बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा गर्नुपर्ने सबै तयारी पुरा भईसकेको जनाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार र सोमबार निर्वाचनमा खटिने कर्मचारीलाई ५१ प्रकारका निर्वाचन सामाग्री जिम्मा लगाएसंगै मुस्ताङमा निर्वाचनको तयारी पुरा भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई प्रत्यक्ष र समानुपातिकतर्फको दुईथरी मतपत्रसहित निर्वाचन सामाग्री हस्तान्तरण गरेसंगै माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ लगायत ३९ वटै मतदान केन्द्रमा सोमबार कर्मचारीहरु मतदान केन्द्र कार्यस्थलतर्फ प्रस्थान गरिसकेका छन् । सोमबार साँझसम्म मुस्ताङका सबै मतदान केन्द्रमा मतदान कार्यक्रमका लागि खटिने सबै कर्मचारी कार्यस्थल पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुस्ताङ सदरमुकाम जोमसोमदेखि ५० किलोमिटर टाढाका मतदान केन्द्रमा खटिने कर्मचारी कार्यस्थलमा पुगिसकेको र त्यसभन्दा टाढा टाढाका मतदान केन्द्रमा खटिने कर्मचारी कार्यस्थलतर्फ जाँदै गरेको सहायक मतदान अधिकृत पौडेलको भनाई छ । मुस्ताङका सबै मतदान केन्द्रमा खटिने कर्मचारीलाई विशेष सुरक्षासहित निर्वाचन सामाग्री दिएर मतदान कार्यस्थलमा पठाईएको सहायक मतदान अधिकृत पौडेलले उल्लेख गर्नुभयो ।
निर्वाचनका लागि यहाँका ३९ वटै मतदान केन्द्रमा खटिएका मतदान अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरुले निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष,स्वच्छ र पारदर्शी रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा हुनसक्ने अवान्छित गतिविधि, मतदान केन्द्रमा मादक पदार्थ बिक्री वितरण, ओसार÷पोसार र सेवन ,हातहतियार निषेध लगायतका बिषयमा सार्वजनिक सूचना प्रकाशित गर्नेछन् । खटिएका कर्मचारीहरुले मतदान केन्द्रमा पुगेर महिला,पुरुष र अपाङ्ता र ज्येष्ठ नागरिकहरुले सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउन मतदान स्थलको निर्माण र सर्वदलिय बैठक लगायतको कार्यक्रम सञ्चालन हुनेछन् ।
मुस्ताङका ३९ वटै मतदान केन्द्रहरुमा सडकको पहुँच पुगेका लागि मतदान कार्यक्रम र निर्वाचन सुरक्षाका लागि कुनै असहज नहुँने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । यसैगरी सोमबार (आजै)देखि हिमपातले अवरुद्ध साङ्ता मतदान केन्द्रको सडक सूचारु भएकाले मतदान तथा मतपेटिका मुकाम ढुवानी गर्नमा समस्या नरहेको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।
मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रहरुमा २१६ जना मतदान अधिकृत ,सहायक मतदान अधिकृत ,सहायक कर्मचारी र सहयोगी कर्मचारीको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । जसमध्ये ६ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । ८ वटा मतदान केन्द्रमा महिला सहायक मतदान अधिकृत खटिएको निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउँनुभयो ।
यसैगरी मुस्ताङका एक अस्थायीसहित ४० मतदान केन्द्र मध्ये २ मतदान केन्द्रमा पुरै महिला कर्मचारी खटाईएको छ । यहाँको घरपझोङ—३ स्याङ स्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारमा खटिने कर्मचारी सबै महिला मात्रै रहेको छ ।
यसैगरी निर्वाचन सुरक्षाका लागि यहाँका एक अस्थायी र ३९ मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीबाट निर्वाचन प्रहरीसहित ५०१ जना र सशस्त्र प्रहरी बल नेपालबाट निर्वाचन प्रहरीसहित २०० भन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको छ । यसैगरी निर्वाचनका लागि नेपाली सेनाले बाहिरी घेरामा रहेको मतदान स्थलको सुरक्षा निगरानी गर्नेछ ।
बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान कार्यक्रममा सहभागी हुन बेसीमा जाडो छल्न झरेका मतदाताहरु धमाधम मुस्ताङ फर्किन थालेका छन् । हिउँदयामको जाडो छल्न बेसी झरेका ८० प्रतिशत मतदाता मध्ये ६० प्रतिशत मतदाता जिल्ला फर्किएको स्थानीय बताउँछन् । मतदानका लागि अझै दुईदिन बाँकी रहेकाले मतदाताहरु क्रमशः जिल्ला फर्किदै गरेको बताईएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली