घरपझोङले किन्यो डोजर

हिमाली जिल्ला मुस्ताङको सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकाले एक्साभेटर (जेसीबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका आफैले डोजर खरिद गरेको हो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षीक स्वीकृत कार्यक्रम अनुसार घरपझोङ गाउँपालिकाले पैसठ्ठी लाख मुल्य बराबरको एक्साभेटर(जेसीबी) डोजर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । गाउँपालिकासंग उपकरण नहुँदा विपद् प्रतिकार्य तथा भौतिक निर्माणमा ठुलो खर्च हुने गरेकाले गाउँपालिकाले यसप्रकारका कार्यमा उपकरण परिचालन गर्दा लाग्ने खर्च घटाउन डोजर किन्नु परेको अध्यक्ष लालचनको भनाई छ ।

 बर्खायाममा नदी कटान,बाढी पहिरोका कारण भौतिक संरचना  क्षति हुने गरेको र हिउँदयाममा हिमपातका कारण सडक अवरुद्ध हुने  हुँदा गाउँपालिकाको आफ्नै डोजर  भएको अवस्थामा सबै कामहरु समयमै गर्नसकिने अध्यक्ष लालचनको भनाई छ । योसंगै मुस्ताङमा गाउँपालिका आफैले डोजर किन्ने घरपझोङ गाउँपालिका पहिलो बनेको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई भारत सरकारले अनुदान सहयोगमा डोजर उपहार दिएको थियो ।

घरपझोङ गाउँपालिकाको स्वामित्वमा रहेको प्रयोगविहीन खाली जमिन र प्रयोग भईरहेका जग्गाहरुमा स्याउ खेती गर्न तथा अन्य पूर्वाधार निर्माणमा सहयोग पुग्ने गरी डोजर व्यवस्थापन गरिएको र यसले निकै ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 यहाँको घरपझोङ गाउँपालिकाले खरिद गरेको एक थान एक्साभेटर (जेसीबी) डोजर बुधबार ट्रलीमा राखेर जोमसोम ल्याई पु¥याईएको छ । यसैगरी गाउँपालिकाको डोजर अपरेटरका लागि गाउँपालिकाका एक जना सवारी चालकलाई डोजर चलाउने तालिम लिन सम्वन्धित स्थानमा पठाएको छ । डोजर चलाउने अपरेटरका लागि मात्रे भनेर जनशक्ति व्यवस्थापन गर्दा खर्च बढी हुने भएकाले गाउँपालिकामै कार्यरत सवारी चालकलाई तालिमका लागि सम्वन्धित स्थानमा पठाईएको हो ।

 गाउँपालिका किनेको डोजरलाई कसरी संञ्चालन गर्ने भन्ने बिषयमा गाउँकार्यपालिकाले डोजर संञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएर प्रयोगमा ल्याउने तयारी गरेको जनाएको छ । गाउँपालिकामा रहेको डोजर कुनै व्यक्ति वा निर्माण व्यवसायीलाई आवश्यकता परेमा भाडामा दिने गरी कार्यविधि बनाईने र यसले गाउँपालिकाको आन्तरिक आम्दानीमा समेत सहयोग पुग्ने गाउँपालिकाको भनाई छ ।

 यसैगरी घरपझोङ गाउँपालिकाले पाचै वडाहरुमा संकलन हुने फोहोरलाई संकलन केन्द्रसम्म ल्याउने गरी तीन वटा विद्युतीय अटोरिक्सा खरिद गर्न लागेको अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । गाउँपालिका भित्रका व्यापारिक प्रतिष्ठान तथा व्यक्तिको घरहरुमा जम्मा हुँने जैविक तथा अजैविक फोहोरलाई बर्गीकरण गरी जोमसोम स्थित गाउँपालिकाको फोहोर संकलन केन्द्रसम्म ल्याउने गरी विद्युतीय अटोरिक्सा खरिद गर्ने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष लालचनले खरिद गरिने तीन वटा अटोरिक्सा एक साता भित्र आउने बताउँनुभयो ।

 गाउँपालिकाले दुई वर्ष अघि सिसाजन्य बियरका बोतलहरु खरिद  बिक्री गर्न रोक लगाएको छ । कार्वन उत्सर्जन घटाउन तथा वातावरणीय स्वच्छता कायम गरी पालिका भित्र हुने फोहोरलाई समुचित व्यवस्थापन गर्न अटोरिक्सा खरिद गर्न लागेको हो ।

 गाउँपालिकाका फोहोर संकलन केन्द्रमा जम्मा भएको सिसा र प्लाष्टिकजन्य फोहोरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ट्रकमा ढुवानी गरी पोखरा स्थित रिसाईकल सेन्टरमा पठाउने गरेको छ ।


प्रतिक्रिया