मुस्ताङको मार्फा सामग्रीमा मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भिर घाईते


जोमसोम— मुस्ताङको घरपझोङ—२ मार्फा सामग्री नजिक शनिबार साँझ  मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन । मुस्ताङको जोमसोमबाट म्याग्दीतर्फ जाँदै गरेको  ग ७ प १५०२ नम्बरको पल्सर मोटरसाईकल उक्त स्थानमा दुर्घटना  भएको हो ।

दुर्घटनामा  म्याग्दी जिल्ला मालिका गाउँपालिका—२ रुमा गाउँ भई हाल घरपझोङ—४ जोमसोम बस्ने चालक १७ वर्षीय सुजन पुनमगर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी उक्त मोटरसाईकलमा  सवार अर्को एक जना पनि सामान्य घाईते भएको प्रहरीले बताएको छ ।  घरपझोङ—४ जोमसोम काठेपुल बस्ने १६ वर्षीय अर्जुन राई सामान्य घाईते भएका छन् ।

मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते सुजन पुनमगरले सवारी चालक अनुमपति पत्र बिना मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको र अचानक मोटर साईकलको सन्तुलन गुमाउन पुग्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गम्भिर घाईते मोटरसाईकल चालकको टाउको र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । यस्तै, सामान्य घाईत मोटरसाईकलमा सवार अर्का १६ वर्षीय अर्जुन राईको नाक र गालामा हल्का ददारिएको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो ।

यसअघि मोटरसाईकलका घाईते दुबैलाई प्रहरीले जोमसोम स्थित प्रादेशिक अस्पतालमा पु¥याएको थियो । त्यसपछि घाईते चालक पुनमगरलाई शनिबार रातिनै अस्पतालले पोखरा रिफर गरेको थियो । गम्भिर घाईते चालकलाई जीप मार्फत पोखरा पठाईएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

मोटरसाईकल चालक पुनमगरलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा (गण्डकी अस्पताल)मा आईसीयुमा राखेर उपचार भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो । 

मोटरसाईकल भने जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया