उपल्लो मुस्ताङमा हिउँ चितुवा पीडितलाई राहत वितरण

जोमसोम ।।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवा पीडित पशुपालक किसानलाई वन्यजन्तु क्षति राहत वितरण गरेको छ । एक्याप लोमान्थाङले आ.व. २०८१÷०८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका पशुपालक किसानलाई क्षति राहत वितरण गरेको जनाएको छ ।

एक्याप लोमान्थाङले उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका एक सय २५ वटा पशुचौपायाको  एघार लाख ३५ हजार क्षति राहत सम्वन्धि पीडित पशुपालक किसानको खातामा भुक्तानी गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

 उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी गरिएको जानकारी दिनुभयो । यहाँ तत्काल क्षतिको राहत पाउँनेबाहेक अझै  २६ लाख ९४ हजार अर्थात ५७ प्रतिशत राहत रकम बितरण गर्न बाँकी रहेको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो ।

 एक्याप लोमान्थाङ अनुसार उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०÷०८१ मा २२ पशुधन क्षति भएको राहत चार लाख १८ हजार र आर्थिक वर्ष २०८१÷०८२ मा क्षति भएको  एक सय ३ पशुधनको राहत २२ लाख ७६ हजार रुपैया बितरण गर्न बाँकी रहेको जनाईएको छ ।  

कार्यालय प्रमुख पौडेलले कार्यालयको पटक÷पटक गरेका ताकेताले गर्दा उक्त रकम हिउँ चितुवा पीडित किसानलाई राहत उपलब्ध गराउने गरी समुदायलाई हस्तान्तरण गरिएको बताउँनुभयो । उहाँले बन्यजन्तुबाट क्षति भएका अन्य पशुधनको पनि केही महिना भित्रै भुक्तानी उपलब्ध गराउने गरी कार्यालयबाट पहल भईरहेको बताउँनुभयो ।

 उपल्लो मुस्ताङमा मानव र हिउँ चितुवाबिचको द्धन्दले त्यहाँको पशुपालन व्यवसाय संकटमा पर्दैजान थालेको छ । हिउँ चितुवाको आक्रमणबाट पशुधनमा क्षति हुने तर राहत समयमै उपलब्ध हुन नसक्दा उपल्लो मुस्ताङका पशुपालक किसान निकै समस्यामा पर्ने गरेका छन् । 

एक्यापले हिउँ चितुवा पीडित पशुपालक किसानहरुमा परेको समस्यालाई गाँठो फुकाउन चालु आर्थिक वर्षदेखि  वन्यजन्तुबाट क्षति भएका किसानलाई लक्षित गरी मानव वन्यजन्तु द्धन्द (कोष) स्थापना गर्ने तयारी गरेको कार्यालय प्रमुख पौडेलको भनाई छ । ‘एक्याप आफैले मानव वन्यजन्तु द्धन्द कोष स्थापना गर्न लागेको छ, सरकारले तत्कालै राहत उपलब्ध गराउन नसकेपनि वन्यजन्तु पीडित किसान छिटोछरितो राहत उपलब्ध गराउन कोष स्थापना हुन लागेको हो,’उहाँले भने ।’

 वन्यजन्तु पीडितलाई कोष रकम उपलब्ध गराउने र सरकारलेपछि उपलब्ध गराउने राहत रकमलाई कोषले कटौती गर्ने गरी गृहकार्य भईरहेको जानकारी दिनुभयो ।

 सरकारले वन्यजन्तु क्षति निर्देशिका २०८० बमोजिम पशुधन क्षति व्यवहोर्न बाध्य पीडित किसानलाई तोकिएको मापदण्डमा रहेर राहत उपलब्ध गराउने गरेको छ । उक्त राहत  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग हुँदै एक्याप मार्फत राहत उपलब्ध गराउने गरेको कार्यालय प्रमुख पौडेलले बताउँनुभयो ।

 वन्यजन्तु क्षति निर्देशिका अनुसार  भेडा च्याग्रा क्षति भएका किसानलाई बढीमा प्रति पशुधन १० हजार र प्रति घोडा क्षतिको ६० हजारसम्म राहत दिने गरेको उहाँको भनाई छ । 

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) को मातहतमा रहेको मुस्ताङमा वन्यजन्तु र मानवबीचको द्वन्द्वले यहाँका पशुपालक तथा किसानहरु आहत बन्दै जान थालेका छन् । उपल्लो मुस्ताङमा हिमचितुवा र तल्लो मुस्ताङमा कालो भालु आदिका कारण किसानहरु पीडित बनेका हुन् । 

उच्चलेकमा चरन क्षेत्रमा वन्यजन्तुको आहारको अभावका कारण वन्यजन्तु वस्ती नजिक आउन थालेपछि यो समस्या देखिएको हो । वन्यजन्तु पीडितलाई एक्यापले विभिन्न प्रक्रिया पूरा गरी वन्यजन्तु क्षतिको राहत उपलब्ध गराउँदै आइरहेको छ । 


प्रतिक्रिया