मुस्ताङमा ‘साना होटल तथा लज व्यवस्थापन’ सम्वन्धि १० दिने तालिम सम्पन्न



जोमसोम— राउण्ड अन्नपूर्ण चर्किय पदमार्गमा सञ्चालित साना होटल तथा लज व्यवसायीहरुलाई होटल तथा लज व्यवस्थापन सम्वन्धि तालिम दिईएको छ । चर्किय पदमार्गमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि व्यवस्थित, भरपर्दो र विश्वसनीय सेवा प्रवाह गराउने उद्देश्यसहित होटल तथा लज व्यवस्थापन सम्वन्धि १० दिने तालिम सञ्चालन गरिएको हो ।

 युएसएआईडीको आर्थिक सहयोग, राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको  समन्वय,सहजीकरण र व्यवस्थापनमा नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले  साना होटल तथा लज व्यवस्थापन तालिम दिएको हो ।

तालिममा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गमा संञ्चालित ३९ वटा साना होटल तथा लज चलाएर बसेका होटल सञ्चालकहरुलाई होटल तथा लज व्यवस्थापन सम्वन्धि क्षमता विकास तालिम दिईएको छ । मुस्ताङको थासाङ गाउँपालिका—३ लेते स्थित धौलागिरी प्राविधिक शिक्षालयमा सम्पन्न तालिममा न्याथमका ४ जना प्रशिक्षकहरुले साना होटल तथा लज व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा सञ्चालित साना तथा लज सञ्चालकहरुलाई न्याथमका प्रशिक्षकहरु उमेश सुवेदी,सत्यनारायण शाह, अशोक उपाध्याय र श्रीराम तिमिल्सिना लगायतले होटल तथा लज व्यवस्थापन तालिम दिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । कार्यालय प्रमुख रेग्मीका अनुसार मुस्ताङमा होटल र लजहरुको व्यवस्थापनमा स्तरोन्नति तथा उनीहरुको क्षमता विकासमा योगदान पू¥याउन तालिमको आयोजना भएको बताए ।


धौलागिरी प्राविधिक शिक्षालय लेतेमा बुधबार सम्पन्न साना होटल तथा लज व्यवस्थापन सम्वन्धि १० दिने क्षमता अभिवृद्धि तालिममा  फ्रन्ट अफिस, हाउस किपिङ,फस्ट एड मेनेजमेन्ट,फोहोर मैला व्यवस्थापन,फुड एण्ड बिभे्रजेन र फुड प्रोडक्सन लगायत विविध विषय समेटिएको तालिम प्रदान गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले बताए । तालिममा फुड प्रोडक्सनतर्फ ८५ प्रकारका खाना परिकार बनाउने विधिको सिकाईका साथै अभ्यास तालिम दिएको उनले बताए ।

 मुस्ताङका साना होटल तथा लज चलाएर बसेका पर्यटन व्यवसायीहरुले व्यवसाय स्तरोन्नति तथा उनीहरुको क्षमता अभिवृद्धि तालिमको समापनमा न्याथमकी कार्यकारी निर्देशक संगिता ओझा र विभागीय प्रमुख अजयकुमार ढकाल उपस्थित थिए । १० दिने साना तथा लज व्यवस्थापन तालिमका प्रशिक्षार्थीहरुलाई पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले प्रमाणपत्र वितरण गरेका थिए । 

 पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली मुस्ताङमा सडक यातायात सहज भईरहेकाले यहाँको पर्यटन व्यवसाय चलायमान भएको बताए । उनले पर्यटकको आवागमन बर्सेनि वृद्धि भईरहेकाले पर्यटकको सेवा सुविधाका लागि यसप्रकारको तालिम निकै फलदायी हुने अपेक्षा गरे ।

 मुस्ताङका ५ स्थानीय तहमा ३२५ वटा होटल तथा लज संञ्चालनमा छन् । मुस्ताङको थासाङमा ४९,घरपझोङमा १६३,वारागुङ मुक्तिक्षेत्रमा ६३,लोघेकर दामोदरकुण्डमा ३० र लोमान्थाङ गाउँपालिकामा २० वटा होटल तथा लज सञ्चालनमा रहेको मुस्ताङ प्रहरीको तथ्यांकमा उल्लेख छ । मुस्ताङमा बर्सेनि १ लाख बढी विदेशी पर्यटक र ५ लाख बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको पाईएको छ ।



प्रतिक्रिया