जोमसोम—उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाका अब चरणवद्ध रुपमा कालोपत्र सडकले जोडिने भएको छ ।
जोमसोम —कोरला सडकलाई कालोपत्र सडकले जोड्ने दिर्घकालिन लक्ष्यसहित राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले पहिलो चरणमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका घमीसम्मको ५० किमी दुरीको ग्राभेल सडकमा कालोपत्र योजना अघि बढाएको छ । राष्ट्रिय गौरवका जोमसोम—कोरला ११० किमी ग्राभेल सडक मध्ये पहिलो चरणमा (कागबेनी—घमी)ग्राभेल सडकलाई कालोपत्र गर्ने गरी योजना अघि बढाईएको आयोजनाले जनाएको छ ।
भारतीय नाकाबन्दीपछि २०७३÷०७४ सालमा सुरु ठेक्का सम्झौता सुरु भई सडक स्तरोन्नतिकार्य सुरु गरिएको बेनी—जोमसोम—कोरला सडकको हालसम्मको समग्र भौतिक प्रगती ८२ प्रतिशत छ । जसमध्ये ५० किमी सडकमा कालोपत्र सडक समेत विस्तार भईसकेको छ ।बेनी—जोमसोम ७४ किमी ४ खण्डको सुरुवाती चरणमा ठेक्का भई सडक स्तरोन्नतिको काम भईरहेकोमा जोमसोम—कोरला सडकमा कालोपत्र नभई ग्राभेल सडकको योजना परेको थियो । जोमसोम—कोरला ७ खण्ड मध्ये ६ खण्डको ग्राभेल सडकको निर्माण कार्य सम्पन्न भईसकेका छ । चराङ—छोसेर २५ किमी सडक पनि अन्तिम चरणमा छ ।
जोमसोम—कोरला ७ खण्ड मध्ये २ वर्षअघि जोमसोम—कोरलाको पहिलो फेज जोमसोम —कागबेनी १३ खण्डमा कालोपत्र सडकको ठेक्का सम्झौता भएको थियो । अहिले त्यहाँ कालोपत्र सडकको काम भईरहेको छ । योसंगै चालु आर्थिक वर्षमा कोरलानाकासम्म कालोपत्र विस्तार गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत (बेनी—जोमसोम—कोरला)सडक आयोजनाले आगामी आर्थिक वर्षमा कागबेनी—घमी कालोपत्र गर्ने तयारी अघि बढाएको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठसहित जिम्मेवार मन्त्रालयका उच्चस्तरीय टोलीले कोरला सडकको अनुगमन तथा सहजीकरण गरेसंगै पहिलो चरणमा जोमसोम—कोरला सडकका लागि कागबेनी—घमी ५० किमी सडकमा कालोपत्र गर्ने योजना अघि बढेको आयोजना प्रमुख ध्रुव झाको भनाई छ ।
कोरला पहुँचमार्ग सडकलाई कालोपत्रमा लैजान कालोपत्र सडक स्तरोन्नतिकार्यका लागि अहिले फिल्डमा सर्वे डिजाईनको काम भईरहेको आयोजना प्रमुख झाले उल्लेख गरे । जलवायु परिवर्तनका कारण मुस्ताङमा बढी पानी पर्न थालेको र पुराना ग्राभेल सडकका संरचनालाई अफग्रेड गर्दै कालोपत्र गर्न डिजाईन सर्वे गर्नुपर्ने उनले बताए । ‘जोमसोम—कोरला अन्तर्गत पहिलो चरणमा हामीले कागबेनीदेखि घमी सडकमा कालापत्र गर्ने योजना अघि बढाईसकेका छौं,साविकका सडक संरचनाहरुको हेरफेर र परिमार्जन गर्नुपर्ने हुन्छ,’आयोजना प्रमुख झाले भने,‘ यसकै कारण अहिले त्यस स्थानमा डिजाईन परिमार्जन गर्नका लागि सर्वेको काम भएको हो, पुरानो डिजाईन अहिलको कालोपत्र सडकका लागि उपयुक्त हुदैन ।’
