थासाङमा प्राकृतिक गाँजाका बोट नष्ट गर्दै प्रहरी

जोमसोम ।

मुस्ताङको थासाङ गाउँपालिकामा प्रहरीले गाँजाको बोट नष्ट गर्ने अभियान चलाएको छ । त्यहाँको पाँचै वडाहरुमा भदौको ७ गतेदेखि प्राकृतिक रुपमा उम्रिएका अनाधिकृत गाँजाको बोट नष्ट गर्ने अभियान चलाईएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको निर्देशनमा त्यहाँको थासाङ गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा मातहतमा सुरक्षा युनिटहरुले आपसी सहकार्य गरी प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान सुरु गरिएको हो । त्यहाँको थासाङ गाउँपालिकाका विभिन्न स्थानका सार्वजनिक स्थान,खाली चौर,जंगल,झाडी ,वस्ती र खोल्साखोल्सीहरमा अनाधिकृत रुपमा आफै प्राकृतिक तवरले गाँजाको बोट उ्िरम्रने गरेको छ । यहाँ उम्रिने प्राकृतिक गाँजाको सेवनले समाजमा विकृति फैलाउने र युवाहरु कुलतमा फस्नसक्ने संम्भावना रहेकाले प्रहरीले थासाङ क्षेत्रमा गाँजाको बोट नष्ट गर्ने अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिनुभयो ।

मुस्ताङको तल्लो क्षेत्रमा प्राकृतिक रुपमा गाँजाको बोट उम्रिने गरेकाले यसलाई नियन्त्रण गर्न सुरु गरिएको प्रहरी निरीक्षक खत्रीको भनाई छ । उहाँले भदौको ७ गतेदेखि भदौ १४ गतेसम्ममा थासाङका पाँचै वडाहरुमा गरी सात हजार १०० बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिनुभयो ।

यहाँको ईलाका प्रहरी कार्यालय लेते, प्रहरी चौकी घाँसा र कोवाङका सुरक्षाकर्मीले गाँजाको बोट नष्ट गर्ने अभियानमा जुटेका प्रहरी निरीक्षक खत्रीको भनाई छ । उहाँका अनुसार थासाङको लेते,घाँसा,टिटी,कुञ्जो र कोवाङ लगायतका क्षेत्रहरुमा भदौ ७ गते एघार सय बोट, भदौ ९ गते एक हजार चार सय बोट, भदौ १० गते आठ सय पचास बोट, भदौं ११ गते एक हजार तीन सय बोट, भदौं १२ गते एक हजार पाँच सय पचास बोट र भदौं १४ गते नौ सय बोट प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटहरु नष्ट गरिएको हो ।———



प्रतिक्रिया