चराङ र चैलेमा ३३ केभी विद्युत सवस्टेशन निर्माण हुने


जोमसोम—हिमाली जिल्ला  मुस्ताङको चराङ र चैलेमा ३३ केभी सवस्टेशन निर्माण हुने भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)को पहलमा नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङको चराङ र चैलेमा २ वटा ३३ केभी विद्युत सवस्टेशन पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

मुस्ताङमा विगतदेखि भोग्नु परेको चरम विद्युतीय समस्या समाधान गर्न तथा उत्तरी चीनसंग सीमाना जोडिएको कोरलानाकासम्म भरपर्दो रुपमा ३३ केभी विद्युत सबस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले प्राथमिकतामा राखेसंगै यसको भौतिक तथा प्राविधिक व्यवस्थापनकार्य अघि बढेको हो । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष चराङ र चैलेमा ३३ केभी सवस्टेशन निर्माणका लागि बोलपत्र मार्फत ठेक्का आह्वान गरेको थियो । नेपाल विद्युत प्राधिकरणबाट आह्वान गरिएको सवस्टेशन ठेक्काको अन्तिम टुंगो माघ मशान्त भित्रै हुने जानकारी प्राप्त भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।‘ विद्युत लाईन विस्तारको काम अब अन्तिम चरणमा पुगेको छ, सवस्टेशनको पनि कुन कम्पनीले पायो भन्ने चाँडै निक्र्योल हुन्छ,’ अध्यक्ष बिष्टले भने, ठेक्काको टुंगो लाग्ने बित्तिकै सवस्टेशन निर्माणकार्य प्रारम्भ हुन्छ ।’

 सवस्टेशन ठेक्का प्रक्रिया अन्तिम चरणमा पुग्दा मुस्ताङको चराङ र चैलेमा ३३ केभी विद्युत सवस्टेशन निर्माण हुने स्थानको स्थलगत अवलोकन गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्ट तथा नेपाल विद्युत प्राधिकरणका प्राविधिक लगायतको टोलीले चराङ र चैलेमा निर्माण हुने सवस्टेशन क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । त्यसो त ३३ केभी सवस्टेशनका लागि २ वर्ष अघिनै स्थान छनौट भईसकेको अध्यक्ष बिष्टको भनाई । उनले ३३ केभी प्रशारण लाईन विस्तारसंगै ३३ केभी सवस्टेशन निर्माणपछि मुस्ताङ जिल्लाले लामो समयदेखि  भोग्दै आईरहेको विद्युत समस्या सदाका लागि अन्त्य हुने दावी गरे ।


 मुस्ताङमा ११ केभी प्रशारण लाईन सञ्चालनमा छ । यसै कारण पटक पटक विद्युत आपूर्तीमा चरम समस्या देखिने गरेको छ । प्राधिकरणको कोवाङमा ३३ केभी  प्रशारण लाईन भएपनि त्यस भन्दा माथिल्लो क्षेत्रमा ३३ केभी सवस्टेशन नहुँदा विद्युत आपूर्तीमा निकै सास्ती हुने गथ्र्यो । मुस्ताङको कुनै एक स्थानमा विद्युतको प्राविधिक समस्या आउँदा मुस्ताङ जिल्लानै अन्धकार हुने गथ्र्यो । प्राधिकरणले ३३ केभी लाईन र सवस्टेन निर्माण सम्पन्न गरेमामा यसप्रकारको समस्या झेल्नु नपर्ने अध्यक्ष बिष्टले जनाए । 

३३ केभी सवस्टेशनको दुुरी ५० किमी मापदण्ड छ । कोवाङदेखि चराङसम्मको १०३ किमी दुरीमा २ वटा सवस्टेशन राख्ने तयारी प्राविधिकरणले गरेको हो । यसका लागि नेपाल विद्युत प्राधिकरणले विद्युत पोल आर्थिक वर्ष २०८० को कार्तिकमा विद्युत सवस्टेशन ठेक्का आह्वान गरेका थियो ।

 यस्तै, उपल्लो मुस्ताङमा ३३ केभी विद्युत सवस्टेशन अघि सन् २०२३ को जुलाई ६ तारिखमा विद्युत प्रशारण लाईनको ठेक्का आह्वान गरेको थियो । प्राधिकरणले विद्युत पोल विस्तार लगायतका काम गर्न २७ करोड ६५ लाख लागतमा प्याराडाईज विल्डर्ससंग २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । 

मुस्ताङमा ३३ केभी विद्युत प्रशारण लगायतको काम सकिएर  तार तान्ने काम सुरु भईसकेको  कम्पनीका ईलेक्ट्रिक ईन्जिनीयर सन्तोष प्याकुरेलले जानकारी दिए । उनका अनुसार कुल २ हजार २६५ पोल विस्तार गर्नुपर्नेमा १ हजार ८०० पोल विस्तार भईसकेको ईलेक्ट्रिकल ईन्जिनीयर प्याकुरेलको भनाई छ ।




प्रतिक्रिया