आयोजना प्रमुख झाले सरकारले कोरला सडकसम्मै कालोपत्र सडक विस्तार गर्ने गरी आवश्यक गृहकार्य भईरहेको जानकारी दिए । कागबेनी—घमीसम्मको ५० किमी दुरीमा डिजाईन परिमार्जनको काम अघि बढाईएको र योसगै आन्तरिक तयारी पुरा गर्न कोरलानाकासम्मकै लागि कालोपत्र गर्ने योजना मुताविक डिजाईन परिवर्तनको सर्वे भईरहेको आयोजना प्रमुख झाको उल्लेख गरे । उनले दुई चरणमा हुने कालापत्रेका लागि अलग÷अलग डिजाईन परिमार्जन सर्वेसंगसंगै प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन(आईई)को काम समेत अघि बढाइएको खुलाए ।
चालु आर्थिक वर्षमा कागबेनी—घमी सडकको सबै रिपोर्टहरु सम्वन्धित निकायमा पेश हुने र आगामी आर्थिक वर्षमा कालोपत्रेको ठेक्का आह्वान हुने आयोजना प्रमुख झाले बताए ।‘आईईको रिपोर्ट बन तथा वातावरण मन्त्रालयमा पेश भईसकेको छ, २÷३ महिनामा आईई स्वीकृत हुनेछ,’आयोजना प्रमुख झाले भने,‘ त्यसपछि डिजाईन सर्वेको रिपोर्टसंगै कालोपत्रको ठेक्का लगाउने मार्ग खुल्छ ।’ आयोजना प्रमुख झाले कागबेनी—घमी कालोपत्रको टुंगो लागेपछि फेरी घमी—कोरलासम्मको दोश्रो कालोपत्र प्रक्रियामा जानेछौं ।’ आयोजना प्रमुख झाले घमीसम्म कालोपत्र गर्ने भनीएपनि क्रमशः कोरलासम्मकै लागि कालोपत्र गर्ने लक्ष्य अनुरुप डिजाईन परिमार्जन सर्वेको आन्तरिक काम भईरहेको जनाए ।
बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको भीरकाँटेमा छोटो दुरीको सुरुङ मार्ग निर्माण गर्ने योजना अघि बढेको आयोजना प्रमुख झाले बताए ।‘ भीरकाँटेमा हालको सडकमा कालिगण्डकी कटानले सडकको स्पेस घटेको , त्यहाँ रककटिङ गरी सडक चौडा गर्न जोखिम हुने भएकाले सुरुङ मार्गको अवधारणा आएको हो,’आयोजना प्रमुख झाले थपे, सुरुङ मार्गको डिजाईन ड्रोईङ फाईनल भएपनि कन्ट्र्याक्टर मोडालिटी र स्रोत सुनिश्चितता हुन नसक्दा ठेक्का लगाउन सकिएन, आगामी आर्थिक वर्षमा त्यहाँ सुरुङ मार्गको ठेक्का लाग्छ ।’ आयोजना प्रमुख झाले भीरकाटेमा ३८४ मिटर लामो सुरुङमार्ग निर्माण गर्ने गरी योजना अघि बढेको जानकारी दिए ।
यसैगरी आगामी आर्थिक वर्षमा मुस्ताङको वारागुङ मुत्तिक्षेत्र—३ ताङ्वे खोला र म्याग्दीको अन्नपूर्ण गाउँपालिका तातोपानीमा नया आरसीसी पक्की पुलको ठेक्का लगाउने योजना रहेको आयोजना प्रमुख झाले जानकारी दिए । तातोपानीमा हालको अस्थायी बेलिब्रिज विस्थापित गरी पक्की पुल बनाउने गरी आवश्यक तयारी भईरहेको आयोजना प्रमुख झाको भनाई छ । पुलतर्फनै चालु आर्थिक वर्ष ठेक्का सम्झौता तोडिएका दुई वटा पुलको पनि आगामी आर्थिक वर्ष ठेक्का आह्वान हुने जनाईएको छ । चालु वर्ष ठेक्का तोडिएका मुस्ताङको थासाङ गाउँपालिका— ४ स्थित कैकु खोला र वडा —२ को लार्जुङ खोलामा निर्माणधिन आरसीसी पक्की पुलको थप कामका लागि नयाँ ठेक्का लगाईने गरी तयारी अघि बढेको आयोजना प्रमुख झाले उल्लेख गरे ।
१ असार २०८१, शनिवार ०९:११ मा प्रकाशित
570
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली