मुस्ताङमा फल्यो एक अर्व बढीको स्याउ

जोमसोम ।

यसवर्ष हिमाली जिल्ला मुस्ताङमा एक अर्व १० करोड ३६ लाख बराबरको स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । जिल्लाका पाँच स्थानीय तहमा करिव  सात हजार ६३६ मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त उक्त लागतको स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रको भनाई छ ।

 कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैचा अनुगमन तथा स्याउको क्रप कटिङ , सम्वन्धि स्थानीय तहका कृषि शाखा र यहाँका किसानहरुसंग गरिएको सोधपोछ लगायतबाट उक्त परिमाणमा स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले उल्लेख गर्नुभयो ।

 जिल्लामा उत्पादन भएको ८० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी भएको भएको छ ।यस्तै, कुल स्याउ उत्पादनको १० प्रतिशत स्याउ जिल्लामा खपत भएको र १० प्रतिशत स्याउ हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाई छ । यसवर्ष छ हजार १०८ मेट्रिक टन बढी स्याउ जिल्ला बाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार रुपैया मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताउँनुभयो । यसैगरी यसवर्ष उत्पादन भएको ७६३ मेट्रिक टन अर्थात १० प्रतिशत स्याउ जिल्लामै खपत हुँदा एघार करोड २ लाख ३० हजार बराबरको स्याउ बिक्री वितरण भएको छ । यसैगरी यहाँ करिव ७६३ मेट्रिक टन स्याउ हार्भेस्ट गर्ने क्रममा रहेको केन्द्र प्रमुख गुरुङले खुलाउँनुभयो ।

 यहाँ कुल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्चघनत्वको हाईब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिक टन र हाईब्रिड स्याउ एक हजार ५६७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।  यहाँ स्थानीय स्याउ ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाईब्रिडतर्फ ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा समग्रतामा  स्थानीय स्याउ प्रति केजी १३० रुपैया र हाईब्रिड स्याउ प्रति केजी २०० रुपैयामा बिक्री वितरण भएको हो ।

यसवर्ष स्थानीय स्याउ प्रति हेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिक टन र हाईब्रिड स्याउको प्रति हेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिक टनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रति हेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिक टन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व घटेको छ । 

यसैगरी गतवर्ष उच्चघनत्वको हाईब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिन टनले उत्पादन भएकोमा यसवर्ष प्रति हेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाईब्रिड गरी समग्रतामा प्रति हेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ ।

 गतवर्ष मुस्ताङमा  सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन हुँदा  ९१ करोड ८६ लाख ७२ हजार रुपैया बराबरको स्याउ उत्पादन भएको थियो । जसमध्ये ८२ करोड ६८ लाख बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । यसवर्ष स्याउ उत्पादन १९ दशमलव ९८ प्रतिशतले वृद्धि हुँदा १८ करोड ३६ लाख बराबरको स्याउ बढी फलेको हो ।

यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आशिंक ह्रास आएको देखिएपनि माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले जनाउँनुभयो ।

यसवर्ष स्याउ उत्पादनशिल क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादनदर वृृद्धि भएको देखिएको छ । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशिल क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष  ५० हेक्टर क्षेत्रफलमा उच्चघनत्वको हाईब्रिड स्याउ उत्पादनशिल क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।


प्रतिक्रिया