लाङ्क्यु खोला गहिराउँदै थासाङ गाउँपालिका

जोमसोम ।

यहाँको थासाङ गाउँपालिका—२ स्थित लार्जुङ गाउँ बाढीको जोखिममा छ । यहाँको (कोवाङ—लार्जुङ) लाङ्रक्यु खोलामा पटक÷पटक बाढी आउँदा त्यहाँ रहेका करिव डेढ दर्जन घरधुरी उच्च जोखिममा परेका हुन् । जलवायु परिवर्तनका कारण तापक्रम बढेसंगै धौलागिरि आईसफल पग्लिएर लाङ्क्यु ठाँडो खोलामा गेग्रानसहितको बाढी आउने क्रम चलिरहेको छ ।

त्यसो त यहाँका लाङ्क्यु ठाँडो खोलाको बाहवले त्यहाँको लार्जुङ वस्तीलाई बर्सेनि बर्खायामको मनसुन समय सताई रहने गरेको छ । जारी मनसुनको १६ असार र ७ साउनमा यहाँको लाङ्क्यु खोलाको बाहव उच्च हुँदा त्यहाँका स्थानीयबासी बाढी जोखिमका कारण ढुक्कले बस्न पाएनन् । कुनै बेला ठाँडो खोलाको बाढीले वस्ती बगाईदिने चिन्ताले लार्जुङबासीको मनमा त्रासदी छाँयो । यहाँ प्रशासन ।सुरक्षा निकाय,जनप्रतिनिधि र थासाङ गाउँपालिकाले बस्ती बचाउन मध्यराती सम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलायो । तर, अझै पनि त्यहाँ लार्जुङ वस्तीको जोखिम कायमै रहेकाले बुधबारदेखि खोलालाई नियन्त्रणमा लिन थासाङ गाउँपालिकाले थप अग्रसरता देखाएको छ ।

 त्यहाँको कोवाङ—लार्जुङ बिचको लाङ्क्यु खोलामा बाढीसंगै ढुंगा,गिट्टी ,बालुवा र ग्रेगान भरिदै जान थालेपछि त्यहाँको नदी उकास वृद्धि हुँदा वस्ती जोखिममा परेको थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो । ‘लाङ्क्यु खोलाको करिव तीन सय मिटर भन्दा बढी दुरीमा नदीजन्य गेग्रानहरु भरिदा त्यहाँको लार्जुङ वस्ती उच्च जोखिममा प¥यो, मनसुन अझै कायमै रहेकाले कुनै पनि बेला विपद्जन्य घटना हुनसक्ने हाम्रो आकंलन रह्यो,’ प्रशासकीय अधिकृत परियारले थप्नुभयो,‘ खोलालाई साविककै अवस्थामा बग्नदिन नदी उकास घटाउनु पर्ने देखियो,यसैले गाउउँपालिकाले नै अपनत्व लिएर त्यहाँ खोलामा ढुंगा,गिट्टी,बालुवा र ग्रेगान पन्छ्याउन सुरु गरेका हौ ।’’

थासाङ गाउँपालिकाले त्यहाँको लाङ्क्यु खोलामा वस्ती जोगाउन करिव तीनसय मिटर दुरीमा डोजर भाडामा लिएर नदी जन्य उकास घटाएर खोलाको गहिराई बढाउने कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत परियारले बताउँनुभयो । उहाँका अनुसार कोवाङ—लार्जुङ जोड्ने पुलबाट कालिगण्डकी नदीको दोभानसम्म दुई सय मिटर र उक्त पुलबाट माथिल्लो भागको करिव एक सय मिटर दुरीमा भरिएको ग्रेगान पन्छ्याउन गाउँपालिका कार्यालय लागिपरेकोउल्लेख गर्नुभयो। दुईदिनसम्ममा करिव आधा भन्दा बढी ग्रेगान पन्छ्याउने काम भएको र अझै गेग्रान पन्छ्याउन केही दिन लाग्नसक्ने उहाँले उल्लेख गर्नुभयो । 

 त्यहाँको लाङ्क्यु खोलामा अवस्थित पुरानो झोलुङे पुल समेत बाढी आउँदा बस्ती जोखिम महशुस गरिएकाले हटाईएको छ । यसैगरी नदी उकाससंगै त्यहाँ बाढी आउँदा त्यहाँ अवस्थित पक्की पुल माथिबाट खोला बग्ने गरेको थासाङ गाउँपालिकाका वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । मनसुन कायमै रहेकाले त्यहाँका पुल पनि बगाउन सक्ने जोखिम रहेको वडाध्यक्ष शेरचनको भनाई छ ।

 तत्कालका लागि संम्भावित बाढीको जोखिम न्यूनिकरण गर्न गाउँपालिका मार्फत डोजर परिचालन गरेर लाङ्क्यु खोलाको सतहलाई तल गर्ने कार्य भईरहेको वडाध्यक्ष शेरचनले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया