मुस्ताङीको १०३ च्यांग्रासहित ३ व्यक्ति पोखराबाट बेपत्ता


जोमसोम— मुस्ताङीको १०३ च्यांग्रासहित ३ जना व्यक्ति पोखराबाट बेपत्ता भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ का स्थानीय ताक्ला गुरुङको १०३ वटा च्याङ्गा सहित मुना नाम गरेका व्यक्ति र उनका २ सहयोगी बिहिबार बिहान ४ बजे पोखराबाट एकाएक बेपत्ता भएका हुन् । खोजी गर्दा अहिलेसम्म फेला परेका छैनन् भने सम्पर्कमा पनि आएका छैनन् ।

 दशै पर्वका लागि मुस्ताङमा निजी कार चढेर च्यांग्रा ब्यापारका लागि च्यांग्रा खरिद गर्न  आएका मधेरी मुलको जस्तो हुलिया भएको मुख्य व्यक्ति मुना नाम गरेको र उनका सहयोगी २ जना सहयोगीले गुरुङको  च्यांग्रा पैसा नदिई कुलेलाम ठोकेको च्यांग्रा धनी ताक्ला गुरुङले बताए  । 

बुधबार मुस्ताङ आएका अपरिचत उनीहरुले च्यांग्रा खरिद गर्न भनेर चैले पुगेका थिए ।  बुधबार चैले पुगेका उनीहरुले ताक्ला गुरुङको च्यांग्रा गोठमा भएका १०३ वटा च्यांग्रा एक गठ्ठा प्रतिगोटा ३७ हजारमा मोलतोल गरे । च्यांग्राको पुरै भुक्तानी पोखरामा बुझाउने र च्यांग्रा धनी पनि साथै जाने निर्णय गरे । त्यसपछि  बुधबार साँझ चराङका स्थानीय किमी छोटेन गुरुङको ग १ ख ५१७४ नम्बरको ताक्ला गुरुङको १०३ वटा च्यांग्रा ट्रकमा लोड गरी पोखरा झारियो ।  च्यांग्रा खरिद गर्ने ब्यापारी बताउने मुना नाम गरेका व्यक्ति र उनका २ जना सहयोगीसंगै उनी पनि कारमा चढेर पोखरा झरे ।

 ट्रकमा लोड गरिएको च्यांग्रा पोखरा हेम्जा याम्दीमा मध्यराती पुग्यो । ट्रकमा भएको च्यांग्रा अनलोड गर्दा बिहिबार बिहानको ४ बजेको थियो । च्यांग्रा ब्यापारी मुनासहितको च्यांग्रा धनी पोखराको एक होटलमा बस्न पुगे । ट्रकमा राखेर च्यांग्रा तल झार्दा ८÷१० वटा च्यांग्रा निस्सासिएर मरेका थिए । ब्यापारी मुना र उनका सहकर्मी च्यांग्रा धनी ताक्ला गुरुङलाई होटलमै बस्न भनेर उनीहरु मरेको च्यांग्रा व्यवस्थित गर्न जान्छौं भनी त्यहाँबाट हिडे । त्यसपछि होटलमै उनीहरुलाई पर्खिएर बसेका च्यांग्रा धनी ताक्लाको पर्खाईको धैर्यता टुट्न थाल्यो । उनले विस्तारै आफु ठगिएको महशुस गर्न थाले । च्यांग्रा ठगीबाट ताक्लालाई  ३८ लाख ११ हजार रुपैया क्षति हुने देखिन्छ ।

 ‘पैसा पोखरा पुगेरै दिन्छु भनेको थियो, मलाई पनि संगै जाउ भने,च्यांग्रा धनी ताक्लाले भने,‘ पोखरा पुगेपछि मलाई होटलमा कुराएर उनीहरु सम्पर्कमा नआई बेपत्ता भए, उनीहरुले अर्को ट्रकमा लोड गरी च्यांग्रा लिएर भागेको हुनसक्छ ।’ 

मुस्ताङबाट ट्रकमा लोड गरेको भाडा उनीहरुले ट्रक धनीलाई बुझाएको ताक्लाको भनाई छ । 

पोखरा हेम्जा याम्दीमा अनलोड भएको च्यांग्रा अर्को ट्रकमा लोड गरेर सम्पर्कविहिन भएको हुनसक्ने ताक्ला गुरुङको अनुमान छ । भिआईपी च्यांग्रा ब्यापारी बनेर कार चढेर आएको र आफुले त्यसमा विश्वाश गर्दा ठगिन पुगेको ताक्लाले जनाए ।‘ हामीसितै तलै जाउँ तलै पैसा दिउँला भन्यो, ताक्लाले थपे,‘ उनीहरु सुकिला र स्टार्ड जस्ता देखिन्थे, त्यसको भ्रममा पर्दा मेहनतले दुख गरेर पालेको च्याग्रा योजनाबद्ध रुपमा लिएर बेपत्ता भईदिए ।’

 च्यांग्रासहित बेपत्ता भएका व्यक्तिहरुको खोजतलास गरी आफनो च्यांग्रा फिर्ता गराइीदन भन्दै बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित निवेदन दिन पुगे । जिल्ला प्रहरी कार्यालय कास्कीले यस सम्वन्धि बुझ्दा च्यांग्रा धनी ब्यक्ति  च्यांग्रा लिएर पैसा नदिई बेपत्ता भएको घटनाको विवरणसहित उजुरी दिन आएको जनाएको छ । जिल्ला प्रहरी कास्कीले उक्त उजुरीलाई ईलाका प्रहरी कार्यालय बगरमा फरवार्ड गरेको जनाएको छ ।

च्यांग्रा धनी ताक्लाले विगतका वर्षहरुमा च्यांग्रा गोठमै बिक्री गर्ने गरेको र पैसा जोमसोमबाट लिने गरेको बताए । तर, यसपटक उनीहरुको वास्तविक नियत बुझ्न नसक्दा आफु ठगिन पुगेको दुखेसो सुनाए ।

 लोघेकर दामोदरकुुण्ड १ चराङका स्थानीय किमी छोटेन गुरुङले मुना नाम गरेको व्यक्तिसहित ३ जना सहकर्मीले च्यांग्रासहित कुलेलाम ठोकेको भएको बताए । स्थानीय   किमी छोटेन च्यांग्रासहित बेपत्ता मुख्य व्यक्ति मुनाको फोटो समेत उपलब्ध गराएका छन् । ब्यापारीको छद्म भेषमा मुस्ताङमा च्यांग्रा खरिद गर्न आउनेहरुसंग मुस्ताङी च्यांग्रा धनीहरु चनाखो हुनुपर्ने सुझाए । च्यांग्रा बिक्री र यसको कारवार गर्दा सावधानी अपनाउन नसकेमा क्षति व्यवहोर्न पर्ने छोटेनको भनाई छ ।


प्रतिक्रिया