यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार मुस्ताङमा नमूना मतदान तथा सुरक्षा अभ्यास गरिएको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समिति मुस्ताङको आयोेजनामा यहाको घरपझोङ—४ जोमसोम स्थित कभर्ड हल खेल मैदानमा नमूना मतदान तथा मतदान स्थल सुरक्षा लगायतको कृतिम अभ्यास गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति अध्यक्ष अजिता शर्मा लगायत नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालय लगायत जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको उपस्थिती नमूना मतदानको अभ्यास गरिएको हो ।
मतदान अघि ,मतदान कार्यक्रम र मतदान कार्यक्रम सम्पन्न भएपछि गरिने निर्वाचन प्रक्रिया लगायतका तीन वटा चरणका मतदान अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
मतदान कार्यक्रमको अघिल्लो दिन मतदान स्थलको सुरक्षाका लागि मतदान स्थल क्षेत्रमा मतदान प्रक्रियालाई असर पु¥याउन सक्ने संकास्पद वस्तु भएनभएको एकिन गर्न नेपाली सेनाको सुरक्षा टोलीले मतदान स्थल क्षेत्रमा आवश्यक उपकरणसहित चेकजाँच गरिएको नमूना अभ्यास देखाईएको थियो ।
मुस्ताङमा यसरी गरिएको थियो नमूना मतदान ः
मतदानको दिन हुने नमूना मतदान प्रक्रिया सुरु भएको र मतदान कार्यक्रमका लागि मतदान अधिकृत र सहायक मतदान अघिकृत लगायतका स्वंयसेवक टोली खटिएका थिए । मतदानका लागि मतपेटिका बाकस ,छेकाबार र मतदान स्थल वरिपरी महिला र पुरुषको मतदान गर्ने लाईनलाई डोरी टाँगेर व्यवस्थित गरिएको थियो ।
जोमसोम स्थित धौलागिरी मतदान केन्द्र नाम दिएर सुरु गरिएको नमूना कृतिम अभ्यासमा बिहान ७ बजेबाट मतदान सुरु भएको र मतदान कार्यक्रम चलिरहेको अवस्थामा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीबिच सामान्य विवाद सृजना हुन्छ । मतदान स्थलको लाईनमा बसेका एक व्यक्तिले म यहाँको स्थानीय हुँ ,मैले भोट हाल्न पाउँनुपर्छ भन्दै अड्डी कसे । त्यसपछि मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्रै मतदान गर्न पाउँने अन्यथा स्थानीय भएकै कारण मतदान गर्न नपाउने भन्दै सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीले सम्झाए पठाए ।
केहीबेरपछि उक्त व्यक्तिले मतदान कार्यक्रमलाई बिथोल्ने नियतले ठुलो समूह लिएर होहल्ला गर्दै मतदान स्थल भित्र प्रवेश गर्न खोज्यो । त्यसै बखतमा नेपाल प्रहरीको सुरक्षाकर्मीले होहल्ला गर्ने समुहलाई रोक्ने प्रयास ग¥यो । तर, उत्तेजित समुहको भीडले नाराबाजी गर्दै प्रहरी माथि धरपकड गर्न थालेपछि उक्त भीड नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली त्यहाँ आईपुग्यो ।
सशस्त्र प्रहरीले उत्तेजित समुहको भीड नियन्त्रण राख्न प्रयास गरेपनि सशस्त्र प्रहरीको नियन्त्रण बाहिर रहेको उक्त समुहले मतदान बिथोल्न अघि बढ्न थाल्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अराजक समुहको भीड नियन्त्रण गर्न नसकेपछि केहीबेरमा नेपाल सेनाको टोली हातहतियार सहित त्यहाँ आईपुग्यो । नेपाल सेनाले सावधानी पूर्वक सुरक्षा सतर्कता अपनाउँदै निर्वाचन बिथोल्ने समुहलाई नियन्त्रणाम लिने प्रयास ग¥यो ।
नेपाली सेना र उत्तेजित समुहको धकेलाधकेल भएपछि नेपाली सेनाले मतदान स्थल नजिक काडे बार लगायो । यति गर्दा समेत उत्तेजित समुह अघि बढ्न थालेपछि नेपाली सेनाले गोली चलायो । गोली चल्दा उत्तेजित अराजक समुहका तर्फबाट दुई जना व्यक्ति घाईते भए । सेनाले गोली चलाएपछि उत्तेजित अराजक समुह मतदान स्थलबाट भागभाग भयो । सेनाको गोली लागेर घाईते भएकालाई सुरक्षाकर्मीको सहयोगमा एम्बुलेन्समा राखेर अस्पताल लगियो ।
मतदान स्थलमा भीड नियन्त्रण भएपछि मतदान स्थलमा खटिने कर्मचारी र सुरक्षकर्मी अनि मतदान कार्यक्रम बिथोल्न खोज्ने समुहका तीन जना प्रतिनिधिबिच वार्ता भयो । निर्वाचनमा खटिने कर्मचारी र वार्ता टोली बिच सहमति भएपनि पूनः रोकिएको मतदान प्रक्रिया अघि बढाईयो ।
मतदान कार्यक्रम सकिएको घोषणा गरिएपछि मतपेटिकाका लाई शील गर्ने, राजनीतिक दलका प्रतिनिधिहरुको रोहबरमा मुचुल्का गरी मतेपेटिका बाँकसलाई मतगणना स्थलतर्फ पठाईयो ।
मुस्ताङमा २१ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि यहाँ स्थित सुरक्षा निकाय र निर्वाचन प्रहरीलाई मतदान कार्यक्रम हुनसक्ने सम्भावित सुरक्षा चुनौति समाधान गर्न कृतिम अभ्यास गरिएको हो ।
नमूना मतदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी अजिता शर्माले लोकतन्त्रलाई सृदृढ तुल्यान निर्वाचन अपरिहार्य भएकाले फागुन २१ गते हुने निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला निर्वाचन,कार्यालय,मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिको महत्वपूर्ण दायित्व रहने भएकाले त्यसतर्फ चनाखो भएर राज्यले सुम्पिएको कार्यभार पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली