भाद्र—२५
मुस्ताङको जोमसोममा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । धौलागिरी बोडिङ स्कुलका पूर्व विद्यार्थी विपिन थकालीको आर्थिक सहयोगमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको हो ।
धौलागिरीका पूर्व विद्यार्थी थकाली खेलकुद क्षेत्रमा अभिरुची राख्ने भएकै कारण आफु पढेको विद्यालयमा खेलकुद कार्यक्रम गर्न ५ सय डलर विद्यालयलाई पठाएका थिए । विद्यालयले प्रतियोगितालाई विपन थकाली खेलकुद कार्यक्रम २०८१ को नाम दिएर प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल अनिरुद्ध गौतमले ई.मुस्ताङ न्युज डटकमलाई जानकारी दिए । खेलकुद प्रतियोगितामा छात्र÷छात्रा टेबुल टेनिस विधा पनि समेटिएको प्रिन्सिपल गौतमले उल्लेख गरे ।
धौलागिरी बोडिङ स्कुल जोमसोमको आयोजनामा फुटबलतर्फ कक्षा १० सम्म अध्ययन गर्ने ४ विद्यालयको सहभागी रहने खेल संयोजक आशिष चटौतले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन ७ विद्यालयलाई पत्रचार गरिएको भएपनि फुटबलतर्फ ४ र टेबुल टेनिसतर्फ २ विद्यालयको मात्र सहभागी रहने खेल संयोजक चटौतको भनाई छ ।
प्रतियोगिताको पूर्व तयारीका लागि मंगलबार बसेको सरोकारवाला बैठकले खेलकुद प्रतियोगिता ३ दिन खर्चिएर सम्पन्न गर्ने निर्णय गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई, घरपझोङ गाउँपालिका,पत्रकार महासंघ र विद्यालयका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले भदौ २७,२८ र २९ गते ३ दिनसम्म खेलकुद कार्यक्रम गर्ने कार्यतालिका तय भएको खेल संयोजक चटौतले जनाए । नकआउट चरणमा संञ्चालन हुने फुटबलतर्फको फाईनल प्रतिस्पर्धा धौलागिरी बोर्डिङ स्कुलको ३२ औं वार्षिकोत्सव समारोहको अवसर पारेर भदौ २९ गते आयोजना गर्ने तयारी गरिएको हो ।
फुटबलतर्फ आयोजक धौलागिरी बोर्डिङ स्कुल, जनहित स्कुल,जनआदर्श अमरसिंह माध्यमिक र नालान्दा बुद्धिस स्कुलका विद्यार्थीले सहभागी जनाउने छन् । प्रतियोगिताको फुटबलतर्फ भदौ २७ गते जनहित स्कुल र धौलागिरी बोर्डिङ स्कुलबिच पहिलो प्रतिस्पर्धा हुनेछ । दोश्रोदिन नालान्दा र जनआदर्श अमरसिंह स्कुलबिच प्रतिस्पर्धा हुनेछ । दुबै समुहको विजेताले उपाधिका लागि फाईनल प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी टेबुल टेनिस छात्र÷छात्रातर्फ जनहित र धौलागिरी बोर्डिङ स्कुलले मात्रै सहभागीता जनाउने भएका छन् । विद्यालय स्तरीय फुटबलको च्याम्पियनलाई नगद २५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेतालाई नगद १५ हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र दिईने छ ।
यस्तै छात्र ÷छात्रातर्फको टेबुल टेनिसमा प्रथम र दोश्रो हुने विद्यालयलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता