जोमसोम—मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहितको कर्मचारी टोली उपल्लो मुस्ताङमा सीमापार पास वितरण गरेको छ । चीन जाने (नेचुङ—लिजी) कोरलानाकाका लागि मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले ५९८ जना नागरिकलाई शुक्रबार र शनिबारका दिन प्रस्थान अनुमतीपत्र सीमापार पास वितरण गरेका हुन् ।
प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि गत कार्तिक २७ गते औपचारिक रुपमा नेपाल—चीन कोरलानाका खुल्ला भएको हो । त्यसअघि गृह मन्त्रालयको नमूना ढाँचामा जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमाथाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकहरुलाई प्रस्थान अनुमतीपत्र सीमापार पास वितरण गरेको थियो । त्यससमय जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ गाउँपालिकामा ५७७ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३८५ जना गरी ९६२ जनालाई प्रस्थान अनुमतीपत्र सीमापार पास वितरण गरेको थियो ।
हिउँदयामको मौसममा सीमानाका खुलाउन भएको र त्यसअघि सीमापार पास वितरण गरिएकाले उपल्लो मुस्ताङका धेरैजसो नागरिकले चीन जाने कोरलानाकाको पास पाउँन बञ्चित भएका थिए । हिउँदयामको समयमा चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरु जिल्लामा नहुँदा मुस्ताङ प्रशासनले सीमापार वितरण गर्न सकेको थिएन ।
हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसंगै उपल्लो मुस्ताङको पालिका र स्थानीय नागरिकहरुको माग अनुसार मुस्ताङ प्रशासनले दोश्रो चरणमा सीमापार पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । नेचुङ—लिजी कोरलानाकाका लागि प्रस्थान अनुमतीपत्र वितरणका लागि प्रजिअ पन्तसहितको टोली उपल्लो मुस्ताङ पुगेको थियो । टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालय चराङ र ईलाका प्रशासन कार्यालय लोमान्थाङबाट प्रस्थान अनुमतीपत्र पास वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी पन्तले लोघेकर दामोदरकुण्ड गाउँपालिकामा २४० जना र लोमान्थाङ गाउँपालिकामा २५८ जनालाई चीन जानका लागि सीमापार पास वितरण गरेका हुन् । योसंगै उपल्लो मुस्ताङमा पहिलो र दोश्रो चरण गरी १५ सय २० जनालाई सीमापार पास वितरण भईसकेको प्रजिअ पन्तले जानकारी दिए ।
पास वितरण गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ टोलीसहित ७ जनाको टोली उपल्लो मुस्ताङ पुगेको थियो । टोलीमा कम्प्यूटर अपरेटर २ जना,खरिदार १ जना,सुब्बा १ जना र १ जना कार्यालय सहयोगी खटिएका थिए ।
उपल्लो मुस्ताङका नागरिकका लागि नेपाल—चीन कोरलानाका यसपटक बाह्रै महिना खुल्ला गरिएको हो । त्यसअघि नेपाल —चीन कोरलानाका उपल्लो मुस्ताङीलाई बर्सेनि असार र भदौमा क्षणिक समयका लागि अप्लकालिन व्यापार मेला संञ्चालन गर्ने गरिन्थ्यो । कोरना कहरले लगातार ३ वर्षसम्म पुरै बन्द रहेको कोरलानाका यसैवर्षदेखि खुल्ला गरिएको हो । कोरलानाका बाह्रै महिना खुल्ला भएसंगै उपल्लो मुस्ताङी नागरिकलाई चिनको लिजी बजार पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गर्न सहयोग भएको हो । चीनको तिब्बती बजारमा पुगेर उपल्लो मुस्ताङीले खाद्यान्न,लत्ताकपडा,कस्मेटिक सामान,किराना सामाग्री र कृषि उपकरणहरु किनेर ल्याउन सजिलो भएको छ । उपल्लो मुस्ताङीले भने कृषि उत्पादन सामाग्री,पस्मिना र यार्सागुम्बा लगायतको ब्यापार गर्छन् ।
नेपाल—चीन कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ला भएसंगै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—२ छोसेरमा रहेको निस्कृय रहेको भन्सार कार्यालय पनि संञ्चालनमा छ । योनाकाबाट घरायसी प्रयोजन बाहेक व्यवसायिक हिसाबले चिनबाट सामान आयात गर्नेलाई भन्सार कार्यालयले राजश्व संकलन गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता