‘जलवायुको जोखिम वारागुङमा बढी छ’ : अध्यक्ष गुरुङ

जोमसोम ।।।  विश्वकै चिन्ताको बिषय बनेको जलवायु परिवर्तनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सबैभन्दा बढी जोखिम रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले बताउँनुभएको छ । शनिबार यहाँ आयोजित ‘‘दिगो हिमाली पर्यटनका लागि क्षेत्रीय सहकार्य ः नीति तथा ज्ञान आदान÷प्रदान’’ कार्यशाला गोष्ठिमा बोल्दै वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष गुरुङले जलवायु परिवर्तनको असरले आफ्नो गाउँपालिका बढी प्रभावित रहेको उल्लेख गर्नुभयो ।

 राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र  अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र संंयुक्त आयोजनामा भएको गोष्ठिमा वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष गुरुङले जलवायु संकट मुस्ताङका लागि चुनौतीको रुपमा देखा परेको जनाउँनुभयो । ‘यहाँका धेरैजसो वस्ती हरु नदीको तटीय क्षेत्रमा छन्, यहाँका नागरिकले जलवायुको जोखिम सामना गर्नुपर्ने अवस्था छ,’अध्यक्ष गुरुङले भन्नुभयो,‘ जलवायु संकट मोचन गर्न राज्यकोनै ऐन कानुनहरु बाधक बन्न पुगेको छ, यसले यहाँको जलवायु चुनौती ज्यूँका त्यूँनै छ ।’’

गोष्ठिमा स्मरण गर्दै अध्यक्ष गुरुङले वि.स. २०८० साल साउन २८ गते आएको भिषण बाढीले कागबेनी गाउँको भौतिक संरचना र भौतिक सम्पतीमा ठुलो क्षति पुगेको बताउँनुभयो ।  त्यसबेलाको जलवायु संकटको सामना गर्दै गाउँपालिकाले उद्दार,राहत र व्यवस्थापन लगायतको कार्य गरेको गोष्ठिमा बताउँनुभयो । त्यसबेला विभिन्न वडाहरुको बजेट कटौती गरी ४० लाख बजेट खर्चिएर कागबेनी व्यवस्थापनमा जुटेको अध्यक्ष गुरुङको भनाई छ ।

 अध्यक्ष गुरुङले कागबेनी बाढीको घटनापछि त्यहाँको गाउँलाई जलवायु जोखिम न्यूनिकरण गर्न अनुकुलनका मार्ग खोज्ने प्रयास भएपनि सार्थक हुन नसकेको जनाउँनुभयो । ‘हामीले कागखोलाको मापदण्ड पहिल्याउन नापी र मालपोतका प्रतिनिधिलाई यहाँ ल्याऔं, तर,स्पष्ट रुपमा खोलाको एकिन मापदण्ड पहिल्याउन सकिएन,’अध्यक्ष गुरुङले भने,‘ स्थानीय नागरिकहरुलाई खोलाको दायाँबायाँ २÷२ मिटर मापदण्ड जाड्न भन्यौं, उहाँहरुबाट छोड्ने मौखिक सहमति भयो, तर,कार्यान्वयन हुन सकेन ।’’

 जलवायु जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले कागबेनी वस्ती स्थान्तरण गर्ने पहल गरेपनि त्यो प्रयास निरर्थक भएको अध्यक्ष गुरुङले सुनाउँनुभयो । यहाँ करिव ९÷१० घरधुरी पूर्णक्षति भएकाले क्षति भएका घरधुरीलाई नयाँ ठाउँमा सार्ने गरी गृह मन्त्रालयको विपद् जोखिम न्यूनिकरणमा अनुरोध गरेपनि त्यसको सावधान नभएको अध्यक्ष गुरुङको भनाई छ ।

  अध्यक्ष गुरुङले कागबेनी गाउँ स्थान्तरण गर्न प्रत्येक घरधुरीलाई ४÷५ आना जग्गा नयाँ ठाउँमा उपलब्ध गराउन सकियो भने यहाँको बाढी जोखिमको समस्या न्यूनिकरण गर्न सकिने उहाँले बताउँनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले सरकार र स्थानीय जनताको अडानले गाउँपालिका विपद् जोखिम न्यूनिकरण गर्नमा चेपुवामा परेको दुःखेसो सुनाउँनुभयो ।

 गोष्ठिमा पर्यटन तथा संरक्षण क्षेत्रमा आवद्ध नेपालसहित भुटान,पाकिस्तान र फिलिपिन्सका विज्ञ लगायतको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया