मुक्तिनाथमा चढाएको विदेशी मुद्रा प्रहरी कार्यालयलाई जिम्मा

जोमसोम—प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरको दानपेटिका बाकसमा चढाईएको विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङको जिम्मा लगाएको छ । मुक्तिनाथ विकास समितिद्वारा सोमबार गणना गरिएको विदेशी मुद्रा ८ लाख १५ हजार ८ सय भारतीय र २२ रुपैया डलर अमेरिकन सटही हुन नसक्दा जिल्ला प्रहरी कार्यालयमा लगेर थन्क्याईएको हो ।

मुक्तिनाथमा संकलन भएको विदेशी रकमको भेटी नेपालीमा कन्भर्ट गर्दा १३ लाख ८ हजार १४४ हुन्छ । यसैगरी सोमबार मुक्तिनाथको दानपेटिका बाकसमा संकलित भेटी रकम गणना गर्दा विदेशी मुद्राबाहेक नेपाली रुपैया ११ लाख ८९ हजार ७४५ रुपैया संकलन भएको हो । योसंगै नेपाली र विदेशी मुद्राको रकम जोड्दा  २४ लाख ९७ हजार ८८९ रुपैया संकलन भएको  मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्मा अर्यालले जानकारी दिए । संकलित रकम मध्ये विदेशी मुद्रा नेपाली १३ लाख ८ हजार १४४ रुपैया प्रहरीको जिम्मा दिईएको उनले उल्लेख गरे ।

यसअघि चालु वर्षको गत मंसिरमा मुक्तिनाथको भेटी गणना गर्दा नेपालसहित ११ देशका भक्तजनहरुले त्यहाँ राखिएको दानपेटिकामा ११ देशको भेटी चढाएका थिए । यो पटक नेपालीसहित भारत  र अमेरिकाको गरी ३ वटा देशको मात्र भेटी संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्मा अर्यालले जानकारी दिए । चालु वर्षको ६ महिना अघि मंसिरमा मुक्तिनाथको भेटी गणना गर्दा विदेशी मुद्रा ५ लाख ३४ हजार २४०, अमेरिकी डलर ७१९, अरबियन ३२५,  कोरियन वन १ हजार, बेलायती पाउण्ड १, भुटानी २०,  हङकङ डलर ३०, युरो १०, मेलेसियन रिंगेट २ र ओमानी रुपैया १ सय संकलन भएको थियो । उक्त रकम पनि सटही नहुँदा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जम्मा गरिएको थियो ।

गत मंसिरमा मुक्तिनाथको भेटी गणना गर्दा नेपाली रुपैया १० लाख ९५ हजार ८४० संकलन भएको थियो । मुक्तिनाथ विकास समितिले चालु वर्षको मंसिरमा गणना गरिएको  संकलित नेपाली रुपैया र पछिल्लो पटक संकलन भएको भेटी रकम प्रभु बैंक जोमसोमको खातामा जम्मा गरिएको सदस्य सचिव शर्मा अर्यालले बताए ।

मुक्तिनाथ विकास समितिको आम्दानी जिल्लाको ५ वटा वित्तिय संस्थामा मौज्याद छ । समितिको  कृषि विकास बैंकमा १ करोड ७९ लाख ६१ हजार, माछापुच्छ«े बैंकमा १७ हजार ५९१, सांग्रिला बैंकमा ३ करोड ५२ लाख १६ हजार,नेपाल बैंकमा ११ लाख ८४ हजार र प्रभु बैकमा मुद्यती र बचत गरी ३ करोड ७ लाख मौज्याद रहेको थियो । समितिको ५ वटै वित्तिय खातामा अघिल्लो पटक मुद्यती र बचत गरी ८ करोड ५० लाख ७८ हजार मौज्याद रहेको थियो ।  सोमबार गणना भएको संकलित नेपाली रकम ११ लाख ८९ हजार ७४५ जोड्दा हालसम्म ८ करोड ६२ लाख ६८ हजार मौज्याद देखिन्छ ।

मुक्तिनाथ विकास समिति अन्तर्गत मुक्तिनाथ मन्दिरमा एकजना पुजारी, एकजना रसिद काट्ने कर्मचारी र ३ जना सरसफाइकर्मी गरी ५ जना कर्मचारी छन् । त्यहाँ कार्यरत पुजारीसहित ५ जनाको कर्मचारीको तलब भत्तामा मुक्तिनाथ विकास समितिले मासिक ६४ हजारको अनुपातमा बर्सेनि ७ लाख ६८ हजार खर्च गर्ने गरेको छ । समितिले हालसम्म जम्मा गरेको भेटी रकम कर्मचारीको खर्च कटाएर बाँकी सबै रकम समितिको खातामा जम्मा गर्ने गरिएको छ ।

मुक्तिनाथ विकास समिति गठन भई कार्यसञ्चालन गरेको १६ वर्ष बितिसक्दा समेत मुक्तिनाथमा भक्तजनले चढाएको स्वेच्छिक भेटी कर्मचारीको तलबभत्ता बाहेक त्यहाँ भौतिक विकास खर्च हुन नसकेको हो । मुक्तिनाथमा त्यहाँ कार्यरत समितिका कर्मचारीले १ सय रुपैया भन्दा बढीको चन्दा रसिद काटेर जम्मा गर्ने गरिएको छ ।


प्रतिक्रिया