मुस्ताङमा ८ सय ९४ केजी अवैंध शालिग्राम बरामद


जोमसोम—   मुस्ताङमा ठृलो परिमाणमा अवैंध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ स्थित ईलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम शीला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग ३ च ८१५२ नम्बरको बोलेरो जीपलाई शंका लागि चेकजाँच गर्दा अवैंध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड—५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैंध रुपमा लुकाई छिपाई शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाई छ । अवैंध रुपमा ल्याउँदै गरेको शालीग्रामसहित जीप ,चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यता एक्याप जोमसोमले शालिग्राम शीलासहित जीप,चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाईसकेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो ।


 मुस्ताङको दामोदरकुुण्ड हुँदै कालिगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दु धर्मशास्त्रमा बिष्णु भगवानको प्रतिकको रुपमा पुज्ने गरिन्छ । ब्यवासायिक रुपमा ठुलो परिमाणमा शालिग्राम ओसोर पोसार गर्ने विरुद्ध मुस्ताङ प्रशासन,प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । तर, व्यक्तिगत रुपमा फुटकर शालिग्राम शीला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन,प्रहरी र एक्यापले छुट दिएको छ । 

 मुस्ताङमा सडक सञ्जालको विकाससंगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ । तर, मुस्ताङमा आउने बार्षिक ५ लाख भक्तजनले एक÷एक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठुलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ ।

मुस्ताङको कागबेनी,मुक्तिनाथ, जोमसोम लगायतका स्थानमा फुटकर व्यवसायीहरुले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । मुस्ताङमा पर्यटक आगमन बढेसंगै शालिग्राम संरक्षणको बिषय निकै चुनौति बनेको छ ।


प्रतिक्रिया