भन्सारलाई व्यवस्थित गर्न ८ बुँदे निर्णय

मुस्ताङ, २९ , भदौ ।

यहाँको मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थित तुल्याउन विभिन्न ८ बुँदे निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शनिबार बसेको  जिल्ला राजश्व चुहावट नियन्त्रण  समन्वय समितिको बैठकले नेपाल—चिन उत्तरी कोरलानाका स्थित न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयलाई थप व्यवस्थित गरी आयात÷निर्यात सहज बनाउँने गरी उल्लेखित निर्णय गरिएको हो ।

यहाँको नेपाल—चिन उत्तरी कोरलानाका आईतबारदेखि पूर्ण रुपमा संञ्चालनमा आईसकेको छ । यहाँको नाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले यसलाई थप व्यवस्थित गर्ने र नाकामा चोरी सिकारी,अवान्छित गतिविधि नियन्त्रण,सरसफाई,पार्किङ र अनुगमन लगायतका विभिन्न विषयवस्तुहरुमा आवश्यक सहजीकरण गर्ने र भन्सार मैत्री तुल्याउन यहाँका सरोकारवालाहरुले उल्लेखित निर्णय गरेका हुन् ।

यहाँ संञ्चालनमा आएको कोरला स्थित मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा छ ।  यसलाई व्यवस्थित रुपमा सुदृढ र प्रभावकारी तुल्याई अन्तरदेशीय ब्यापारिक मार्गको रुपमा लैजान भन्सारले गर्ने मालवस्तुको आयात निर्यातको लागि सबै पक्षले जिम्मेवारीपूर्वक योगदान पु¥याउने निर्णय गरिएको हो ।

निर्णयमा  यहाँको न्हेचुङ भन्सारमा पार्किङ गरी राखिएका निर्यात हुने मालवस्तु लोड भएका ढुवानीका साधन, चिनबाट पैठारी भएका ईलेक्ट्रोनिक भ्यान तथा अन्य मालवस्तु लोड भएका ढुवानीका साधनको सुरक्षा प्रवन्ध मिलाउने , यसप्रकारका मालवस्तु ढुवानीका साधनहरुलाई पार्किङ गर्नमा भन्सार कार्यालयको परिसर अपुग हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न भन्सार कार्यालय वरिपरी रहेको सार्वजनिक जग्गा गाउँपालिकासंग समन्वय गरी प्रयोग गर्ने र  विद्युतीय गाडीहरु पार्किङ गर्नको लागि प्लान क्वारेन्टाईन कार्यालय मुस्ताङको न्हेचुङको परिसर उपयोग गर्ने निर्णय गरिएको हो ।

 भन्सार कार्यालयमा जाँचपास भएका मालवस्तु ढुवानी गरिएका साधनहरुलाई सुरक्षा निकायले चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र बमोजिमको राजश्व दाखिला गरेको भौचर र ढुवानी साधन लगायतको एकिन गर्ने र सो अनुसार भएमा त्यस्ता मालवस्तु ढुवानीका साधनलाई गन्तब्यस्थान तर्फ पठाउन सहजीकरण गर्ने  निर्णय भएको छ ।

बैठकमा  ढुवानीका साधन पार्किङ स्थल कोरला सीमा नजिक र न्हेचुङ स्थित भन्सार कार्यालय आसपासमा प्लाष्टिकजन्य लगायतका अन्य फोहोरको व्यवस्थापन लोमान्थाङ गाउँपालिकासंग समन्वय गरी सम्वन्धित ढुवानीकर्ताको लागत साझेदारीमा गराउने, विद्यमान प्रचलित कानुनले निषेध गरेका सुन तथा भेप लगायतका मालवस्तु चिनबाट चोरी पैठारी हुनसक्ने र नेपालबाट अमेरिकी डलर लगायतका विदेशी मुद्रा र अन्य निषेधित मालवस्तुहरुको चोरी निकासी हुनसक्ने सम्भावना रहेकाले नेपाली नम्बर प्लेटका ढुवानी साधन चिनको लिजी भन्सार गोदामसम्म लैजादा र ल्याउँदा ढुवानी साधनको चालक कक्ष एवं चालकको चेकजाँच व्यवस्था गर्ने निर्णय गरिएको छ ।

 यसैगरी   भन्सार कार्यालय मार्फत आयात निर्यात हुने मालवस्तु लोड भएका ढुवानी साधनहरु सहज रुपमा आवतजावतको लागि मुस्ताङ जिल्लाभर आवश्यक स्थानमा सडक मर्मत तथा सम्भार गर्ने र यसका लागि कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनालाई अनुरोध गर्ने । नेपालबाट चिनतर्फ नेपाली उत्पादनका वस्तु निर्वाध रुपमा निर्यात गर्न लिजीपोर्टमा सम्वन्धित पक्षसंग पहल र सहजीकरण गर्ने निर्णय गरिएको हो ।

 जिल्ला स्तरीय राजश्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा प्रजिअ विष्णुप्रसाद भुसाल,भन्सार अधिकृत रमेश खड्का लगायत सुरक्षाकर्मी,एक्याप, कोरला सडक आयोजना,पत्रकार लगायतको उपस्थित रहेको थियो ।


प्रतिक्रिया