जोमसोम ।
हिमाली जिल्ला मनाङका याकचौरी तथा याकचौरीका पाठापाठी पैदल खेदाउँदै मंगलबार मुस्ताङ ल्याईएको छ । समून्द्री सतहको चार हजार २०० मिटर अग्लो उचाईमा अवस्थित मनाङको नार्पाभूमी गाउँपालिकाको नारगाउँको उच्चलेंक अवस्थित त्यहाँको याकचौरी छ दिनसम्म निरन्तर पैदल खेदाउँदै मुस्ताङ भित्र्याईएको हो ।
यहाँको थासाङ गाउँपालिका—१ टुकुचे गाउँका चार जना स्थानीय युवा मिलेर मुस्ताङमा संयुक्त रुपमा याकचौरी पालन व्यवसाय सुरु गर्ने उद्देश्यसहित मनाङको नार गाउँबाट ९६ वटा याकचौरी तथा पाठापाठी मुस्ताङ ल्याई पु¥याएका हुन् ।
यहाँका स्थानीय अमरसिंह शेर्पा लगायत चार जनाको समुहले मनाङ र मुस्ताङको सिमाना थोरङपास छिचोल्दै मुस्ताङ ल्याई पु¥याएका छन् । मनाङको नार गाउँको विभिन्न गोठमा रहेका याकचौरी किनेर मुस्ताङ ल्याएको थासाङ—१ टुकुचेका स्थानीय अमरसिंह शेर्पाले जानकारी दिनुभयो । त्यहाँबाट ९६ वटा याकचौरी तथा पाठापाठीलाई ३६ लाख भन्दा बेसीमा किनेर यहाँ ल्याईएको बताउँनुभयो । यहाँ भित्र्याईएका याकचौरी मासुका लागि नभई याकचौरी पालन गर्ने मनसायले ल्याईएको उल्लेख गर्नुभयो ।
मनाङबाट मुस्ताङसम्म याकचौरी ल्याई पु¥याउँदा बाटोमा निकै दुःख र सास्ती व्यवहोर्नु परेको स्थानीय शेर्पाले सुनाउँनुभयो ।‘ याकचौरी पालन गर्ने मनसायले मनाङको नार गाउँमा याकचौरी खोज्न गयौं, त्यहाँका ३÷४ वटा गोठबाट याकचौरी तथा पाठापाठी किन्यौं,’ उहाँले भन्नुभयो,‘ त्यहाँबाट पैदल हिडाएर यहाँसम्म ल्याउन निकै कठिन हुँदो रहेछ, आज सातौदिनमा याकचौरी लिएर घरमा पुग्यौं ।’’
यहाँ ल्याईएका याकचौरी थासाङको बतासे लेंकमा पु¥याएर व्यवसायिक रुपमा पालन गर्ने योजना रहेको शेर्पाले उल्लेख गर्नुभयो । त्यसो त उपल्लो डोल्पाबाट पनि मुस्ताङमा याकचौरी बिक्रीका लागि ल्याउने गरिएको छ । यहाँ ल्याईने याक पाल्नका लागि नभई मासुका लागि ल्याईने गरिएको छ । हिमाली जिल्लाको उच्चलेंकमा पालन गरिने यसप्रकारका याकचौरीले हिमाली जटिबुटी खाने भएकाले याकचौरीको मासु स्वादिलो र स्वास्थ्यवद्र्धन मानिने गर्छ । मुस्ताङको पाँच वटै पालिकामा स्थानीय किसानले याकचौरी पालन गर्ने गर्छन । यहाँ सबैभन्दा धेरै थासाङ गाउँपालिकामा याकचौरी पालन गरिएको छ । त्यसपछि उपल्लो मुस्ताङमा पनि केहीले याकचौरी पाल्ने गरेका छन् ।
याकचौरी पालन व्यवसाय यहाँको सदिंयौदेखिको मौलिक संस्कृति र परम्परा पनि हो । पछिल्लो समय हिमाली क्षेत्रको याकचौरी पालन संस्कृति लोपोन्मुख अवस्थामा रहँदा यहाँका युवाहरुले यसप्रकार व्यवसाय सुरु गर्नु निकै सकारात्मक पक्ष रहेको थासाङका याकचौरी पालक सोजन हिराचनले जनाउँनुभयो । उहाँले भन्नुभयो,‘ यो याकचौरी पालन व्यवसायनै पछिल्लो समयमा संकटमा पर्न थालेको छ, जलवायु परिवर्तनको असर र वन्यजन्तुको जोखिमले याकचौरी पालन व्यवसाय अघि बढाउँन निकै चुनौतीनै छ,यसै बिचमा यहाँका युवापंक्तिले सुरु गर्न थालेको यो व्यवसायले केही मात्रामा याकचौरी पालकमा उर्जा थपिने निश्चित छ ।’
यहाँ पालन गरिएका याकचौरीलाई हिउँद र बर्खा गरी मौसम अनुसार घुम्ती गोठ खडा गरी पालन गर्ने गरिएको छ । हिउँदमा बस्ती नजिक र बर्खायाममा उच्चलेंकको चरनक्षेत्र लगिन्छ । याकचौरीको दुधबाट दही,मही,घ्यु,छुर्पी र चिज आदी परिकार बनाएर बिक्री गर्ने गरिन्छ । बर्सेनि दुई पटक याकचौरीको आलो रगत निकाले यहाँका पशुपालक किसानले अतिरिक्त आम्दानी लिने गर्छन ।
याकचौरीको पुच्छर समेत निकै महंगो मूल्यमा बिक्री हुन्छ । हिन्दु धर्मका अनुयायीहरुले याकचौरीको पुच्छरलाई पुजाकोठा र मठमन्दिरमा सजावट गर्ने प्रचलन छ । यहाँ एउँटै याकचौरीको पुच्छर पन्ध्र सय देखि दुई हजारसम्ममा बिक्री हुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली