डाईभर्सन नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

मुस्ताङ, १७ ,असोज ।

यहाँको लोघेकर दामोदरकुण्ड—२ घमी खोलामा सडक डाईभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भईसकेका सिनो हाईड्रो पावरको १८ वटा मालबाहक ट्रक तथा ट्रली मंगलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किन पुगेको छ ।

जोमसोम—कोरला सडक अन्तर्गत घमी खोलामा सडक डाईभर्सन नभएको र त्यहाँको अस्थायी कच्ची पुलले अत्याधिक भार थेग्न नसक्ने अवस्था रहँदा उक्त हाईड्रो पावरको उपकरण तथा निर्माण सामाग्री ढुवानी गरिएको मालबाहक १० पाङ्ग्रे ट्रक तथा ट्रली भन्सार कार्यालय परिसर न्हेचुङमै थन्किन पुगेको हो । 

त्यहाँ स्थित घमी खोलामा कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरु मुश्किलले तल झारिएको छ । तर, हेभी मालबाहक ट्रलीमा बढी वजन भएकाले त्यहाँको घमी खोलाको अस्थायी पुलले भार थेग्न नसक्ने अवस्था रहँदा सिनो हाईड्रोको मालबाहक ट्रली भन्सार कार्यालयमानै थन्किन पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । त्यहाँ सडक आयोजनाको पुल सम्पन्न नभएको र अस्थायी पुलले भार थेग्न नसक्ने भएकाले दसैंपछि ब्यवसायी र आयोजना मिलेर डाईभर्सन निर्माण गरी समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो । ‘हालको अस्थायी पुलबाट जोखिम हुने ठानेर सिनो हाईड्रोको मालबाहक ट्रली भन्सारमै रोकेर राखेका छौं, प्रजिअ भुसालले भन्नुभयो,‘ दसैपछि घमी खोलामा पुलको विकल्पमा वैकल्पिक सडक डाईभर्सन निर्माण गरी निकास दिन्छौं ।’

राष्ट्रिय गौरवको जोमसोम—कोरला सडकमार्ग अन्तर्गत अन्य स्थानमा सडकको अवस्था सामान्य रहेपनि त्यहाँको घमी खोलामा सडक डाईभर्सन नहुँदा चिनबाट निर्माण सामग्री तथा उपकरण आयात गरी ढुवानी गरिएको सिनो हाईड्रो पावर कम्पनी मनाङको १८ वटा ठुला मालबाहक ट्रली न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयमा सुरक्षित रुपमा राखिएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टका अनुसार कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपनि कोरला सडकको घमी खोलामा सडक डाईभर्सन नहुँदा चिनिया मालवस्तु ढुवानी गर्ने मालबाहक गाडीहरुलाई निकै समस्या परेको बताउँनुभयो। त्यहा स्थित निर्माणधिन घमी खोला पुल ठेकेरदारका कारण निर्माण सम्पन्न हुन ढिलाई भएको र त्यहाँ रहेको अस्थायी पुलले भार थेग्न नसक्ने अवस्था रहँदा ठुला मालबाहकहरुलाई गन्तब्यमा लैजान समस्या परेको हो । त्यहाँ ४÷५ घण्टा डोजर परिचालन गर्न सकेमा निर्माणधिन पुल माथिबाट नयाँं ट्र्याक खोल्न सकिने अवस्था रहेको अध्यक्ष बिष्टको भनाई छ । अध्यक्ष बिष्टले यसका लागि ब्यापारीहरुसंग समन्वय गरी घमी खोलामा डाईभर्सन निर्माण गर्न पहल भईरहेको जानकारी दिनुभयो ।

 यहाँको कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले सरकारले जतिसक्दो चाँडो सहज बनाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष बिष्टले औल्याउनु भयो । अध्यक्ष बिष्टले उत्तरी÷दक्षिण ब्यापारिक मार्गका लागि सरकारले कोरलानाकासम्म कालोपत्र विस्तार गर्न ढिलो गर्न नहुँने सुझाउँनुभयो । यहाँको नाका गण्डकी प्रदेशको मात्रै नभई समग्र नेपालकै आर्थिक विकासको मेरुदण्ड हुने भएकाले कोरला सडकलाई तिब्रता दिनुपर्ने अध्यक्ष बिष्टको भनाई छ ।

कोरलानाका जोड्ने घमी खोलामा  निर्माणधिन पुल ७ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । २०७५ सालमा  ६ करोड ८० लाख लागतमा  हिमढुङ ठोक्कर एण्ड ईमोटल जेभी कन्टक्सनले ठेक्का सम्झौता गरेको घमी खोला पुल निर्माण अहिले अलपत्र परेको छ । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जाना समेत लगाईसकेको भएपनि  पुल निर्माणमा अझै अघि बढ्न सकेको छैन । एक स्पानको घमी खोला पुल ४० मिटर रहेकोमा पछिल्लो भौतिक प्रगती ७५ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस०



प्रतिक्रिया