जोमसोम— ‘मौलिक संस्कृति र पर्यावरण बचाऔं, वातावरण प्रदुषण घटाऔं, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरौं’ भन्ने उद्घोषसहित मुस्ताङ जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानहरुको बृहत्त सरसफाई तथा जनचेतनमूलक ५ दिने अभियान शनिबार सकिएको छ । जिल्ला समन्वय समिति मुस्ताङको अगुवाईमा मुस्ताङका ५ पालिकाले संयुक्त रुपमा आयोजना गरेको मुस्ताङ जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको बृहत्त सरसफाई कार्यक्रम आज पाँचौं दिन शनिबार म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा पुगेर समापन भएको हो ।
यसअघि मुस्ताङको उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको (नेपाल—चीनं) कोरलानाकाबाट मुस्ताङ जिल्ला स्थित धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बृहत्त सरसफाई तथा जनचेतनामूलक अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत जिसस मुस्ताङसहित मुस्ताङका पाँचै वटा गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष लगायतका जनप्रतिनिधि एवं कर्मचारीहरुको ंसंयक्त उपस्थितीमा (नेपाल—चीन) उत्तरी कोरलानाकादेखि म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीरसम्मको दुरीमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरुको बृहत्त सरसफाई तथा जनचेतनामूलक अभियान सम्पन्न भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो ।
मुस्ताङ जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको पूर्ण सरसफाई तथा जनचेतनामूलक अभियान मार्फत जिल्लामा भित्रिने पर्यटक तथा पर्यटन व्यवसायी तथा आमसरोकारवाहरुलाई फोहोरमैला व्यवस्थापन सम्वन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको अगुवाईमा जिल्लाका ५ वटै पालिकाहरुले आपसमा समन्वय र सहकार्य गरी फोहोरमैला व्यवस्थापन कार्यमा जुटेको अध्यक्ष गौचनको भनाई छ ।
जिल्लामा फोहोरमैला व्यवस्थापन गरी नागरिक तथा पर्यटकलाई सूसुचित गराउँदै वातावररण प्रदुषण घटाउने र यसका माध्यमबाट जलवायु संकट मोचनका लागि अनुकुलनका उपाय अवलम्वन गर्ने उद्देश्य सुरु भएको यसप्रकार अभियानमा मुस्ताङका जनप्रतिनिधिहरुले उत्साहजनक सहभागीता जनाएका थिए । नेपाल—चीन) सीमानाका कोरलादेखि सुरु भएको फोहोर व्यवस्थापन अभियान न्हेचुङ भन्सार, झोङ गुफा, ठिङ्गर ,लोमान्थाङ, लोघेकर गुम्बा, लुरी गुम्बा, छुसाङ, कागबेनी श्राद्धस्थल हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथक्षेत्रको बृहत्त सरसफाई गरिएको छ ।
यसैगरी अभियान अन्तर्गत ढुम्बाताल,जोमसोम,मार्फा, टुकुचे, कोवाङ, सेकुङ ताल, लेते हुँदै म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसासम्मको १४५ किमी दुरीमा बृहत्त सरसफाई गरिएको हो ।
मुस्ताङ सरसफाई अभियान कार्यक्रममा मुस्ताङका जनप्रतिनिधि एवं कर्मचारीहरुको संयुक्त टोलीले जिल्लाका ५ वटै तहका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा गरी झन्डै १० ट्याक्टर भन्दा बढी फोहोर संकलन गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो ।‘हाम्रो अभियान अन्तर्गत ५ वटै तहमा फोहोर उठाएर सम्वन्धित पालिकामै संकलन गरेर राखेका छौं, अध्यक्ष बिष्टले भन्नुभयो’, अब संकलन भईसकेको नकुहिने फोहोरहरुलाई जोमसोम ल्याई पु¥याएर ,प्रशोधन केन्द्रमा पठाउने काम गर्नेछौं ।’
फोहोर मैला व्यवस्थापनका लागि जुटेको सरसफाई अभियान समापन कार्यक्रममा मुस्ताङका जनप्रतिनिधिहरुले जलवायु परिवर्तनको असरले हिमाली जिल्लामा परेको प्रत्यक्ष तथा अप्रत्य प्रभावहरुको बिषयमा चिन्ता व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले जलवायु परिवर्तनको प्रभावले सेताम्मे हिमाल कालापत्थरमा परिणत भएको र यसले वातावरण सन्तुलनमा समेत क्षति पुगेको उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदा र हिमालहरुको सौन्दर्यता जोगाउनसकेमा मात्रै पर्यटनक्षेत्रको विकास हुने भएकाले प्रदुषण घटाउन र सौन्दर्यता बचाउन सरसफाई अभियानमा हातेमालो गर्दै यसप्रकारको सरसफाई अभियानलाई प्राथमिकता दिएको जिसस प्रमुख गुरुङले जनाउँनुभयो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले फोहोरमैला व्यवस्थापनका लागि आ—आफ्नो पालिकाले वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।‘यो अभियान सुरु भएर समापन भएपनि सरसफाई अभियान कहिल्यै अन्त्य हुँदैन’, अध्यक्ष गुरुङले भन्नुभयो’, ‘ यसप्रति सबै सरोकारवाहरुले सामुहिक एक्येवद्धता जनाउँन आवश्यक देखिन्छ ।’
वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले फोहोर मैला व्यवस्थापनका लागि स्थानीय तहलाई सविधानले अधिकार प्रत्यायोजन गरेकाले स्थानीय तहले अपनत्व लिएर सरसफाई अभियानलाई पूर्णता दिनुपर्ने बताउँनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङका स्थानीय तह र जिसस मुस्ताङको यसप्रकारको बृहत्त सरसफाई अभियानले असल अभ्यासका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताउँनुभयो । ‘मुस्ताङका पालिकाहरुको मेलमिलाप,ऐक्येवद्धता,मित्रता भएको देखिन्छ’ प्रजिअ भुसालले भन्नुभयो,‘ यो महत्वपूर्ण वातावरण बचाउँ अभियानले नेपालका ७५३ वटै स्थानीय तहका लागि असल अभ्यास सिको गर्ने सन्देश प्रवाह भएको छ ।’