रास्वपा सरकारमा आए मुस्ताङीले नदेखेको विकास हुन्छ ः कार्यवाहक सभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा आएमा मुस्ताङीले नदेखेको विकास गरेर देखाउँने दावी गरेका छन् ।रास्वपाको  प्रथम जिल्ला भेलालाई आईतबार मुस्ताङको जोमसोममा सम्वोधन गर्दै कार्यवाहक सभापति अर्यालले यस्तो दावी गर्नुभएको हो ।

कार्यबाहक सभापति अर्यालले  तीन अर्व भन्दा बढी राजश्व संकलन गरिसकेको कोरलानाकामा सरकारले कुनै पनि पूर्वाधार निर्माण गर्न नसकेको उल्लेख गर्नुभयो। कोरलानाकामा हावाहुरी सहेर व्यापार व्यवसाय चलाएका र त्यहाँ पुग्ने पर्यटक तथा सुरक्षाकर्मीहरुका लागि शौचालय, खानेपानी र ओतलाग्ने टहरासम्म पनि निर्माण हुन नसक्नु बिडम्बनापूर्ण भएको कार्यवाहक सभापति अर्यालले टिप्पणी गर्नुभयो ।

‘नेपाल—चीन सीमाना कोरलानाकाको पारीपट्टी चिनियाँहरुको भव्य संरचना र नेपालतर्फ कुनै पूर्वाधार छैन,’कार्याबाहक सभापति अर्यालले भन्नुभयो,’ सरकारका मन्त्री र सचिव आउँछन,हेर्छन,जान्छन्, तर केही गर्न सकेका छैनन् ।’ कार्यवाहक सभापति अर्यालले कोरलानाकामा सरकारी उपस्थिती नहुने र त्यहाँ केही समाधानको बाटो ननिकाल्ने हो भने उनीहरुलाई त्यहाँ आएको अवस्थामा जनतालेनै खेदेर लखेट्नु पर्ने र उनीहरुको कार्यक्रमलाई बहिष्कार गर्नुपर्ने बताउँनुभयो ।

यहाँको कागबेनीदेखि लोमान्थाङ र कोरलानाकासम्म पर्यटकहरु जाने गरेको बताउँदै कार्यवाहक सभापति अर्यालले माथिल्लो मुस्ताङको पर्यटन प्रर्वद्धन र प्रचार÷प्रसारमा पर्यटनबोर्डले केही गर्न नसकेको आरोप लगाउँनुभयो । माथिल्लो मुस्ताङ जाने विदेशी पर्यटकहरुलाई सरकारले पदयात्रा राजश्व उठाउन गरेको भएपनि त्यो राजश्व मुस्ताङको विकासका लागि नभई भ्रष्टाचारीहरुलाई पोस्ने गरी केन्द्रमा पठाउने गरिएको बताउँनुभयो ।

 यहाँको कोरलानाका स्थित नेपाल—चीन सिमानालाई मुस्ताङीहरुले बिना बद्री रक्षा गरेर बसेकोमा धन्यवाद दिदै कार्यबाहक सभापति अर्यालले मुस्ताङको समृद्धि र विकास अनि सुशासनका लागि रास्वपालाई एक कार्यकाल परीक्षण गरेर हेर्नुपर्ने बताउँनुभयो ।‘रास्वपालाई एक कार्यकाल परीक्षण गर्नुहोला,जव रास्वपाले सरकार चलाउँछ, सरकार कस्तो हुन्छ, राज्य कसरी संञ्चालन गर्नुपर्छ, प्रधानमन्त्री कस्तो हुनुपर्छ र नेता कस्तो हुुनुपर्छ त्यो सबै काम रास्वपाले प्रमाणित गरेर देखाउँछ,‘उहाँले भन्नुभयो ।’

कार्यवाहक सभापति अर्याल भने,’ एक्यापले विकासका लागि हो वा जनताका लागि हो,अथवा एक्यापले पनि केन्द्रिय नेताहरुलाई पाल्न पठाउने गरेको?, त्यसको जवाफ जनतालाई दिनुपर्छ ।’ एक्यापले संरक्षित क्षेत्रका जनतालाई अनाहकमा दुःख दिईरहने गरेको कार्यवाहक सभापति अर्यालको भनाई छ । 

कार्यवाहक सभापति अर्यालले रास्वपा सभापति रवि लामिछानेलाई कारागारमा राखेर निर्वाचन गराउने प्रयास भए रास्वपाको जिल्ला जिल्लामा गठन भएका पार्टीपंक्ति सडकमा उत्रने बताउँनुभयो ।

यहाँ आयोजित रास्वपाको जिल्ला भेलामा विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्ने कार्यक्रम सम्पन्न भएको छ । रास्वपाले मुस्ताङमा पहिलो पटक जिल्ला भेलाको आयोजना गरेको हो ।

प्रतिक्रिया