लोमान्थाङमा बन्यो पाँच शैयाको, अस्पताल


जोमसोम— उत्तरी चीनको स्वाशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शैयाको आधारभूत अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारको एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साँढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो ।

 उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने गरी आ.व. २०७८÷०७९ को २४ जेठमा डाँफे—हरि—सन्त जेभी कन्ट्रक्सनसंग पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङ स्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकुल मौसम लगायतका कारण तोकिएको समय सम्पन्न हुन नसकेको हो । ठेक्का सम्झौता अनुसार आ.व. २०८०÷०८१ को २३ जेठमा सकिनु पर्ने थियो ।

 लोमान्थाङ—५ स्थित लोमान्थाङ बजारको तल करिव १ किलोमिटर दुरीको क्षेत्रमा आधारभूत सत्ताईस कोठे स्वास्थ्य पूर्वाधार भवन निर्माण सम्पन्न भएको हो । आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवन ७ करोड १९ लाख लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख बिकास केसीले जानकारी दिनुभयो । निमित्त प्रमुख केसीले  लोमान्थाङमा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवनमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष,एक्सरे कक्ष, ल्याव कक्ष,प्रसुती कक्ष ,फार्मेसी कक्ष लगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास कोठाहरु निर्माण भएको जानकारी दिनुभयो ।

 लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पु¥याउन आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । अध्यक्ष गुरुङले पूर्वाधार बनिसकेको भएपनि सेवा सञ्चालन ,उपकरण र जनशक्तिको व्यवस्थापनकार्य चुनौती भएको बताउँनुभयो ।  ‘आधारभूत स्वास्थ्य भवनको पूर्वाधार बन्यो,’ अब यसको सञ्चालन तथा व्यवस्थापनकार्यमा  संघीय तथा प्रादेशिक सरकारले सहयोग गर्नुपर्ने हुन्छ ।’ 


प्रतिक्रिया