मुक्तिनाथको यार्तुङ मेला ५ दिन चल्ने

फाईल फोटो
जोमसोम—सधै झै यसवर्ष पनि वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा मुक्तिनाथ यार्तुङ मेला ५ दिनसम्म चल्ने भएको छ । जनप्रिय युवाक्लव मुक्तिनाथको आयोजनामा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म यार्तुङ मेला संञ्चालन गर्ने तयारी गरिएको हो ।
 वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बर्सेनि आलोपालो वडास्तरीय रुपमा यार्तुङ पर्व संञ्चालन गर्ने गरेतापनि जनप्रिय युवाक्लवले भने यार्तुङ मेलालाई आफ्नो स्थानमा निरन्तर संञ्चालन गर्दैआईरहेको छ । धार्मिक कलासंस्कृति र मौलिकतालाई संरक्षण गर्न तथा यार्तुङ मेलामा संञ्चालन हुने गतिविधिबाट पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउनका लागि जनप्रिय युवाक्लव मुक्तिनाथले यार्तुङ पर्वलाई मेलाको रुपमा आत्मसाथ गर्दैआईरहेको छ । यसवर्ष पनि यार्तुङ मेलालाई भव्यताका साथ सम्पन्न गर्न क्लवका पदाधिकारी तथा सदस्य एवं स्थानीयबासी जुटिसकेका छन् । यसका लागि क्लवले विभिन्न खेलकुद उपसमिति र सांस्कृतिक उपसमिति समेत गठन गरिसकेको छ । त्यसो त कोभिड अघि जनप्रिय युवाक्लव पुराङ रानीपौवाले नेपाल स्की संघसंग समन्वय गरी मुक्तिनाथ क्षेत्रमा बेमोसमे पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय स्तरको स्की प्रतियोगिता समेत गरेको थियो ।
मुक्तिनाथ यार्तुङ मेलामा खेलकुदतर्फ थप २ नयाँ ईभेन्ट थपिएका छन् । रोमाञ्चक प्रतिस्पर्धाका रुपमा कदम घोडा दौड प्रतियोगिता यसवर्षको यार्तुङ मेलाको मुख्य आर्कषण हुने जनाईएको छ । कदम घोडा प्रतियोगिताको च्याम्पियनलाई नगद १ लाख पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । यो प्रतियोगितामा मुस्ताङ जिल्लाका जोकोहीले भाग लिन पाउने व्यवस्था गरिएको क्लवले जनाएको छ ।
 यार्तुङ मेलामा अर्को नयाँ थपिएको डोरी तान्ने खेल प्रतियोगिता संञ्चालन गर्ने निर्णय भएको छ । डोरी तान्ने खेल विशुद्ध मनोरञ्जनका हिसाबले प्राथमिकता दिएर कार्यक्रममा समावेश गरिएको क्लवको पूर्व अध्यक्ष सुरज गुरुङले जानकारी दिए । उनका अनुसार डोरी तान्नेतर्फको प्रथमले २५ हजार , दोश्रोले २० हजार र तेश्रो हुने टिमले १५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको हो ।
यसैगरी घोडा दौड प्रतियोगिताको अर्को ईभेन्टको पनि प्रतिस्पर्धा हुने हुनेछ । उक्त घोडा दौडको च्याम्पियनले नगद ५० हजार र दोश्रो र तेश्रो हुनेलाई क्रमशः २५ हजार र १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र दिईने छ । 
मुक्तिनाथ यार्तुङ मेलामा यसअघिको वर्षझै तारा खेल प्रतियोगिता र सेभेन ए साईड फुटबल प्रतियोगिता संञ्चालन हुनेछ । तारा खेल प्रतियोगिताको च्याम्पियनले नगद ७० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छ । दाश्रो र तेश्रो हुने टिमले क्रमशः नगद ३५ हजार र २० हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै यार्तुङ मेला सेभेन ए साईड फुटबलको च्याम्पियन हुने टोलीले नगद ६० हजारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ । उपविजता टोलीले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउने छ । 
यार्तुङ मेलाको दौरानमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुद्वारा साँझ सांस्कृतिक कार्यक्रम हुनेछ । यार्तुङको अन्तिम दिन भदौ ३ गते डिजे तेन्जिङको डान्सपार्टी आयोजना हुने क्लवले उल्लेख गरेको छ । मुक्तिनाथ यार्तुङ मेलाको मिडिया प्रचार÷प्रसारका साथै खेलकुद प्रतियोगिता तथा कन्सर्टको प्रत्यक्ष प्रशारण गर्ने जिम्मा ई मुस्ताङ न्युज डटकमले पाएको छ ।  
जनप्रिय युवाक्लवले मुक्तिनाथ यार्तुङ मेलाको अवलोकन तथा जिल्लाका खेलाडी तथा खेलप्रेमीहरुलाई मुक्तिनाथमा आउन समेत अनुरोध गरेको छ । कलासंस्कृतिक र हिमाली जिल्लाको मौलिकतालाई जिवन्त राख्दै पर्यटन विकासमा जोड दिने क्लवको मुख्य लक्ष्य रहेको क्लवका पूर्व अध्यक्ष सुरज गुरुङको भनाई छ ।


प्रतिक्रिया