ हजार १६ हेक्टर क्षेत्रफलमा ७ हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । जसमा १० प्रतिशत स्याउ मुस्ताङमै खपत भएको थियो भने ९० प्रतिशत स्याउ मुस्ताङबाट जिल्ला बाहिर निकासी भएको थियो ।

गतवर्ष मुस्ताङमा   स्याउ निकासीबाट ८२ करोड ६८ लाख रुपैया आम्दानी भएको थियो भने मुस्ताङमा ९ करोड १८ लाख ६७ हजार रुपैयाको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया